सूचनाको शक्ति - The Power Of Information

        

नौ महिनामा ५ अर्ब बढीको चामल आयात, २७ हजार अवैध कुखुराका चल्ला बरामद

बाँके । चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म नेपालगन्ज नाका हुदै रु.५ अर्व ८ करोड ७० लाख मूल्यको चामल भित्रिएको छ । गत साउन महिनादेखि हालसम्म ९७ हजार ७३२ मेट्रिक टन चामल नेपालगन्ज नाका हुँदै भित्रिएको हो ।

नेपालगन्ज भन्सार कार्यालयका अधिकृत परमानन्द जोशीका अनुसार भारतबाट आयात गरिएको चामलबाट कार्यालयले चालू आर्थिक वर्षको चैत्र मसान्तसम्म रु.३९ करोड २६ लाख ५१ हजार २३२ राजश्व संकलन गरेको छ ।

कृषि प्रधान मुलुक भए पनि दैनिक लाखौं मूल्यको चामल यसरी नेपाल भित्रिरहेको छ । नेपालगन्ज नाका हुँदै भित्रिएको चामल स्थानीय बजार र पहाडी जिल्लामा खपत हुने गरेको छ । देशमै बाँके, बर्दिया र दाङमा चामल उत्पादन हुने प्रमुख जिल्लाका रुपमा चिनिन्छन् ।

तर माग अनुसार उत्पादन बढाउन नसक्दा पछिल्ला समय करोडौं मूल्यको चामल भारतबाट आयात गर्नुपर्ने बाध्यता छ । यस्तै भन्सार कार्यालयका अनुसार चामलसँगै आलुको आयात पनि अत्यधिक बढेको पाइएको छ ।

यो अवधिमा भारतबाट १ अर्ब ९ करोड ४७ लाख बराबरको ५३ हजार २५१ मेट्रिकटन आलु नेपाल भित्रिएको जनाएको छ । नेपालमा छिमेकी मुलुक भारतसँगै चीन, थाइल्याण्ड र बंगलादेशबाट पनि चामल आयत हुने गर्दछ ।

कुखुराका चल्ला बरामद

पशु क्वारेन्टाइन चेकपोष्ट, नेपालगन्जले चालू आर्थिक वर्षको नौ महिनामा २७ हजार ४३० वटा अवैध कुखुराका चल्ला र चार हजार २४४ वटा ब्रोइलर कुखुरा बरामद गरेर नष्ट गरिएको छ । अवैधरुपमा भारतबाट नेपाल भित्रिँदै गरेका ब्रोइलर कुखुरा र चल्ला बरामद गरी नष्ट गरिएको हो ।

चेकपोष्टका सूचना अधिकारी अम्मरबहादुर शाहीका अनुसार चालू आर्थिक वर्षको नौ महिनामा १०६ किलो कुखुराको मासु, ९४ किलो अवैध माछा र ८२६ वटा अण्डा बरामद गरी नष्ट गरिएको छ । ती मध्ये सबैभन्दा धेरै साउन महिनामा एक हजार ३४४ वटा ब्रोइलर कुखुरा बरामद गरिएको तथ्यांक छ ।

यो महिनामा मात्रै एक हजार ३०० वटा चल्ला बरामद गरिएको थियो । अवैधरुपमा कुखुरा, चल्ला, मासु, अण्डा ओसारपसार गर्नेहरुलाई पक्राउ गरी कारवाही गरिएको छ । नौ महिनामा रु.९ लाख ६४ हजार राजस्व संकलन भएको कार्यालयले जनाएको छ । पंक्षी वा पंक्षीजन्य भारतबाट नेपाल आयात गर्न प्रतिबन्ध छ ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार १०:१२