बाँके । नेपालको सबैभन्दा धेरै गर्मी हुने स्थान भनेर चिनिने नेपालगन्ज लगायत पश्चिम तराईका विभिन्न स्थानमा चर्को घाम र तातो हावा ‘लु’ चलेको छ । ‘लु’को प्रभावले जनजीवन प्रभावित बनाएको छ । यहाँको अधिकतम तापक्रम बिहीबार ४३ डिग्री सेल्सियस अभिलेख भएको छ ।
गर्मी महिना सुरु भएयता पानी नपरेपछि अत्यन्त चर्को घाम र तातो हावा ‘लु’ चल्न थालेको हो । स्थानीय प्रभावले तातिरहेको जमिनमा फेरि तातो हावा थपिएपछि ‘लु’ चल्छ । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय राँझाका अनुसार नेपालगन्जको न्यूनतम र अधिकतम दुवै तापक्रम ३७–४३ डिग्री सेल्सियस आसपास रहेको छ ।
यस बर्षको सबैभन्दा बढी तापक्रम बिहीबार ४३ डिग्री सेल्सियस अभिलेख भएको छ । आइतबार ३७ डिग्री सेल्सियस रहेको तापक्रम बिहीबारसम्म आइपुग्दा ४३ डिग्री सेल्सियस पुगेको फिल्ड कार्यालयका मौसम विज्ञान सहायक योजना बस्ताकोटीले जानकारी दिइन् । ‘तातो हावा र तापक्रमको वृद्धिले बढी गर्मी धेरै महसुस भैरहेको छ,’ मौसम विज्ञान सहायक बस्ताकोटीले भनिन् ।
नागरिकले चर्को घाम र तातो हावाको नियति भोग्नुपरेको छ । चर्को घाम र तातो हावासँगै गर्मी बढेपछि सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पातलिएको छ भने बजारमा चिसो पेय तथा खाद्य पदार्थको बिक्री बढेको छ । तापक्रम बढ्नुको साथै चल्ने तातो हावा, हुरी, धुलो सँगैसँगै ग्रामीण बस्तीमा आगलागीको जोखिम बढेको छ ।
तातो हावाहुरीकै कारण आँप, हरियो तरकारी खेती प्रभावित भएको छ । कामदारको दैनिकी कष्टकर बन्न थालेको छ । तातो हावाकै कारण दिउँसो बाहिर हिँडडुल गर्न गाह्रो भएको छ । तापक्रम उच्च भएपछि बालबालिका बिरामी हुन थालेका छन् । वैशाख महीनाभर नेपालगन्ज लगायत पश्चिम तराईमा पानी परेको छैन ।
गर्मीका कारण घाउखटिरा, आउमासी, टाइफाइड ज्वरो, झाडापखालालगायत सरुवा रोगका बिरामीको चाप पनि स्थानीय अस्पताल तथा स्वास्थ्य संस्थामा बढ्न थालेको चिकित्सकहरुले जनाएका छन् । यहाँका अस्पताल तथा स्वास्थ्य केन्द्रमा गर्मी मौसममा लाग्ने विभिन्न रोगका बिरामीको चाप बढ्दै गएको छ ।
गर्मी बढेसँगै विभिन्न स्वास्थ्य समस्या देखिने भएकाले चिकित्सकहरुले सजगता अपनाउन सुझाव दिएका छन् । गर्मी तथा वर्षायाममा बढी मात्रामा देखिने समस्या खाना विषाक्तता हो । काँचो र नपाकेको मासु, बासी खाना, खाना बढी खाने, गह्रौं, पचाउन नसकिने खाद्य पदार्थले फुड प्वाइजनिङ हुन्छ । यस्ता बिरामीलाई वान्ता हुने, पखाला लाग्ने, ज्वरो आउने हुन्छ ।
अत्यधिक गर्मीमा वायु मण्डलले तातो हावा फ्याँक्छ । जसले लु लाग्न सक्छ । लु लाग्दा शरीरबाट पसिना धेरै निस्केर पानीको कम हुन गई उत्पन्न हुने समस्या र अंगहरुले तापक्रमलाई व्यवस्थित राख्न नसकी कमजोरी हुने, सिर्जित नकारात्मक असर हुन्छ । लुबाट बच्न पर्याप्त पानी पिउन भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.रुपानन्द अधिकारीको सुझाव छ ।
‘बिहान ११ बजेदेखि दिउँसो ३ बजेको समयमा घाममा ननिस्कने, निस्कनै परेमा छाताको प्रयोग गर्नुपर्दछ । पानीको बोतल साथैमा राखी पटकपटक पानी पिउनुपर्दछ । खानामा शाकाहारी खानेकुरा, झोल पदार्थ फलफूल प्रशस्त मात्रामा खानुपर्दछ । कडा घाममा नशालु पदार्थ सेवन गर्नुहुँदैन,’ जिल्ला स्वास्थ्य कार्यालय बाँकेका स्वास्थ्य अधिकृत रामबहादुर चन्दले भने ।
सत्यपाटी - ।