बाँके । विश्व बन्धुत्व, शान्ति र मानव एकताको निम्ती भन्दै भोली नेपालगन्जमा निरंकारी मण्डलका सन्तहरुको भेला हुने भएको छ । जहाँ निरंकारी मिशनका परमपुज्य सदगुरु सुदीक्षा महाराजबाट प्रवचन दिइने भएको छ । भोली साँझ ४ बजेदेखि ‘निरंकारी सन्त समागम’ हुने आयोजक सन्त निरंकारी मण्डल नेपालगन्जले जानकारी दिएको छ । ।
‘धर्म परिवर्तन होइन, भावना परिवर्तन गरौं’ भन्ने मूलमन्त्रका साथ रामलिला मैदानमा आयोजना हुन गईरहेको निरंकारी सन्त समागम कार्यक्रममा सन्त र सर्वसाधारण गरी १० हजार जनाको सहभागिता रहने आयोजकको अपेक्षा छ । मण्डलका सेवा दल इन्चार्ज रामचन्द्र भट्टराईले धर्म परिवर्तनको विगविगी भइरहेको अवस्थामा स्वधर्म पहिचान गर्दै ‘धर्म परिर्वतन होइन, भावना परिवर्तन गरौं’ भन्ने मूलमन्त्र निरंकारी मण्डल मिशनको रहेको बताए ।
उनले लोप हुँदै गएको मानवीय गुण तरोताजा गराउँदै समाजमा सहिष्णुता, प्रेम, सद्भाव र भाइचारा अभिबृद्धि गर्दै सम्पूर्ण मानवजगतको कल्याण गर्ने विषयमा सत्गुरु सुदीक्षाले प्रवचन दिने पनि जानकारी दिए । निरंकारी सत्संग समागममा प्रदेश ५ र कर्णाली प्रदेशका गरी २२ जिल्लाका सन्तहरु सहभागी हुने बताइएको छ ।
त्यस्तै भारतको कानपुर, लखनउ क्षेत्रबाट पनि सन्तहरु नेपालगन्ज आउने पत्रकार सम्मेलनमा जानकारी दिइयो । हिन्दू, बौद्ध, मुस्लिम, शिख, ईशाई, जैन सबै एकाकार भएर मानवधर्ममा लाग्ने तथा कर्मकाण्डी बोझहरु हटाउँदै ज्ञानको प्रशार गर्ने सोंचका साथ सन् १९२९ मा पाकिस्तानको लाहौरबाट सुरु भएको निरंकारी मण्डल मिसन अहिले विश्वका ३७ देशमा फैलिएको छ । नेपालमा मात्र ५७ जिल्लामा निरंकार मण्डलका शाखा रहेका छन् ।
।