सूचनाको शक्ति - The Power Of Information

        

‘गाडी होइन गति नियन्त्रण चुनौतीपूर्ण’

सवारीको तीव्र गति नियन्त्रण गर्दै ट्राफिक प्रहरी

फाइल तस्वीर

बाँके । सवारी जति आवश्यक छ, यसबाट जोखिम र मानवीय क्षति पनि उत्तिकै छ । सवारी दुर्घटना र त्यसबाट सिकार हुनेको संख्या बढेको बढ्यै छ । शहरी क्षेत्रका सडक साँघुरा र निकै कमजोर छन्, ग्रामीण सडक जीर्ण छन् । साँघुरा भत्केका सडकमा मनपरी सवारी हाँक्ने गरिएको छ । ट्राफिक नियम पालना हुँदैन । सवारीको गतिमा एकरूपता छैन ।

अधिकांश घटनामा चालकको लापरबाही मुख्य कारण हुने गरेको प्रहरी अनुसन्धानले देखाएका छन् । सडकको अवस्था, चालकको लापरबाही र अस्वस्थ प्रतिस्पर्धाले पनि सवारी दुर्घटना बढेका छन् । तीव्र गति, सवारी चालकको लापरबाही तथा सडकको अवस्थाका कारण सवारी दुर्घटना र त्यसमा ज्यान गुमाउनेको संख्या बर्सेनि बढ्दै छ ।

सहरीकरण र सवारी चापसंगैं बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न ट्राफिक प्रहरीले बाँकेमा सवारी साधनको तीव्र गति नियन्त्रण गर्न थालेको छ । ‘सवारी दुर्घटना न्यूनीकरणका लागि ठाउँको ठाउँ सुधार’भन्ने नारासहित ट्राफिक सप्ताह चलिरहेकै बेला तीव्र गति नियन्त्रण गर्न थालेको हो ।

नेपालगन्जका मुख्य बजार क्षेत्रका सडकमै गाडी तीब्र गतिमा चल्ने गरेका कारण दुर्घटना बढ्न थालेपछि गति नियन्त्रण गर्न थालिएको ट्राफिक प्रहरी पोष्ट नेपालगन्जका प्रहरी नायव निरीक्षक भीमराज वलीले जानकारी दिए । प्रतिघण्टा ४० देखि ५० किमीको गतिमा चलाउनु पर्ने गाडी कम्तिमा पनि ७० देखि १०० किमीको गतिमा चल्ने गरेको पाइएपछि गति नियन्त्रण गर्न लागिएको हो ।

यसरी चलाउनेमा बढी कार, जीप, भ्यान र मोटरसाइकल धेरै रहेको प्रहरी नायव निरीक्षक वलीले बताए । ‘तीब्र गतिमा गाडी कुदाउन थालेपछि पहिलो चरणमा सम्झाई बुझाई गरेर छाड्ने गरेका छौं,’ उनले भने, ‘नेपालगन्ज–कोहलपुर सडकलगायत अन्य सडकमा अत्याधिक गतिमा गाडी कुदाउँदा दुर्घटना बढेको छ । दुर्घटना न्यूनीकरण गर्न सवारी साधनको गति नियन्त्रण जरुरी छ ।’

नेपालगन्जका सडकमा गाडीभन्दा गति नियन्त्रण प्रमुख चुनौती रहेको प्रहरी नायव निरीक्षक वलीको भनाई छ । उनले भने, ‘सवारीको गति नियन्त्रण प्रमुख कुरा हो । गति नियन्त्रण र ट्राफिक व्यवस्थापन गर्न सकेको अवस्थामा सवारी साधन समस्या होइनन् । प्रमुख समस्या गति नियन्त्रण नै हो, गति नियन्त्रण गर्ने नीति पनि चालकहरूले पालना नगर्दा दुर्घटना बढ्ने सम्भावना अत्यधिक छ ।’

सडक दुर्घटना न्यूनीकरण गर्नका लागि सवारी चालकले अनिवार्यरुपमा ट्राफिक नियम र लेन अनुशासन पालना गर्नुपर्नेमा त्यसको अवज्ञा गर्दै सवारीसाधन चलाउने प्रवृत्तिले सवारी दुर्घटना बढ्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमूख प्रहरी निरीक्षक हिरेन्द्र रोकायले बताए । ‘तीव्र गतिकै कारण धेरै दुर्घटना भएका छन्, यसको नियन्त्रणमा हामी लागेका छौं,’ प्रहरी निरीक्षक रोकायले भने ।

सडक दुर्घटना गर्न ट्राफिक प्रहरीको मात्रै दायित्वभित्र मात्रै पर्दैन, सडक प्रयोगकर्ता, सवारी चालक सबै सचेत र सतर्क हुनसकेको खण्डमा मात्रै दुर्घटना न्यूनीकरण हुने उनको भनाई छ । जिल्लाकै धेरै स्थानमा ट्राफिक प्रहरीको पहुँच नपुग्दा सवारी चालकले जथाभावी सवारीसाधन चलाउँदा दुर्घटना हुने गरेको उनले बताए । ‘हामीसँग प्रयाप्त जनशक्ति छैन, गाउँसम्म पुग्न सक्ने अवस्था नभएकै कारण पनि दुर्घटना बढेका छन्,’ उनले भने ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार ०७:४३