सूचनाको शक्ति - The Power Of Information

        

नेपालमा लागूऔषध कारोबार : भारतीय नागरिक धेरै, चार वर्षमा १४ हजार पक्राउ

काठमाडौं । नेपालमा लागूऔषधको कारोबार दिनदिनै बढ्दो छ । लागूऔषध प्रयोगकर्ता बढेर मात्र नभई बाह्य मुलुकमा समेत ओसारपसार हुँदै आएका कारण वर्षमा ३ हजारभन्दा बढी पक्राउ पर्ने गरेका छन् । सन् २०१९ को अप्रिलसम्म मात्रै २ हजार १० जना पक्राउ परिसकेका छन् । पछिल्लो ४ महिनाको तथ्याङ्कको अनुपात हेर्ने हो भने यो वर्ष ५ हजारको सङ्ख्यामा पक्राउ पर्ने देखिन्छ ।

नेपालमा लागूऔषध प्रयोगकर्ताको सङ्ख्या बढ्दै जाँदा ओसारपसारमा संलग्नहरू पक्राउ पर्ने क्रम पनि उल्लेख्य रूपमा बढ्दै गएको नेपाल प्रहरीको तथ्याङ्कले देखाएको छ । सन् २०१६ देखि सन् २०१९ अप्रिल (चार वर्ष)सम्मको नेपाल प्रहरीको तथ्याङ्कअनुसार यस अवधिमा १४ हजार ५४५ जना लागूऔषध ओसारपसारमा संलग्न अपराधी पक्राउ परेका छन् । सन् २०१६ मा ३ हजार ६९६ जना, सन् २०१७ मा ३ हजार ९४१ जना, सन् २०१८ मा ४ हजार ८९८ जना र सन् २०१९ को अप्रिलसम्म २ हजार १० जना लागूऔषधको ओसारपसार र प्रयोगका क्रममा पक्राउ परेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

सन् २०१६ मा पक्राउ परेकामध्ये ३ हजार ५२८ पुरुष र १ सय ६८ जना महिला रहेका छन् । सन् २०१६ मै भारतीय नागरिक मात्र ११३ जना र २६ जना अन्य मुलुकका रहेका छन् । यस्तै सन् २०१७ मा पक्राउ परेका मध्ये ३ हजार ७८८ पुरुष र १५३ महिला, सन् २०१८ मा ४ हजार ६९७ पुरुष र २०१ जना महिला र सन् १०१९ अप्रिलसम्म १ हजार ८९२ पुरुष र ११८ जना महिला पक्राउ परेका छन् ।

भारतीयको सङ्ख्या धेरै

लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी)को तथ्याङ्कअनुसार ४ वर्षको यो अवधिमा उल्लेख्य मात्रामा भारतीय नागरिक लागूऔषध ओसारपसारको क्रममा पक्राउ परेका छन् । सो अवधिमा ४६१ जना पुरुष र २४ जना महिला रहेका छन् ।

सन् २०१६ मा १०५ जना पुरुष र ८ जना महिला, सन् २०१७ मा १३७ जना पुरुष र ७ जना महिला, सन् २०१८ मा १५१ जना पुरुष र ५ जना महिला र सन् २०१९ को अप्रिलसम्म ६८ जना पुरुष र ४ जना महिला गरी ४८५ जना भारतीय नागरिक पक्राउ परेका छन् । भारत बाहेकका तेस्रो मुलुकका ४७ पुरुष र ११ महिला गरी ५८ जना विदेशी नागरिक यो ४ वर्षको अवधिमा नेपालमा पक्राउ परेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

चार वर्षमा २० किलो कोकिन बरामद

सन् २०१६ यता प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) ले २० किलो ३ सय ८३ ग्राम लागूऔषध कोकिन बरामद गरेको छ । एनसीबीले हालसम्म कोकिन तस्करीमा संलग्न स्वदेशी तथा विदेशी गरी ५० जनाभन्दा बढीलाई पक्राउ गरेको छ । नेपालमा कोकिनका दुव्र्यसनी अहिलेसम्म फेला नपरेको प्रहरीको भनाइ छ । कोकिन कारोबार गर्ने अन्तर्राष्ट्रिय गिरोहले नेपाललाई ‘ट्रान्जिट’ बनाउने गरेको एसएसपी पोखरेलले बताए ।

उनले भने, ‘प्रहरीले हालसम्म बरामद गरेको कोकिन विदेशी सूचनाकै आधारमा हो ।’ यस्तै ४ वर्षको अवधिमा १८ हजार ९४ किलो ६५० ग्राम गाँजा बरामद भएको छ । सन् २०१६ मा ४ हजार ४१३ किलो १६ ग्राम २८७ मिलिग्राम, सन् २०१७ मा ३ हजार ७३४ किलो २९ ग्राम ३२२ मिलिग्राम, सन् २०१८ मा ४ हजार १८१ किलो १५२ ग्राम र सन् २०१९ को अप्रिलसम्म ५ हजार ७६६ किलो ४५३ ग्राम १०० मिलिग्राम गाँजा प्रहरीले बरामद गरेको छ ।

प्रहरीको तथ्याङ्कमा ६ हजार ९६८ केजी चरेस र १८ केजी हिरोइन पनि बरामद गरिएको उल्लेख छ । सन् २०१६ मा १ हजार ९९३ किलो, सन् २०१७ मा १ हजार ३७२ किलो, सन् २०१८ मा १ हजार ५४६ किलो र सन् २०१९ को अप्रिलसम्म २ हजार ५७ किलो चरेस बरामद भएको छ । यस्तै सन् २०१६ मा ३ केजी, सन् २०१७ मा ४ केजी र सन् २०१८ मा ८ केजी र सन् २०१९ को अप्रिलसम्म ३ केजी हिरोइन बरामद भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

नेपालमा गाँजा, चरेस, नुरफिन, फेनारगन, डाइजापाम प्रयोग बढी

नेपालको सन्दर्भमा गाँजा, चरेस जस्ता पदार्थ तथा नुरफिन, फेनारगन, डाइजापाम, बुफ्रिनोफाइनजस्ता औषधिजन्य लागूऔषधको प्रयोग बढी हुने गरेको ब्युरोका एसएसपी विश्वराज पोखरेल बताउँछन् । नेपाल सरकारले वि.सं. २०६९ मा गरेको एक अध्ययनअनुसार ९१ हजार ५३४ दुव्र्यसनी रहेका छन्, जसमा पुरुष ८५ हजार २०४ र महिला ६ हजार ३३० छन् ।

प्रतिवर्ष ११ दशमलव ३६ प्रतिशतका दरले दुव्र्यसनीको सङ्ख्या बढ्दै गएको तथ्याङ्कबाट देखिन्छ । प्रहरीका अनुसार गाँजा र चरेसको स्थानीय बजार मूल्य करिब एक किलोग्रामको रु २५ हजार, अफिम एक किलोको रु दुई लाख, हिरोइन र कोकिन एक किलोको रु दुई करोड पर्ने बताइन्छ ।

कोकिन तस्करीमा २ जना नेपाली पक्राउ

कोकिन तस्करीमा हालसम्म २ जना मात्र नेपाली पक्राउ परेका छन् । कोकिन ओसारपसारमा खासगरी बोलिभियाली, फिलिपिनी, मलेसियाली, दक्षिण अफ्रिकी, थाई, चिनियाँ, पाकिस्तानी, भारतीय, नाइजेरियाली र भेनेजुएलाका नागरिक सक्रिय हुन्छन् । प्रहरीबाट जोगिन तस्करहरुले ह्वाट्स एप र भाइबरमा कुराकानी गर्ने एसएसपी पोखरेलले बताए ।

तस्करले धेरै उपयोग गर्ने अन्तर्राष्ट्रिय रुटमा बोलिभिया, इथियोपिया, भारतको नयाँ दिल्ली हुँदै नेपाली विमानस्थल पर्छन् । एसएसपी पोखरेलका अनुसार पक्राउ परेका भरियाहरूले कोकिनको कारोबार दक्षिण अमेरिकी देश पेरु र ब्राजिलबाट सुरु गर्ने र अस्ट्रेलिया, नेदरल्यान्ड्स र अमेरिका लगायत देशमा सप्लाई हुन्छ ।

लागूऔषध तस्करसम्बन्धी नेपालको एक चर्चित घटना

रतनलाल सङ्घाई, मोहित हालन, दिलिप पण्डित, बद्रीप्रसाद बन, कोश्याम तामाङ मोक्तान, पवनकुमार सङ्घाई, कमलकुमार अग्रवाल, शङ्करलाल हालन, रोहित हालन, नवीनकुमार सरवागी, अमित गुप्ता अग्रवाल व्यापारिक पहिचान बनाएका व्यक्ति हुन् । यी सबै अहिले अपराधी समूहको रूपमा परिणत भएको छ । भारतबाट अनधिकृत रूपमा नेपाल भित्र्यााएर स्युडोइफिड्रिन भन्ने रसायन विदेश सप्लाई गरेको पाइएपछि प्रहरीको लागू औषध नियन्त्रण ब्युरोले २०७३ साउन १२ गते पवनको कम्पनीका केही कर्मचारीलाई नियन्त्रणमा लियो ।

नियन्त्रित मनोद्वीपक औषधि–पदार्थ ठूलो परिमाणमा खरिद, बिक्री, ओसारपसार समेतको कारोबार गर्छन् भन्ने विशेष सुराँकीको आधारमा उक्त कम्पनीमा छापा मारेको थियो । सोही क्रममा सुरुमा भारत रक्सौल घर भएका दिलिप पण्डितलाई प्रहरीले नियन्त्रणमा लिई सोधपुछ गर्दा पवनको संलग्नता रहेको कुरा खुलेको थियो । पण्डितले ललितपुरस्थित सङ्घाई प्लास्टिक इन्डस्ट्रिजको गोदाममा नियन्त्रित मनोद्वीपक औषधि राखेको जानकारी दिए ।

पछि उक्त गोदामबाट ३९ वटा कार्टुनभित्र रहेको ९५२ वटा डिब्बाभित्रबाट जम्मा ४७१ किलो ८८ ग्राम एकै साइजका साना–साना सेता ट्याब्लेटका रूपमा स्युडोइफिड्रिन प्रहरीले बरामद गरेको थियो । सो लगत्तै पवनलगायत केही व्यक्ति फरार भए । ब्युरोले उनीहरुलाई फरार सूचीमा राख्यो । फरार रहेकाहरुलाई खोजी गर्न विशेष टोली नै परिचालन गर्यो । त्यसको ५ दिनपछि पवनलाई प्रहरीले कोटेश्वरबाट पक्राउ गर्यो ।

पक्राउ परेका उनीहरुमाथि लागूऔषध रसायन अवैध कारोबार मुद्दामा प्रहरीले अनुसन्धान थालेको थियो । तर त्यतिबेलै अदालतले पवनदेखि कमल अग्रवाल सबैलाई धरौटीमा छाड्न आदेश दियो । पक्राउ परेका पवन २०७४ वैशाख २५ गते ६ लाख धरौटीमा छुटे । त्यस्तै रतनलाल सङ्घाई २२ लाख धरौटीमा रिहा भए । यता बद्रीप्रसाद बन, दिलिप पण्डित र श्याम मोक्तान पुर्पक्षका लागि थुनामा छन् । व्यापारी कमल अग्रवाल २०७३ चैत ११ गते ४ लाख धरौटीमा छुटे ।

त्यस्तै रोहित हालन पनि ०७३ चैत २५ गते ६ लाख धरौटीमा छुटे । नवीनकुमार सरावगी २०७५ असोज १५ गते २ लाख धरौटीमा छुटे । २०७५ असोज १ गते अमित गुप्ता अग्रवाल साधारण तारेखमा छुटे भने ०७३ चैत २ गते मोहित हालन २० लाख धरौटीमा छुटे । लागूऔषधबाट सहजै धेरै नाफा हुने र पक्राउ परे पनि जेल सजाय मात्र हुने भएका कारण जेल परेर छुटेकाहरु पनि पुनः पेसामा लाग्ने गरेको ब्युरोका एसएसपी पोखरेल बताउँछन् ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार १७:३२