सूचनाको शक्ति - The Power Of Information

        

दमकललाई पानी ओसार्नै ठिक्क !

आगलागीका घटना बढ्दै

बाँके । नेपालगन्ज उपमहानगरपालिका–२१ मा रहेको शारदा कपास उद्योगमा सोमबार आगलागी भयो । विद्युत् सर्ट भएर आगलागी हुँदा उद्योग पूर्णरूपमा जल्यो । आगलागीको खबर पाउनासाथ नेपालगन्ज उपमहानगरपालिकाको दमकल साइरन बजाउँदै त्यहाँ पुग्यो ।

उद्योगबाट आगोको मुस्लो निस्किरहेको थियो । दमकल पुगेसँगै पानीको फोहराले आगो निभाउन थालियो । आगोको लप्काले कपास गोदामलाई चारैतिरबाट छोइसकेको थियो । अग्नी नियन्त्रकहरुले आगो नियन्त्रणमा लिने पुरै कोशिष गरिरहेका थिए । तर, एकाएक दमकलमा भएको पानी सकियो ।

दमकल पानी लिनका लागि हुँइकियो । पानी भर्न नजिकमा कतै सम्भावना थिएन । दमकललाई करिब ५ किलोमिटर टाढा पुग्यो, उद्योगमा लागेको आगोले पुनः आगोको पहिलेकै रुप लिइसकेको थियो । ४ हजार लिटर क्षमताको दमकलले तीन पटकसम्म पानी ओसार्दै गर्दा आगोले उद्योगभित्र धेरै क्षति गरिसकेको थियो ।

आगलागी भएको खबर गरिएलगत्तै दमकल घटनास्थल पुग्यो । आगलागी भएको जानकारी आउनासाथ प्रहरी पनि घटनास्थल पुग्यो । आगलागी नियन्त्रण गर्न प्रहरीको केही लागेन । वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक नारायण डाँगीले भने, ‘दमकलमा छिट्टै पानी सकिँदो रहेछ । जसले गर्दा सानो आगलागी नियन्त्रणमा पनि समस्या देखियो ।’

बाँकेमा आगलागी भयो भने तत्कालै निभाउन सकिने स्थिति नभएको यो घटनाले पुष्टि गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाको आफ्नै दमकल छ । तर, पानी भर्नका लागि नजिकै पर्याप्त धारा र खोला छैनन् । नेपालगन्ज नजिकका वन, घर, उद्योग, कारखानामा आगलागी हुँदा पानी नभएर दमकलले आलोचना खेप्नु परिरहेको छ ।

दमकल अत्यावश्यक सवारीसाधन हो । दमकलको व्यवस्थापन चुस्त नहुँदा नागरिकले क्षति बढी बेहोर्नुपरेको छ । एउटा मात्रै दमकलको भरमा उपमहानगरपालिकाले आगलागी नियन्त्रण गर्नुपर्ने अवस्था छ । दमकलमा जनशक्ति मात्रै होइन आवश्यकताअनुसार पानी स्टोरको अभाव छ । यसले बाँकेबासीहरुले समयमै आगलागी नियन्त्रण गर्न सक्ने अवस्था छैन ।

प्रहरीसँग दमकल लगायतका आगो नियन्त्रणका साधन नहुने हुँदा घटनास्थल पुग्ने प्रहरीले बाल्टीनमा पानी बोकेर हाल्ने भन्दा विकल्प छैन् । उनीहरू निरीह बन्दै आगलागी टुलुटुलु हेरिरहेका हुन्छन् । दमकल एउटामात्रै हुँदा भनेकै समयमा घटनास्थलमा पुग्न सक्ने अवस्था पनि नभएको बारूण यन्त्र कार्यालय बताउँछ ।

शारदा कपास उद्योगमा आगलागी आगलागीबाट करिब ५० लाखको कपासमा क्षति पुगेको उद्योगका सञ्चालक निरज गुप्ताले बताए । आगलागी नियन्त्रणका लागि नेपालगन्ज उपमहानगरपालिकाको दमकल पुगेपनि पानी अभावले उक्त दमकल फर्किएको थियो । आगलागीका घटनामा दमकल समयमा नपुग्ने गुनासा धेरै आउने गर्छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलवार ०६:५७