बाँके । बलिउडमा नेपाली चेली सिजन पुनले अभिनेत्री बन्ने अवसर पाएकी छन् । भेरी नगरपालिका–३, पीपलडाँडा जाजरकोटकी २१ वर्षीय सिजन पुनले बलिउडकी मुख्य अभिनेत्री बन्ने अवसर पाएकी हुन् ।
अभिनेत्री सिजनको ‘हर जनम मे मिलेंगे’ बलिउड चलचित्रको हाल धमाधम छायांकन भइरहेको छ । चलचित्र पी भन्साली प्रोडक्सन हाउसले निर्माण गरेको हो । मुख्य अभिनेत्रीको भूमिकामा अनुबन्धित सिजनको पहिलो चलचित्र ‘हर जनम मे मिलेंगे’को छायांकन आधाभन्दा बढी सकिएको छ । छायांकनको ६० प्रतिशत काम पूरा भइसकेको पुनले बताइन् ।
डेढ वर्ष पहिलेदेखि भारतको मुम्बईमा रहेर भारतीय टेलिभिजनका दुई सिरियलमा चरित्र अभिनेत्रीको भूमिका निर्वाह गरिसकेकी सिजनले पहिलो पटक ठूलो पर्दामा मुख्य नायिकाको भूमिका पाएकी हुन् । यसअघि सिजनले भारतीय टीभी च्यानल स्टार प्लसमा प्रसारण हुने ‘आरम्भ’ सिरियल र ‘क्राइम स्टोरी लक अप’मा चरित्र अभिनेत्रीको रूपमा अभिनय गरिसकेको बताइन् ।
शशी शेखरको निर्देशन, प्रवीण भन्सालीको निर्माण र चन्दरको लेखन रहेको चलचित्रमा धनी घरकी युवतीको भूमिका निर्वाह गरेको सिजनले बताइन् । गाउँमा हुने अपराध र अन्यायको सिकार हुने गरिबको उद्धार गर्ने खालको भूमिका चलचित्रमा प्रस्तुत गरेको उनको भनाइ छ । सहरको विकृति र गाउँका ठूलाबडा भन्नेले गरिबमाथि गर्ने अन्यायलाई चलचित्रको विषयवस्तुमा देखाउन खोजेको उनी बताउँछिन् ।
।