सूचनाको शक्ति - The Power Of Information

        

अदालतमा अख्तियार, तीन लाख घुससहित समातिए नायब सुब्बा

बाँके । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा कार्यरत टाइपिष्ट नायब सुब्बा कुमार पाठकलाई रु.तीन लाख घुस रकमसहित अख्तियारले समातेको छ । पाठकले अदालतमा विचारधीन मुद्दामा सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग घुस मागेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेश गैरेले शनिबार साँझ घुस लिँदै गरेको सूचना पाएपछि अख्तियारको टोली परिचालन भएको जानकारी दिए । नायब सुब्बा पाठकले तीन लाख रुपैयाँ घुस माग गरेको अख्तियारले जनाएको छ ।

‘घुस लेनदेन गरिरहेको अवस्थामा नेपालगन्जस्थित चारबाहिनी चोक नजिकै रहेको श्री लयर्स चेम्बरबाट पाठकलाई नियन्त्रणमा लिइएको हो,’ अख्तियार प्रमुख गैरेले जानकारी दिए । अख्तियारले पछिल्ला दिन बाँकेका सरकारी कार्यालयमा निगरानी बढाएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतवार ०९:०२