थलहबजार (जाजरकोट) : नाफाखोर व्यापारीले प्रतिबन्धित औषधिजन्य उत्पादन चोरबाटोबाट खुलेआम आयात र बिक्री गरिरहेका छन् । सामान्य उपचारकै क्रममा बिना चेकजाँच औषधिको जथाभावी प्रयोग बढेको छ । सरकारले प्रतिबन्ध लगाएका औषधिहरुको पनि खुला कारोबार चलिरहेको छ ।
नाफाखोर व्यापारीहरूले अनुमति बिनै मेडिकल सञ्चालन गरेर प्रतिबन्धीत औषधिसमेत बिक्री गरिरहेका छन् । सरकारले आयात–निर्यातमा प्रतिबन्ध लगाएका औषधिहरु प्रयोगले दुर्गमका नागरिकहरुको ज्यान जोखिममा परेको छ । जाजरकोटका गाउँगाउँमा यस्ता औषधिहरू छ्यापछ्याप्ती छन् ।
जसले आम नागरिकको स्वास्थ्यमा प्रतिकुल प्रभाव पारिरहेका छन् । विभागमा दर्ता नभएका औषधिहरु जाजरकोटका ग्रामीण क्षेत्रमा रहेका सिएमए पढेकाहरुले डाक्टरको सल्लाहबिनै विक्री वितरण गर्दै आएका छन् । जबकी सिएमए पढेकाहरुलाई डाक्टरले लेखेको सिफारिस (प्रेस्क्राइब)का आधारमा औषधि विक्री गर्नेमात्रै अधिकार हुन्छ ।
जाजरकोटका गाउँगाउँमा आफैं डाक्टर बनेर प्रतिबन्धीत औषधिको समेत खुलेआम बिक्री–वितरण भइरहँदा पनि औषधि व्यवस्था विभाग भने उदासिन बनिरहेको छ । मेडिकल सञ्चालन अनुमति नै नभएका कतियप मेडिकलहरुले गुणस्तर जाँच नभएका कमसल औषधिजन्य उत्पादनहरूलाई समेत भिटामिन भन्दै विक्री गर्ने गरेका छन् ।
सिएमएधारी डाक्टर कहलिएका नाफाखोर व्यापारीहरुले गैरकानुनीरुपमा मेडिकल सञ्चालन गरी चर्को मुल्यमा औषधि बेच्नेसमेत गरेका छन् । नागरिकको स्वास्थ्य सुरक्षा निश्चित नभएकाले बिक्री–वितरण तथा सेवनले हानी पुर्याउने हुँदा तिनलाई औषधि ऐन २०३५ अनुसार नियन्त्रण गर्नुपर्ने जानकारहरू बताउँछन् ।
न्यूट्रास्यूटिकलबाहेक कोडिन प्रयोग भएका औषधिहरुको समेत आयात, बिक्री–वितरण र प्रयोगमा प्रतिबन्ध लगाइए पनि त्यस्तो काम नरोकिएको फार्मेसीका विद्यार्थी भीम महतारा बताउँछन् । उनले जाजरकोटका गाउँहरुमा प्रतिबन्धीत औषधि विक्री गर्नुका साथै अवैध मेडिकलहरुको बिगबिगी भएको पनि बताए ।
मानिसलाई रोग लाग्नुअघि नै व्यापारी र चिकित्सकको मिलेमतोमा प्रतिबन्धीत औषधि भिडाउने गरिन्छ । महताराका अनुसार स्वास्थ्य कार्यालयकै कर्मचारीको मिलेमतोमा गैरकानुनी मेडिकल सञ्चालनसँगै प्रतिबन्धीत औषधिहरुको विक्री वितरण बढिरहेको छ । उनले भने, ‘औषधि व्यवस्था विभाग र स्वास्थ्यका कर्मचारीको मिलेमतोमा नागरिकको स्वास्थ्य जोखिममा छ ।’
जाजरकोटमा गैरकानुनी मेडिकलहरुको संख्या करिब सात सयको हाराहामीमा रहेको अनुमान छ । तर यसको एकीन विवरण भने छैन । जाजरकोट पश्चिममा पर्ने छेडागाड नगरपालिका र शिवालय गाउँपालिकामा गरिएको एक अध्ययनले झण्डै तीन दर्जन बढी गैरकानुनी मेडिकलहरु सञ्चालनमा रहेका छन् । जहाँ प्रतिबन्धीत औषधिहरुको विक्री पनि उस्तै छ ।
छेडागाड नगरपालिका–६, सुवानाउलीमा कानुन विपरित सञ्चालनमा रहेको बिसी मेडिकल हलले खुलेआम औषधि विक्री वितरण गर्दै आइरहेको छ । यहाँका अधिकांश औषधी पसलमा सिएमए मात्रै पढेका व्यक्ति आफै बिज्ञ चिकित्सक बनिरहेका छन् । यहाँका सतप्रतिशत मेडिकल गैरकानूनी र मापदण्डविहीन छन् ।
छेडागाड नगरपालिका–५, थलह बजारमा रहेको सुर्खेती मेडिकल हल, मस्टामहंकाल मेडिकल हल, शिवालय गाउँपालिकामा रहेका शाही मेडिकल हल, बस्नेत मेडिकल हल, राना क्लिनिक मात्रै नभएर जाजरकोट सदरमुकाम खलङ्गा, लगायतका स्थानीय बजारमा रहेका अधिकांश औषधि पसलहरु गैरकानुनी रुपमा सञ्चालन हुँदै प्रतिबन्धीत औषधि विक्री गर्ने गरेको जानकारहरु बताउँछन् ।
यस्ता व्यक्तिले खुद्रा पसलमा चकलेट बेचेझै गरी आफूखुशी औषधि बेचेर नागरिकको स्वास्थ्य माथि खेलवाड गर्दै आएका छन् । औषधि पसलहरुमा अनुमति नलिएरै विरामी जाँच गर्ने गरेको खुलासा भएको छ । अनाधिकृतरुपमा विरामी जाँच गरी जथाभावी औषधि प्रयोग गर्ने गरेको स्मारिका हस्पिटलका फार्मेसी भीम महतारा बताँउछन् ।
औषधि व्यवस्था विभागसँग अनुमति नलिएरै विक्री वितरण गर्न प्रतिवन्ध लगाएका औषधिसमेत खुलेयाम बिक्री वितरण भएका छन् । औषधि पसल सञ्चालकले अधिकार नै नपाएको सुत्केरी सेवा, गभवती सेवा, दाँत निकाल्ने सेवा, गर्भपतन सेवा, ईसिजी सेवासमेत सञ्चालन गर्दै आएका छन् । विरामीलाई जथाभावी औषधि सेवन गर्न लगाएर स्वास्थ्यमाथि खेलबाड गर्दै आएका छन् ।
गाउँका स्वास्थ्य संस्थाभन्दा औषधि पसल सञ्चालकले कडा डोजको औषधि सेवन गर्न लगाएका कारण स्वास्थ्यप्रतिको विश्वासमा कमी ल्याउन औषधि पसल सञ्चालकहरु सफल भएका छन् । स्थानीय स्वास्थ्य संस्थामा औषधी नपाइने हुँदा औषधि पसलमा सबै औषधी पाइने भएका कारण चर्को मुल्य असुल्दै दैनिक ठगी गरिरहेको पाइएको छ ।
चिकित्सकको सिफारिसका आधारमा औषधी पसलवाट विरामीलाई औषधी उपलव्ध गराउनु पर्ने नियम भएपनि आफै चिकित्सक वनेर दैनिक स्थानीयको स्वास्थ्यमा खेलवाड गरेको थलह बजारका गोविन्द नेपाली बताउँछन् । थलह क्षेत्रमा चारवटा औषधि पसल रहेकोमा स्मारिका हस्पिटल प्रालिले मात्रै सरकारी मापदण्ड पुरा गरी सेवा विस्तार गरेको छ ।
जाजरकोट पश्चिम क्षेत्रका अधिकांश औषधि पसल नविरकणसमेत छैनन् । सिएमए मात्रै पढेकाको भरमा सामान्य मात्रै नभई ठूला रोगको औषधिसमेत महँगोमा बिक्री गरिरहेको स्थानीय बताउँछन् । औषधि व्यवस्था विभागको टोलीले अनुगमनका निहुँमा अवैध औषधि मेडिकल सञ्चालकसँग मिलेमतो गरी फर्किएको स्थानीयको छ ।
गैरकानुनीरुपमा सञ्चालित मेडिकलहरुमा औषधि व्यवस्था विभागका कर्मचारीकै मिलेमतोमा निशुल्क र प्रतिबन्धित औषधि बिक्री भएको स्थानीयहरु बताउँछन् । गैरकानुनीरुपमा सञ्चालित यस्ता मेडिकलहरुले हचुवाका भरमा विरामीहरुलाई औषधि सेवन गराउँदा नागरिकको स्वास्थ्य नै जोखिममा पर्ने गरेको छ ।
गैरकानुनीरुपमा सञ्चालन गरिएका मेडिकलले विक्री गर्दै आएका गुणस्तहीन र प्रतिबन्धित औषधिले मानव स्वास्थ्यमा गम्भीर असर पारेकोले तत्काल रोक लगाउनुपर्ने शिवालय गाउँपालिका–१ का पूर्णसमीर महताराले बताए । उनले भने, ‘औषधिको नियामक निकायबाटै प्रतिबन्ध लगाइएका औषधिहरू मानव स्वास्थ्यमाथि खेलबाड गर्दै खुलमखुला बजारमा धमाधम बिक्री भइरहेका छन् ।’
गैरकानुनीरुपमा सञ्चालन गरिएका मेडिकलहरुलाई कानुनी दायरामा ल्याउन र प्रतिबन्धित औषधि बिक्री वितरणमा रोक लगाउन पटक पटक स्नाथीय प्रशासन तथा स्वास्थ्य कार्यालयलाई आग्रह गरे पनि कसैले चासो नदेखाएको महताराले बताए । औषधि व्यवस्था विभागले बिक्री–वितरणमा रोक लगाएका विभिन्न औषधिहरूको प्रयोग समेत बढिरहेको उनले बताए ।
विभागमा दर्ता नभएका औषधि बलमिच्याइँ गर्दै बिक्री विचरण गर्नु, बेच्नु गैरकानूनी हुन्छ । महताराले भने, ‘विभागबाट प्रतिबन्ध लगाइएका एन्टिबायोटिक, इन्टरसिड, स्टेरोइड, कफ सिरपलगायतका कैयन घातक रसायन मिसिएका औषधिहरू धमाधम औषधि पसलमार्फत बिरामीको शरीरमा प्रवेश गरिरहेको छ । यसले मावन स्वास्थ्यमा गम्भीर असर पु¥याइरहेको छ ।’
गल्ती गर्नेमाथि कारबाही गर्ने परिपाटी विकास नभएर नै मानव स्वास्थ्यमाथि गम्भीर असर पु¥याउने रसायन मिसिएका औषधिहरूको बिक्री संगठित रुपमै भइरहेको स्मारिका हस्पिटलकी सञ्चालिका बबिता रावलले बताइन् । उनले भनिन्, ‘यहाँ दर्ताबिनाका मेडिकलका कारण नागरिकको स्वास्थ्य निकै जोखिममा छ । पटक पटक सरकारी अनुगमन हुन्छ, तर समस्या उस्तै छ ।’
अवैध मेडिकलहरुका कारण मानव स्वास्थ्यमाथि खेलबाड गर्दै नाफाखोर व्यापारीले धन्दा चलाइरहेका छन् । ‘सरकारी कर्मचारी अनुगमनमा आउँछन्, उनीहरुलाई आर्थिक प्रलोभनमा पारेर गैरकानुनी मेडिकलहरु उम्किरहेका छन्,’ स्मारिका हस्पिटलकी सञ्चालिका रावलले भनिन् । उनका अनुसार यस्तो धन्दा अहिले मात्रै देखिएको नभएर लामो समयदेखि हुँदै आएको छ ।
छोटो समयमै धेरै आम्दानी हुने भएकाले पछिल्लो समय व्यवसायीहरू यसतर्फ आकर्षित हुँदै गएका छन् । तर सरोकारवाला निकाय मानव स्वास्थ्यमाथि भइरहेको यति गम्भीर लापरबाहीका घटनामा समेत उदासीन र मौन देखिँदै आएका छन् । औषधि व्यवस्था विभागले यस्ता औषधिहरूमाथि प्रतिबन्ध लगाएको छ । तथापि, उसको दायित्व यतिमै सकिंदैन ।
नियमन तथा नियन्त्रणको जिम्मेवारी पनि स्वभाविकरुपमा औषधि व्यवस्था विभागकै हो । तर विभाग आफ्नो दायित्वबाट चुक्दै आएको यो क्षेत्रका जानकारहरूको आरोप छ । सरोकारवाला निकायमा कार्यरत अधिकारीहरूले अवैध धन्दा रोक्न छाडेर आर्थिक चलखेलमै चुक्ने गरेको जारकारहरुको आरोप छ । चिकित्सा पेसा एक मर्यादित, उत्तरदायी र संवेदनशील भएकाले जिम्मेवार मानिन्छ ।
तर संवेदनशील भएर के गर्नु ? पेसागत मूल्य मान्यता र मर्यादा भुलेर नाफाखोर व्यवसायीहरु नागरिकको स्वास्थ्यमा खेलबाड गर्दै अपराध कर्मको सारथी बन्ने गरेका छन् । व्यवसायीले चोरबाटो हुँदै भित्र्याएका प्रतिबन्धीत औषधि प्रयोगलाई निरुत्साहित गर्नुको सट्टा सिएमएधारी डाक्टरहरुले यस्ता प्रयोग गर्न बिरामीलाई निसंकोच सिफारिस (प्रेस्क्राइब) गर्दै आइरहेका छन् ।
जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत गैरकानुनी स्वास्थ्य संस्थाहरुलाई कानुनी दायरामा ल्याउने बताए । उनले भने, ‘अहिलेसम्म कहिँकतैबाट उजुरी वा गुनासो आएको छैन, अब हामी अनुगमन गरी त्यस्ता मेडिकललाई कानुनी दायरामा ल्याउँछौं ।’ यस विषयमा जानकारी लिन खोज्दा जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटको फोन नं. ०८९–४३०१२० र औषधि व्यवस्था विभाग नेपालगन्जको फोन नं. ०८१–५२२०७४ मा सम्पर्क हुन सकेन ।
यो पनि पढ्नुस्
http://satyapati.com/2019/04/23130
सत्यपाटी - ।