सूचनाको शक्ति - The Power Of Information

        

कपास उद्योगमा आगलागी, दमकलमा पानी अभाव

बाँके । बाँकेमा आगलागी भयो भने तत्कालै निभाउन सकिने स्थिति छैन । नेपालगन्ज उपमहानगरपालिकाको आफ्नै दमकल छ । तर, पानी भर्नका लागि नजिकै प्रयाप्त धारा र खोला छैनन् । नेपालगन्ज नजिकका वन, घर, उद्योग, कारखानामा आगलागी हुँदा पानी नभएर दमकलले आलोचना खेप्नु परिरहेको छ ।

नेपालगन्ज उपमहानगरपालिका–२१ मा रहेको शारदा कपास उद्योगमा आज विहान आगलागी भएको छ । उद्योग पूर्णरूपमा जल्यो । विद्युत् सर्ट भएर आगलागी भएको प्रहरी निरीक्षक नारायण डाँगी बताउँछन् । उनका अनुसार आगलागी भएको जानकारी आउनासाथ प्रहरी घटनास्थल पुगेको हो । तर, आगलागी नियन्त्रण गर्न प्रहरीको केही लागेन ।

उपमहानगरपालिकाको दमकललाई पनि खबर गरिएको थियो । साइरन बजाउँदै दमकल आगलागीस्थल पुग्यो, तर थोरै पानी बोकेर । प्रहरी निरीक्षक डाँगीले भने, ‘दमकलमा छिट्टै पानी सकिँदो रहेछ । जसले गर्दा सानो आगलागी नियन्त्रणमा पनि समस्या देखियो ।’ डाँगीका अनुसार आगलागीबाट करिब ५० लाख क्षति भएको अनुमान गरिएको छ ।

दमकल अत्यावश्यक सवारीसाधन हो । सुक्खायाममा चालक तम्तयार हुँदैनन् । नेपालगन्जमा चालक खोज्दै हिँड्नुपर्ने बाध्यता छ । दमकलको व्यवस्थापन चुस्त नहुँदा नागरिकले क्षति बढी बेहोर्नुपरेको छ । दमकलमा जनशक्ति मात्रै होइन आवश्यकताअनुसार पानी स्टोरको अभाव छ । यसले बाँकेबासीहरूले समयमै आगलागी नियन्त्रण गर्न सक्ने अवस्था छैन् ।

प्रहरीसँग दमकल लगायतका आगो नियन्त्रणका साधन नहुने हुँदा घटनास्थल पुग्ने प्रहरीले बाल्टीनमा पानी बोकेर हाल्ने भन्दा विकल्प छैन् । उनीहरू निरीह बन्दै आगलागी टुलुटुलु हेरिरहेका हुन्छन् । दमकल एउटा मात्रै हुँदा भनेकै समयमा घटनास्थलमा पुग्न सक्ने अवस्था पनि नभएको बारूण यन्त्र कार्यालयले बताउँछ । शारदा कपास उद्योगमा आगलागी आगलागीबाट एक करोड हाराहारीको कपासमा क्षति पुगेको उद्योगका सञ्चाल निरज गुप्ताले बताए ।

आगलागी नियन्त्रणका लागि नेपालगन्ज उपमहानगरपालिकाको दमकल पुगे पनि पानी अभावले उक्त दमकल फर्किएको थियो । उपमहानगरपालिकाको दमकलको पानी राख्ने क्षमता ३ हजार ५ सय लिटर छ । यसअघि पनि यस्ता घटनामा दमकल समयमा नपुग्ने गुनासा धेरै आउने गरेका थिए । दमकलमा अट्ने क्षमताअनुसारको पानी नहुँदा बढी क्षति हुँदै आएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार १२:५३