सूचनाको शक्ति - The Power Of Information

        

४८ घण्टापछि खुल्यो जमुनाहा नाका

बाँके । भारतको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै बन्द भएको नेपाल–भारत सीमा नाका आजबाट खुलेको छ । बैशाख २१ गते शनिबार बेलुकी ६ बजेदेखि बन्द रहेको नेपाल–भारत सीमा नाका आज बेलुकी ७ बजेदेखि पुनः सुचारु भएको हो ।

यसअघि ६ बजे सीमा खोल्ने भनिए पनि भारतीय पक्षबाट एक घण्टा ढिलो सीमा खोल्ने जानकारी प्राप्त भएकोले ७ बजे नेपाल–भारत सीमा खोलिएको बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिए ।

४८ घण्टाका लागि सीमा बन्द हुँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको थियो । काम, ब्यापार तथा उपचार लगायतका लागि भारत गएका नेपालीहरुले सास्ती भोग्नुपरेको थियो । भारतको लोकसभा निर्वाचन सुरक्षालाई ध्यानमा राखेर बाँकेको जमुनाहा नाका शनिबारदेखि आज बेलुकी ६ बजेसम्मका लागि बन्द गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार केही दिनअघि दुई देशका अधिकारीबीच भएको सहमति अनुसार सीमा नाका बन्द गरिएको थियो । सीमा खुला गरिएसगै नेपाल–भारत सीमामा सर्वसाधारणको भीड लागेको छ । सीमा नाका बन्द हुँदा अत्यावश्यक र बिरामी बोकेका एम्बुलेन्स दुवै देशका सुरक्षाकर्मीको समन्वयमा आवतजावत गर्ने बाहेक अन्य आवतजावत ठप्प गरिएको थियो ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार १९:२९