सूचनाको शक्ति - The Power Of Information

        

एउटै ट्याङ्करबाट १६० लिटर पेट्रोल गायब !

बाँके । गत वैशाख १७ गते भारतको गोण्डाबाट नेपाल आयल निगम नेपालगन्ज डिपोका लागि लोड भएको ना ५ ख १७१५ नम्बरको ट्याङकरबाट १६० लिटर पेट्रोल गायब भएको छ । गोण्डाबाट लोडभएको २० हजार लिटर पेट्रोल बोकेको उक्त ट्याङ्कर नेपालगन्ज डिपोले पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा रहेका पेट्रोल पम्पसहित प्यूठानमा वितरणका लागि वैशाख १९ गते विलिङ गरेर पठाएको थियो ।

दाङको लमही–१ मा रहेको मिरमिरे पेट्रोल पम्पमा वैशाख १९ गते राति साढे १ बजे आइपुगेको ट्याङ्करको नाप लिँदा एउटा चेम्बरमा तीन प्वाइन्ट कम पेट्रोल देखिएको थियो । एउटा चेम्बरमा ३२ लिटर पेट्रोल कम भएपछि व्यवसायिले नेपाल आयल निगम नेपालगन्ज डिपोमा खबर पुर्याएका थिए । नेपाल पेट्रोलियम एशोसियशन मध्यपश्चिमाञ्चलका अध्यक्ष विश्वराज खनालले भारतबाट शिलबन्दी भएर आएको पेट्रोलियम पदार्थ नेपालगन्ज डिपो कार्यालयबाट हराउने गरेका बताए ।

‘एउटा चेम्बरबाट ३२/३२ लिटर तेल गायब भएको छ । यो चालाले त व्यवसायी सडकमा आउने भए’, उनले भने, ‘यसरी विलिङ भएको भन्दा कम तेल विक्री गर्ने आयल निगमको ठूलो बदमासी हो । समय–समयमा हुने यस्ता बदमासीको छानविन हुनुपर्छ ।’ नेपाल आयल निगमको नेपालगन्ज डिपो कार्यालयबाट दैनिक ३० देखि ४० ओटा ट्याङ्करबाट ९९ ओटा पेट्रोलपम्मका लागि तेल ढुवानी हुँदै आएको छ । अधिकांश ट्याङकरमा लोड भएको पेट्रोलियम पदार्थमा यस्तै समस्या देखिने गरेको छ ।

‘पुरा पैसा लिने तर, तेल कम दिने आयल निगमको यस्तो बदमासीले हामी त नराम्रोसँग समस्यामा पर्यौ । उपभोक्तालाई पुरा तेल दिनुपर्छ, तर हामीले पुरा पैसा बुझाएर थोरै तेल झर्दा कति पिडा होला ?’ पेट्रोल पम्प सञ्चालक तथा नेपाल पेट्रोलियम डिलर्स एशोसियशन मध्यपश्चिमाञ्चलका उपाध्यक्ष किरण केसीले भने, ‘यस्तो बदमासीमा संलग्न जो कोही व्यक्ति भएपनि छानबिन गरेर कारबाहीको दायरामा ल्याउनुपर्छ ।’

ट्याङ्करमा तेल कम भएपछि नेपाल आयल निगम नेपालगन्ज डिपो कार्यालय, नेपाल पेट्रोलियम एशोसियशन मध्यपश्चिमाञ्चलका पदाधिकारी, ढुवानी संगठनका पदाधिकारीहरुले पेट्रोल गायब भएको ट्यांकरमा रहेको पेट्रोलको नाप लिएको थियो । सो क्रममा एउटा चेम्बरबाट ३२ लिटर पेट्रोल गायब भएको पुष्टी भएको छ ।

यता नेपाल आयल निगम नेपालगन्ज इन्धन डिपो कार्यालयका उप–प्रबन्धक सुरेन्द्र बिष्टले तापक्रम घटबढ हुदाँ तेल घटेको दाबी गरे । ‘तरल पदर्थ घटबढ भैरहन्छ । भारतको गोण्डाबाट लोड हुदा त्यहाँ ३७ डिग्री तापक्रम थियो । यहाँ आउदा साढे ३३ डिग्री भयो’ उनले भने,‘तेलको मात्रा मोटो हुँदा नापमा घटबढ हुन पुगेको हो ।’

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार ०८:२१