सूचनाको शक्ति - The Power Of Information

        

कानून व्यवसायीद्वारा करोडौंको जग्गा आफ्नो नाममा, न्याय खोज्दै पीडित महिला

बाँके । पछिल्लो समय भूमाफियाहरु निकै सक्रिय भएका छन् । कानूनी राजको नै उपहास हुने गरी भूमाफियाहरु सक्रिय भइरहँदा बाँके पनि अछुत रहन सकेन । भूमाफिया र मालपोत कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा नामसारीका खबरहरु सार्वजनिक भइरहेका बेला बाँकेमा एकजना कानून व्यवसायीले झुक्याएर एक महिलाको जग्गा आफ्नो नाममा गराएको तथ्य खुलेको छ ।

डुडुवा गाउँपालिका–२ बेतहनीकी उषा कुर्मीको १ विघा १५ कठ्ठा ४ धुर जग्गा उच्च अदालत बार एशोसिएशसन बाँकेका अध्यक्षसमेत रहेका कानून व्यवसायी विकास आचार्यले आफ्नो नाममा गराएको पीडितले बताइन् । बेतहनीकै नान भन्ने दुर्गाप्रसाद बर्मा, रामबहादुर बर्मा र आशाराम बर्माको मिलेमतोमा कानून व्यवसायी आचार्यले उषाको करोडौं मूल्यको जग्गा आफ्नो नाममा गराएको पीडित कुर्मीको भनाई छ ।

उषाकी आमा लामो समयदेखि पायल्सको विरामी छन् । छिमेकी दुर्गा, राम र आशारामले जग्गा बिक्री गरेर उपचार गराइदिने बताएपछि उषाले उनीहरुकै पहलमा आचार्यलाई २ कठ्ठा साढे ४ धुर जग्गा साढे २ लाखमा बिक्री गरेकी थिइन् । उषा लेखपढ गर्न नजान्ने भएपछि जग्गा पास गर्ने क्रममा २५ लाखमा १ विघा १५ कठ्ठा ४ धुर जग्गा बिक्री गरेको सहिछाप गराएर करोडौं मूल्यको जग्गा झ्वाम्प पारिएको हो ।

सो जग्गा उषाका बुवा जगदीशले यसअघि नै छोरीको नाममा जग्गा नामसारी गरिदिएको बताइन् । उषाको नाममा रहेको कित्ता नम्बर १८, २४, २०, ३१, ३२, ९८, १०८, १३२, १४४, १४९ र ५०८ गत २०७४ मंसिर १८ गते विकास आचार्यको नाममा पास भएको छ । दुर्गा, राम र आशारामले जग्गा बिक्री गराईदिएपछि उषाकी आमालाई उपचार गराइदिन्छौ भन्दै उषा र उनका बुवालाई भारतमा लगेर करिब ६ महिना उनीहरुले बन्धक बनाएको पीडितले बताइन् ।

‘डाक्टर आउँछ भन्दै हामीलाई एउटा घरमा बन्धक बनाइयो, तर डाक्टर पनि आएनन् । म माथि दुर्गा र रामले पटक–पटक बलात्कारसमेत गरे,’ जसोतसो त्यहाँबाट भागेर बैशाख १० गते बेतहनी आएकी उषाले भनिन्, ‘भागेर ज्यान जोगायौं । घर आउँदा आफ्नो घरजग्गाको आम्दानी सोधखोज गर्दा, यो जग्गा तिम्रो होइन, बिक्री भइसक्यो भनेर छिमेकीले भनेपछि आफु छाँगाबाट खसेजस्तै भए ।’ अहिले उषा आफ्ना बृद्ध बुवाआमासँगै न्याय खोज्दै अड्डा अदालत र प्रहरी प्रशासन धाइरहेकी छन् ।

तर, कानून व्यवसायी आचार्यले प्रक्रिया पुर्याएर आफुले खरिद गरेको बताएका छन् । सो जग्गा पहिले पनि अदालतमा रोक्का भएको र पछि आफुले पैसा बुझाए फुकुवा गरि खरिद गरेको उनले बताए । ‘पीडितलाई पीरमर्का परेको भए, बसेर मिलाउन सकिन्थ्यो,’ उनले भने, ‘तर अहिलेसम्म पीडित मसँग आउनु भएको छैन । यो मेरो पेशागत व्यवसायलाई धमिल्याउने खेल भएको छ ।’ केही दिनअघि आचार्यकै ल फर्मबाट अख्तियारले ३ लाख घुससहित उच्च अदालत नेपालगन्जका टाईपिष्ट नायव सुब्बा कृष्णकुमार पाठकलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार ०७:१०