सूचनाको शक्ति - The Power Of Information

        

समयमै कालोपत्रे होला त हुलाकी सडक ?

फाइल तस्वीर

बाँके । हुलाकी सडकको बाँके खण्डमा समयमै पिच हुनेमा आशंका बढेको छ । नेपालगन्जदेखि कटकुइयाँसम्मको ४४ किलोमिटरमध्ये हालसम्म १७ किलोमिटर मात्रै पिच भएको छ । ठेक्का असार मसान्तसम्मको छ । दुई महिनामा आधाभन्दा बढी बाटो पिच हुनेमा आशंका बढेको हो । ठेकेदार कम्पनी गणपति ग्रुप कन्स्ट्रक्सनका प्रमुख तुलसीराम भण्डारीले भने समयमै पिच गरिसक्ने दावी गरेका छन् ।

ठेकेदार भण्डारीले भने, ‘एक हप्ताभित्र थप ५ किलोमिटर पिच गर्छौ । बाँकी काम पनि समयमै सक्ने गरी लागेका छौँ ।’ २०७३ फागुनदेखि सडकको काम थालिएको थियो । २०७६ असार मसान्तमा काम सक्नुपर्ने सहमति रहेको छ । हुलाकी सडकको ठेक्का पप्पु लुम्बिनी जेबी कन्स्ट्रक्सनले पाएको भएपनि उसले पछि ६० करोडमा गणपति ग्रुपलाई दिएको थियो । सडक निर्माणका क्रममा विभिन्न अवरोधहरु आएका थिए ।

नक्साङ्कन, मुअब्जाका विवादले बेलाबेलामा काम रोकिएको थियो । विवाद भएको ठाउँका स्थानीयलाई सहमतिमा ल्याउदै काम अगाडि बढाइएको हो । अब हुलाकी सडकमा कतै विवाद नरहेको र मटेहियामा देखिएको पछिल्लो विवाद पनि मिलिसकेको जनाइएको छ । मटेहियामा देखिएको ठूलो विवादलाई मंसीर २७ गते सांसद, प्रमुख जिल्ला अधिकारी, गाउँपालिका प्रमुख, हुलाकी राजमार्ग निर्माण योजना कार्यालय, जग्गाधनीलाई राखेर सहजीकरण गरेको थियो ।

तराईको मेरुदण्ड मानिएको हुलाकी सडक फराकिलो हुँदा बाँकेको कर्णाली भनेर चिनिएको बघौडा (नरैनापुर)का बासिन्दामा खुशीयाली छाएको छ । बाटोले गर्दा नै नेपालगन्जसम्म आउन नसक्ने बघौडाका बासिन्दा अब सहजै सदरमुकाम आएर घर फर्किन सक्ने भएका छन् । हुलाकी सडकले बघौडालाई नेपालगन्जसँग जोडेको छ । आगलागी पीडित, बाढी पीडितलाई राहत बाँड्न पनि भारतीय बाटो प्रयोग गरेर बघौडा जाने दिन अन्त्य हुने स्थानीयको अपेक्षा छ ।

बाटोसँगै विद्युत, शिक्षा र स्वास्थ्यमा जोड दिन सके बघौडाले विकासको गति लिने स्थानीयको आशा छ । बघौडामा २०५६ को चुनावताका गाडिएको पोलमा अझै तार जडान हुन सकेको छैन । असारसम्ममा सडक कालोपत्रे हुन नसके पनि ग्राभेल मात्र भएपनि आवात–जावतमा सहजता हुनेछ । बाटो बनेमा नेपाली पैसा नचल्ने, बिरामी हुँदा भारततिर जानुपर्ने, किनमेल गर्न भारत जानुपर्ने र नेपाली अधिकारीहरु समेत नेपालगञ्जबाट आउँदा जाँदा भारतीय बाटो प्रयोग गर्नुपर्ने वाध्यता अन्त्य हुनेछ ।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार ०७:०५