सूचनाको शक्ति - The Power Of Information

        

दाइजो नपाएपछि रुक्सराको हत्या

बाँके । गत बिहीबार झुण्डिएको अवस्थामा फेला परेकी रुक्सरा कुरैसीको हत्या भएको दावी गरिएको छ । नौ महिनाअघि साहेबे आलम कुरैसीसँग विवाह गरेकी रुक्सराले आत्महत्या भएको दावी गरिरहेको छ भने माइती पक्षले हत्या भएको बताइरहेको छ ।

नेपालगन्जमा पत्रकारहरुसँग कुरा गर्दै रुक्सराका बुवा इस्लाम अहमद कुरैसीले दाइजो नपाएको भन्दै हत्या गरिएको दावी गरेका छन् । भारत नारापारा घर भई कैलालीमा डेरा गरी बस्दै आएका साहेबे आलम कुरैसीसँग विवाह गरेकीरुक्सरा गत बिहीबार रुक्सरा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

बुवा इस्लामले छोरीलाई मारेर झुण्ड्याइएको दाबी गर्दै भने, ‘मैले हत्या हुनुअघि छोरीसँग फोनमा कुरा गरेको थिए । घरपरिवारको अगाडि नै रहेकी रुक्सरा मसँग पनि राम्ररी बोलेकी थिइनन् ।’ माइती पक्षका अनुसार, घरपरिवारले दैनिक ‘टर्चर’ दिइरहेपछि रुक्सराले दुई दिनदेखि खाना खाएकी थिइनन् ।

घरपरिवारले रु.तीन लाख र एउटा पल्सर मोटरसाइकल दाइजो ल्याउन दबाब दिइरहेका थिए । बुवा इस्लामले ज्वाँईले भने बमोजिम दिन पनि तयार रहेको र जग्गा बेचेरै भए पनि तीन लाख र मोटरसाइकल दाइजो दिने मनसायमा पुगेका थिए ।

हत्या भएको एक घण्टाअघि छोरीसँग कुराकानी गर्दै बुवा इस्लामले भनेका थिए, ‘म भोली नै कैलाली आएर छलफल गर्छु । जग्गा बेचेरै भए पनि तीन लाख र मोटरसाइकल दाइजो दिउँला । अहिले परिवारसँग केही विवाद नगर्नु ।’ तर, केही घण्टापछि फेरि फोन गर्दा छोरीले पासो लगाएर आत्महत्या गरेको जानकारी दिइयो ।

‘होचो टीनले छाएको कोठामा बस्छन् । त्यहाँ झुण्डिएर आत्महत्या गर्न सम्भव नै छैन । त्यसमा पनि सबै घरपरिवार घरमै रहेको बेलामा मेरो छोरीले कसरी झुण्डिएर आत्महत्या गरिन्,’ बुवा इस्लामले भने, ‘सबैले मिलेर घाँटी थिचेर मारेपछि झुण्ड्याइएको हो ।’ दाइजो दिन्छु भन्दा पनि छोरीको हत्या गरिएको उनको दावी छ ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार १२:४०