सूचनाको शक्ति - The Power Of Information

        

गर्मीले आहत बनेको नेपालगन्जलाई वर्षापछि राहत

बाँके । लगातार पछिल्लो हप्तादेखि बढेको गर्मीका कारण आजित भएका नेपालगन्जबासीलाई राहत भएको छ । गर्मीका कारण नेपालगन्जबासीको दिनचर्या अस्तब्यस्त बनेको थियो । तर, नेपालगन्जमा शुक्रबार विहान ४ बजे मौसममा आएको बदलीले केही राहत दिएको छ ।

शुक्रबार विहान मौसम बदलीभई मेघगर्जनसहित हलुका वर्षा हुदाँ नेपालगन्जमा शितलता छाएको छ । करिब डेढघण्टा सम्म मेघगर्जनसहित चिसो हावाहुरी र वर्षा हुदाँ गर्मीबाट आजित भएका नेपालगन्जबासीलाई राहत मिलेको छ । देशकै सवैभन्दा बढि गर्मी हुने नेपालगन्जमा शुक्रबार हावाहुरीसगै भएको वर्षाले राहत दिएको थियो ।

विहान करिब ७ः३० बजे बादल फाटेर घाम देखिएपछि गर्मी हुने आशंका गरिरहेका नेपालगन्जबासीलाई पुनः मौसमले सरप्राइज दियो । शुक्रबार विहान आकाशमा बादल भएता पनि करिब सवा ८ बजेसम्म प्रष्ट घाम लागेको थियो । विहान करिब ९ बजेदेखि आकासमा पुनः कालोबादल लागेपछि यतिवेला नेपालगन्जको मौसम शितलमय बनेको छ ।

आकाशमा बादल छ, पानी पर्ने छाँट देखिएकोछ । मौसममा आएको बदलिले गर्मीबाट काकाकूल भएकालाई राहत त होला तर, वर्षाको सिजन नभएको अवस्थामा भएको वर्षाका कारण विरामी हुनसक्ने हुदाँ सो विषयमा सचेत हुन चिकित्सकको सुझाव छ ।

हावाहुरीका कारण भौतिक क्षति

हावाहुरीका कारण नेपालगन्ज लगायतका केही स्थानमा क्षतिसमेत गरेको छ । प्राप्त जानकारी अनुसार मानविय क्षती नभएपनि केही ठाउँमा निर्माणाधिन भौतिक संरचनामा क्षति पुगेको छ । मेघगर्जनसहित आएको हावाहुरीका कारण नेपालगन्ज वसपार्कमा निर्माणाधिन यात्रु प्रतिक्षालय भाँचिएको छ ।

हावाहुरीका कारण नेपालगन्जमा बन्दै गरेको अत्याधुनिक बसपार्कको पश्चिमपट्टिको यात्रु प्रतिक्षालयका पोलहरू भाँचिएर ढलेको अवस्था छ । यसले थप ब्ययभारसगैं पुर्ननिर्माणको समय बढाएको छ । यस्तै बाँकेका ग्रामीण भेगमा हावाहुरीका कारण रुख र केहीको फुसको घर समेत उजाडिएको खबर प्राप्त भएको छ ।

चट्याङ्ग र हावाहुरीसँगै वर्षा : मौसम पूर्वानुमान

जल तथा मौसम पूर्वानुमान महाशाखाले अहिले देशका विभिन्न भागमा चट्याङ्ग र हावाहुरीसँगै वर्षा भइरहेको जनाएको छ । सो प्रणाली क्रमशः पूर्वतिर सर्ने जनाएको छ । महाशाखाले आज, भोलि र पर्सीको मौसम विवरणमा हावाहुरी तथा मेघ गर्जनसहित देशभरका विभिन्न भूभागमा वर्षा हुने पूर्वानुमान गरेको छ ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार १३:१२