
बाँके । ‘सवारी दुर्घटना न्यूनीकरणका लागि ठाउँको ठाउँ सुधार’ भन्ने नारासहित सञ्चालन गरिएको ट्राफिक सप्ताह अन्तरगत सर्वसाधारण तथा सवारी चालकहरुलाई ट्राफिक नियम सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु चलिरहेका छन् ।
हालसम्म ट्राफिक प्रहरीले तीव्र गति नियन्त्रण, जेब्राक्रसको प्रयोग, पर्चा पप्पलेट वितरण, विभिन्न स्थानमा ट्राफिक सचेतना कक्षा लगायत सञ्चालन गरिसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका निमित्त प्रमूख प्रहरी नायव निरीक्षक ओम पौडेलले जानकारी दिए ।

उनका अनुसार सप्ताहको पाँचौं दिन स्वास्थ्य शिविर र तनाव व्यवस्थापन कक्षा सञ्चालन गरिँदैछ । प्रहरी नायव निरीक्षक पौडेलका अनुसार नेपालगन्जमा सवारी चालकहरुका लागि तनाव व्यवस्थापन कक्षा सञ्चालन गरिँदैछ भने बाँकेको ढकेरीमा स्वास्थ्य शिविर सञ्चालन गरिँदैछ ।
जिल्लाका विभिन्न स्थानमा चल्ने सवारी साधनको गति नियन्त्रणसँगै चालकलाई ट्राफिक नियम अनुसार गाडी चलाउने तरिका, कहाँ पार्किङ्ग गर्ने, ओभरटेक कसरी गर्ने, यात्रुहरुलाई कुन स्थानमा ओराल्ने र चढाउने लगायतका बारेमा सम्झाई बुझाई गरेको प्रहरी नायव निरीक्षक पौडेलले बताए ।

उनले सहरीकरण र सवारी चापसंगैं बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले सुरु गरिएको ट्राफिक सप्ताहले सर्वसाधारण, यात्रु तथा सवारी चालकलाई ट्राफिक नियमसम्बन्धी सचत बनाएको बताए ।
‘ट्राफिक ब्यवस्थापन र दुर्घटना न्यूनीकरणका लागि सप्ताह सुरु गरेका हौं,’ प्रहरी नायव निरीक्षक पौडेलले भने, ‘दुर्घटना न्यूनीकरण ट्राफिक प्रहरीको एक्लो प्रयासले मात्रै सम्भव छैन, यसमा सबै नागरिकले पनि साथ दिनुपर्छ ।’
प्रहरी नायव निरीक्षक पौडेलले बढ्दो जनसंख्यासँगै सवारी साधनको चाप, तिव्र गति, ट्राफिक चिन्ह र संकेतको पालना नहुनु, विना लाइसेन्स सवारी चलाउनु, पैदलयात्रुले जथाभावी सडक पार गर्नु लगायतका कारण सडक दुर्घटना बढेकोले सप्ताह सञ्चालन गरिएको हो ।
।