सूचनाको शक्ति - The Power Of Information

        

भोलीदेखि ४८ घण्टा बन्द हुँदै जमुनाहा नाका

बाँके । भारतमा हुने लोकसभा निर्वाचनका लागि भोली बेलुकी ६ बजेदेखि नेपाल–भारत सीमा नाका ४८ घण्टा बन्द हुने भएको छ । भारतमा हुने निर्वाचन सुरक्षालाई ध्यानमा राखेर जमुनाहा नाका भोली बेलुकी ६ बजेदेखि २३ गते बेलुकी ६ बजेसम्मका लागि बन्द हुनेछ ।

जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार केही दिनअघि दुई देशका अधिकारीबीच भएको सहमतिअनुसार सीमा नाका बन्द गर्न लागिएको हो । बाँकेका प्रमूख जिल्ला अधिकारी मदन भुजेलले भारतको उत्तरप्रदेश राज्यको बहराइचमा हुने लोकसभा निर्वाचनका लागि नाका बन्द हुन लागेको जानकारी दिए ।

सीमा नाका बन्द हुँदा अत्यावश्यक र बिरामी बोकेका एम्बुलेन्स दुवै देशका सुरक्षाकर्मीको समन्वयमा आवतजावत गर्ने बाहेक अन्य आवतजावत ठप्प हुने प्रजिअ भुजेलले बताए । निर्वाचनका बेला घुसपैठ नहोस् भनेर दुवै देशमा निर्वाचन हुँदा सीमा नाका बन्द गरिँदै आएको छ ।

४८ घण्टा सीमा नाका बन्द हुँदा नेपाल दाल, चामल, तेल हरियो तरकारीजस्ता दैनिक उपभोग्य वस्तुदेखि विलासिताका सामानमासमेत भारतमा नै निर्भर हुँदा आयात निर्यात प्रभावित हुनेछ । लोकसभा निर्वाचन नजिकिँदै जाँदा भारतीय सुरक्षाकर्मीले सीमा नाका क्षेत्रको सुरक्षा व्यवस्थामा कडाई गरेको छ ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार १२:४७