बाँके । प्रहरी समाजमा शान्ति सुरक्षा कायम गर्ने र सामाजिक विकृतिविरुद्ध सक्रिय रहने सरकारी जनशक्ति हो । प्रहरीको काम कानून विपरित कार्य गर्ने र गराउनेलाई कारवाहीको दायरामा ल्याउनु पनि हो ।
सामाजिक शान्ति सुरक्षा र सभ्य समाज निर्माणमा खट्नुपर्ने प्रहरी नै गलत बाटोमा लागेपछि त्यसको परिणाम कस्तो आउला ? गलत काम गर्नेहरुका लागि यो काम मनमनै जायज लाग्न सक्ला । तर, सभ्य र सामाजिक हितका लागि सोच्ने मान्छेका लागि भन्ने यो कुरा पाच्य हुँदैन ।
यसको पछिल्लो उदाहारण बाँकेको कोहलपुर क्षेत्रमा अहिले डिएसपीकै रमेशबहादुर सिंहकै संरक्षणमा मिनी क्यासिनोझै जुवा अखडा चलेका छन् । आफूलाई सुशासनयुक्त र पारदर्शीको बिल्ला लगाउँने डिएसपी सिंह अहिले जुवा खालको संरक्षणक बन्दै मासिक लाखौं रकम असुलीमा सक्रिय छन् ।
डिएसपी सिंहकै निर्देशनमा जुवाखालमा प्रहरीकै संरक्षण बढ्दो छ । डिएसपी सिंहले घुमुवामार्फत तोकिएको रकम मासिक रूपमा असुल्दै आएको जानकारहरू बताउँछन् । सम्झाना, मदनचोक, चप्परगौडी, कोहलपुर बजार भित्रका विभिन्न भागमा रहेका जुवाखाल डिएसपी सिंहका आम्दानीका स्रोत भएको असुली सक्रिय एक घुमुवा बताउँछन् ।
जुवा अखडाका रूपमा सबैभन्दा संरक्षित बन्दै आएका यी क्षेत्रमा प्रहरी नै यस्ता गैरकानुनी गतिविधिको संरक्षण गर्दै आएको आरोप जिल्ला प्रहरी कार्यालयदेखि प्रहरी मुख्यालयसम्म पुगेको छ । तर, तलदेखि माथीसम्मै सेटिङ भएकोले ती जुवाघर निर्धक्क चलिरहेको नागरिक बताउँछन् ।
कोहलपुरमा कार्यरत घुमुवा प्रहरीलाई जुवाखालको संरक्षण गर्दै मोटो रकम असुली गर्न डिएसपी सिंहले आन्तरिक निर्देशन दिएको खुलेको छ । कोहलपुरका एक जना घुमुवाकै शब्दमा ‘यहाँका डिएसपीको पछिल्लो मिसन भनेकै कमाउधन्दा हो । डिएसपीको आदेश छ हामी त आदेश पालक हो । सूचना हैन पैसा संकलनमै फुर्सद छैन ।’
प्रहरी स्रोतकाअनुसार कोहलपुरका डिएसपी सिंहले पछिल्ला केही महिनायता जुवाखालबाटै मासिक पाँच लाखबढी असुली गरिसकेका छन् । गोरू तस्करीमा सेमत घुस नलिएको देखावटी नाटक गरेर उनले मोटो रकम लिएको खुलेको छ । डिएसपी सिंहकै निर्देशनमा यसअघि दुईजना घुुमुवाले जुवाखालबाट पैसा उठाउँदै आएका थिए ।
अहिले जुवाखाल संचालन र रकम असुलीकै लागि डिएसपीले केही घुमुवासमेत थपेको कोहलपुर प्रहरी स्रोत नै बताउँछ । नियमित पैसा बुझाउनेलाई डिएसपीको निर्देशनमा घुुमुवाले नै संरक्षण दिने गरेको जानकारहरू बताउँछन् । कतिपय ठाउँहरुमा उनीहरुले नै जुवा खेलाउने गरेका छन् ।
यसरी डिएसपीकै निर्देशन र घुमुवाको संरक्षणमा खेलाइएका जुवाघरबाट हुने असुली डिएसपी हुँदै डिआईजीसम्म पुग्ने गरेको खुलेको छ । कोहलपुर क्षेत्रका स्थानीयले प्रहरीको यस्तो ज्यादतीको प्रहरीमै उजुरी गरेका छन् । तर सुनुवाई हुन सकेको छैन् । प्रहरीकै माथिल्लो तहमा उजुरी छन् । बर्दिको धाक लगाउँदै डिएसपीको आडमा घुमुवाले दादागिरी कायमै राखेका छन् ।
ललितपुरमा हुँदा घुससहित रंगेहात पक्राउ परेका कोहलपुरका डिएसपी सिंहको अहिले पनि पुरानो प्रवृत्ति आन्तरिकरूपमा कायमै छ । पैसा बुझाएरै उनी कोहलपुरमा इन्चार्ज भई आएको पनि खुलेको छ । उनी प्रहरी बर्दिको आडमा अहिले तीब्र कमाउ धन्दामा लागिरहेका छन् । केही दिनअघि मात्रै डिएसपी सिंहले राष्ट्रिय मानव अधिकार आयोगमा घेराउ हाली आयोगका कर्मचारीमाथि नै धावा बोलेका थिए ।
उनीमाथि अनुसन्धान गरि कारवाही गर्न आयोगले प्रहरी प्रधान कार्यालय लगायतका निकायमा सिफािरस सहितको निर्देशन पनि दिइसकेको छ ।आयोगको नजरमा गम्भीर मानवअधिकार हनन् गर्ने प्रहरी अधिकारमध्ये उनी अग्रपंक्तिमा नै पर्ने गरेका छन् । कोहलपुर क्षेत्रमा क्यासिनोजस्तै गरि जुवा खेल प्रहरीकै संरक्षणमा भइरहेको बारे बुझ्न टेलिफोन सम्पर्क गर्न खोज्दा डिएसपी सिंहको मोबाइलमा सम्पर्क हुन सकेन । तर, उनले कोहलपुर क्षेत्रमा शान्ति सुरक्षाको अवस्था बलियो हुनुका साथै आपराधिक घटना हुन नदिएको दाबी गर्दै आइरहेका छन् ।
सत्यपाटी - ।