सूचनाको शक्ति - The Power Of Information

        

कथा : बूढाको बैंश !

कल्पना खरेल

छोटो मिनीस्कर्टमा ट्याक–ट्याक पेन्सिल हिलको आवाज पड्काउँदै निक्कै स्मार्ट सुन्दरी रेस्टुरेन्टको प्रांगणमा देखिइन् । हेर्दा लाग्छ, धनाढ्य घरानकी छोरी हुन् । उनको नजर यताउता घुम्दै थियो । शायद उनी ब्वायफ्रेन्डको खोजीमा छिन् ।

पर्सबाट आइफोन निकाल्छिन् । डायल गर्छिन् । आफ्नै अगाडि बसेको एक बुढो मान्छेको फोनमा घन्टी बज्छ । हजुरबुवाको उमेरको बुढाले हर्षित मुडमा फोन उठाउँछ– हेल्लो सीमा, तिमी कहाँ ?

म रेस्टुरेन्टमा ।

म पनि तिमीलाई घन्टौँदेखि रेस्टुरेन्टमै पर्खिरहेको छु ।

केही समयदेखि निक्कै पट्यार मानेर कसैको प्रतिक्षामा देखिने बुढाले आफ्नै अगाडि फोनमा कुरा गरिरहेकी तरुनीलाई पहिल्याइहाल्यो । मख्ख मुद्रामा बुढाले ठिटीलाई आँखाको सङ्केत गरेर बोलायो र आफ्नै छेउमै बसाल्यो । लाग्छ– त्यो बुढो र तरुनीको पहिलो देखाभेट ।

दुवै एकै टेबुलको सेरोफेरोमा नजिक हुन्छन् । बुढो र तरुनीको गफ चल्छ ।

सीमा, तिमीलाई फेसबुकमा म्यासेज गरेको थिएँ नि पाँच बजे रेस्टुरेन्टमा भेट्ने भनेर । किन ढिला गरेकी ?

हो र ? मैले पछिल्लो म्यासेज ख्यालै गरिनँ ।

म त तिमीलाई पर्खिंदा पर्खिंदा हैरान भए ।

यतिकैमा मेनु लिएर वेटर आयो । वेटरले मेनु दुवैको समक्ष राख्यो । तरुनी मेनु पल्टाउन लागिन् । केटीले वाइन र चिकेन रोस्टको अर्डर गरिन् । बुढाले हुस्कीको अर्डर गरे । केही क्षणमा अडर अनुसारको खाने, पेय पदार्थ टेबुलमा आयो । केटीले सभ्य शैलीमा वेटरलाई थाङ्क्स टक्र्याइन् । वेटरले वेलकम फर्कायो ।

बुढोले पेय पदार्थ सिसाको गिलासमा खनायो । दुवैले चियर्स गरेर अल्कोहलको चुस्की लिन लागे ।

रिमझिम साँझ मग्न थियो । साँझको शीतल वातावरणले स्पर्स गरिरहेको महसुस हुन्थ्यो । सफा सुन्दर रेस्टुरेन्टमा मन्द डिम लाइटको प्रकाश छरिएको थियो । रेस्टुरेन्ट राजधानी सहरको कोलाजदेखि केही बाहिर थियो । रेस्टुरेन्टबाट डाँडाकाँडा पाखापखेरा हरियाली देखिन्थ्यो ।

त्यस प्रकृति सुन्दरताको बीच सजिएका रेस्टुरेन्टले आनन्दको अनुभूति दिलाइरहेको थियो । सहरको भिडभाड र तनावबाट आनन्द रिल्याक्स गर्न आउनेको संख्या प्रशस्तै देखिन्थ्यो । यताउताको सबै टेबुलमा कपल अर्थात् जोडी मात्र देखिन्थे । सबैजना आ–आफ्नै सुरमा खानपिन र मिठासपूर्ण गफमा व्यस्त थिए । रेस्टुरेन्ट नै प्रेममय महसुस हुन्थ्यो ।

फेरि त्यो नमिल्दो जोडीतिर मेरो नजर पुग्यो । बुढो तरुनीसँगै हुस्कीको चुस्कीमा मस्त थियो । बुढो प्रशस्तै पैसावाला । बुढामा ‘पैसा फ्याँको, तमासा देखो’ भन्ने सिद्धान्त लागु थियो । बुढाको अर्डर अनुसारको सर्भिसमा वेटर पनि व्यस्त थिए । घरपरिवार, श्रीमती छोराछोरी, नातिनातिनी सम्पूर्ण बिर्सिएर बुढो तरुनीको यौवनसँग लिप्तिँदै थियो ।

बुढोलाई पैसा खर्चेर तरुनीको यौनसँगको मोह थियो । सुन्दरी तरुनीलाई पनि बुढाको पैसासँगको मोह थियो । त्यहाँ दुबैको उद्देश्य केवल पाउनु थियो । जतिजति नसामा झुम्दै थिए, उतिउति बुढो तरुनीको यौवनमा लालायित थियो । बुढो तरुनीको मासुम चेहेरामा घोरिएर मस्किरहेको थियो ।

अरुको नजर छेकेर बुढोको हात तरुनीकै संवेदनशील अंगतिर सल्बलाइरहेको थियो । दुनियाँ नै पाए जस्तो बुढो तरुनीमै हराइरहेको थियो । हाउभाउ देख्दा लाग्छ, बुढालाई फेरि बीस वर्षको जवानी आएजस्तो छ ।

खानपिन, रोमान्स हुँदै थियो । बुढालाई पिसाबले चाप्यो ।

बाथरुमको खोजीमा बुढाको नजर यताउता चाहार्न लाग्यो । बुढाले सोध्यो वेटरसँग बाबु बाथरुम कहाँ छ ? वेटरले उतातिर जानु बाजे भन्यो । बुढाले आफ्नो कालो ब्याग युवतीकै छेउमा राख्यो । बुढो रेस्टुरेन्टको दक्षिणतिरबाट बाथरुममा गयो ।

त्यही मौका छोपेर परम्परा आफ्नो संस्कृति र नैतिकता बिर्सिएर आधुनिकता र फेसनको दौडान दौडिरहेकी सुन्दरीले बुढालाई कुम्ल्याएर टाप कसी । बुढो बाथरुमबाट आयो । टेबुलमा आउँदा त, न तरुनी, न त ब्यागमा राखेको पैसा । बुढो हिस्स पर्यो । पुर्पुरामा हात राख्यो । आफैँलाई धिक्कार्यो ।

बुढासँग रेस्टुरेन्टमा खाएको पिएको तिर्ने पैसा पनि रहेन । बुढालाई तरुनीले नंग्याई । रेस्टुरेन्ट काउन्टरमा गएर बुढाले बिलौना गर्यो । आधुनिकता र कलियुगले मानिसहरुलाई पैसा र यौनको भोकमा भौँतारिदिएको छ । साहुले बुढाको हातमा लगाएको घडी र सुनको औंठी फुकाएर आफ्नो लिनुपर्ने रकम असुल गर्यो ।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार ०७:३४