बाँके । भारतमा हुने लोकसभा निर्वाचनका लागि आज बेलुकी ६ बजेदेखि नेपाल–भारत सीमा नाका ४८ घण्टा बन्द हुने भएको छ । भारतमा हुने निर्वाचन सुरक्षालाई ध्यानमा राखेर जमुनाहा नाका आज बेलुकी ६ बजेदेखि २३ गते बेलुकी ६ बजेसम्मका लागि बन्द हुनेछ ।
जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार केही दिनअघि दुई देशका अधिकारीबीच भएको सहमतिअनुसार सीमा नाका बन्द गर्न लागिएको हो । बाँकेका प्रमूख जिल्ला अधिकारी मदन भुजेलले भारतको उत्तरप्रदेश राज्यको बहराइचमा हुने लोकसभा निर्वाचनका लागि नाका बन्द हुन लागेको जानकारी दिए ।
सीमा नाका बन्द हुँदा अत्यावश्यक र बिरामी बोकेका एम्बुलेन्स दुवै देशका सुरक्षाकर्मीको समन्वयमा आवतजावत गर्ने बाहेक अन्य आवतजावत ठप्प हुने प्रजिअ भुजेलले बताए । निर्वाचनका बेला घुसपैठ नहोस् भनेर दुवै देशमा निर्वाचन हुँदा सीमा नाका बन्द गरिँदै आएको छ ।
नेपालबाट ठूलो संख्याका नेपालीहरु भारतीय बजारमा किनमेल गर्न जाने गर्दछन् । तीन दिन नाका बन्द हुँदा थाहा नपाएर आउने नेपालीले नाका दुःख पाउन सक्ने भएकाले जिल्ला प्रशासन कार्यालय बाँकेले एक दिनअघि नै सूचना जारी गरेको छ ।
४८ घण्टा सीमा नाका बन्द हुँदा नेपाल दाल, चामल, तेल हरियो तरकारीजस्ता दैनिक उपभोग्य वस्तुदेखि विलासिताका सामानमासमेत भारतमा नै निर्भर हुँदा आयात निर्यात प्रभावित हुनेछ । लोकसभा निर्वाचन नजिकिँदै जाँदा भारतीय सुरक्षाकर्मीले सीमा नाका क्षेत्रको सुरक्षा व्यवस्थामा कडाई गरेको छ ।
सत्यपाटी - ।