सूचनाको शक्ति - The Power Of Information

        

‘जेब्राक्रस’ सिकाउँदै ट्राफिक प्रहरी, ‘जथाभावी बाटो काट्ने शिक्षित धेरै’

फाइल तस्वीर

बाँके । सवारीको गति कम गर्न र पैदलयात्रुलाई सहज बनाउन बजारका सडकमा कोरिएका सेता धर्साहरु (जेब्राक्रस)का बारेमा सर्वसाधारण अनभिज्ञ छन् । जेब्राक्रसबारे पैदलयात्रुदेखि सवारी चालकसम्मले ख्याल गर्दैनन् । सवारीले पेल्न खोज्ने र पैदलयात्रुले यत्रतत्र बाटो काट्ने गरिरहेका हुन्छन् ।

सधैं जथाभावीरुपमा बाटो काट्न बानी परेका पैदलयात्रीहरु ट्राफिक प्रहरीले सिटी मार्दै यहाँबाट जानुहोस् है भन्दै गर्दा कसैले मुसक्क हाँस्दै जेब्राक्रस बनाएकै ठाउँबाट बाटो काट्थे भने कोही नसुनेझै गरी जवरजस्त मानोमानी बाटो काट्थे । पैदलयात्रुलाई ट्राफिक प्रहरीले जेब्राक्रस पार गर्न सिकाउँथे ।

जेब्राक्रस नजिकै भए पनि जहाँ पायो त्यहीँबाट बाटो काट्ने पैदलयात्रु र जेब्राक्रस भएको ठाउँमा सवारीको गति कम नगर्ने चालकका कारण जेब्राक्रस प्रभावकारी बन्न नसकेपछि सचेनताका लागि ट्राफिक प्रहरीले पैदलयात्रु र सवारी चालकलाई जेब्राक्रस प्रयोगबारे सिकाउन थालेको छ ।

‘अझै मान्छेहरु जेब्राक्रसबाटै बाटो काट्नुपर्छ भन्ने सचेत छैनन्,’ प्रहरी सहायक निरीक्षक पदमबहादुर शाहीले भने, ‘बानी लगाउँदा विस्तारै बानी बस्छ, सचेत पनि हुन्छन् ।’ सर्वसाधारणलाई सडकमा हिड्दा कहाँबाट बाटो काट्ने भन्ने जानकारी नभएपछि जेब्राक्रस प्रयोगबारे सिकाउन थालिएको प्रहरी सहायक निरीक्षक शाहीले बताए ।

नेपालगन्जका भीडभाड हुने चोकहरुमा पैदल यात्रुले जथाभावी बाटो पार गर्न नछोडेपछि ट्राफिक प्रहरीले सुरक्षितरुपमा बाटो काट्ने तरिका सिकाउन थालेको हो । नेपालगन्जका धेरै स्थामा जेब्राक्रस भए पनि पैदलयात्रुले जथाभावी बाटो पार गर्ने गरेका छन् । यसले दुर्घटना बढ्दै गएपछि ट्राफिक प्रहरी सक्रिय भएर बाटो काट्न सिकाउँदै हिँडेको छ ।

‘शहरका मुख्य सडक क्षेत्रमा जेब्राक्रस राखिए पनि अधिकांश पैदलयात्रुले जहाँ पायो त्यहीँबाट बाटो पार गर्ने गरेका कारण चेतनामूलक कार्यक्रमस्वरुप यात्रुहरुलाई जेब्राक्रसको प्रयोग गरी बाटो पार गर्न सिकाउन थालिएको हो,’ प्रहरी सहायक निरीक्षक शाहीले भने । उनले ट्राफिक प्रहरीले दुर्घटनालाई न्यूनीकरण गर्ने प्रयास थालेको बताए ।

अझ पैदलयात्रु हिंड्ने जेब्राक्रसमै बस रोक्दा यसले झन् दुर्घटना बढाएका कारण पैदय यात्रुलाई बाटो काट्न सिकाउन थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमूख प्रहरी निरीक्षक हिरेन्द्र रोकायले बताए । उनले भने, ‘बाटो कसरी काट्ने भनेर नजान्नेहरुलाई त हामी एकछिन् राखेर सिकाउछौँ र पठाउछौँ ।’

प्रहरी निरीक्षक रोकायले शिक्षित र जान्ने बुझ्ने भनिएकाहरुले नै जथाभाबी बाटो काट्ने गरेको बताए । उनले भने, ‘यहाँ अचम्म छ, नजान्ने भन्दा जान्ने बुझ्ने भनिएका शिक्षितहरुले नै जथाभाबी बाटो काट्छन् ।’ उनका अनुसार नागरिकहरुमा चेतनाको कमी हुँदा जथाभावी बाटो काट्नेमात्र नभई जथाभावी सवारी रोक्ने प्रवित्ति पनि बढ्दो छ ।

सर्वसाधारणलाई जेब्राक्रसका बारेमा जानकारी नहुँदा प्रयोग गर्ने बानी छैन । जसकारण दुर्घटना निम्तिने खतरा बढी हुन्छ । बटुवाहरुले यताउती हेर्दै ट्राफिकको आँखा छलेर बाटो काट्ने गरेको प्रहरी निरीक्षक रोकाय बताउँछन् । पैदलयात्रुलाई जथाभाबी बाटो काट्न रोक्न सक्यो भने ९० प्रतिशत सडक दुर्घटना रोकिने उनको दावी छ ।

ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनीकरण गर्न विभिन्न सचेनता बोर्ड राख्नुका साथै विभिन्न समयमा सचेनतामुलक कार्यक्रम पनि गर्दै आएको प्रहरी निरीक्षक रोकायले बताए । ‘हाम्रो तर्फबाट गर्नुपर्ने धेरै काम भएका छन्, हामीले मात्रै काम गरेर दुर्घटना न्यूनीकरण सम्भव छैन, यसमा सवारी चालकदेखि सर्वसाधारण र अन्य निकायको पनि साथ चाहिन्छ ।’

सवारी चालक भने कहाँ जेब्राक्रस छ भन्ने नै हेक्का पाउँदैनन् । कहिलेकाहीँ मुख्य चोकको जेब्राक्रसको पनि ख्याल नहुने नेपालगन्ज–बुटवल रुटका बसका चालक प्रदीप गुरुङ बताउँछन् । उनले भने, ‘धेरैतिर जेब्राक्रस छ । जहाँ पायो त्यहीँबाट बाटो काट्ने यात्रु धेरै हुन्छन् । सबैतिर ख्याल गर्नै सकिँदैन ।’

बस चालक प्रदीपले भनेजस्तै पैदलयात्रुमा पनि जेब्राक्रसप्रति कुनै संवेदनशीलता देखिँदैन । कुनै समयमा जेबक्रस टाढैबाट देखिन्छ भने प्रायः समयमा जेब्राक्रस नै चिन्न नसक्ने अवस्थामा हुन्छ,’ उनी भन्छन्, ‘जेब्राक्रसबारे धरै चालकलाई ख्याल नै छैन । पैदलयात्रुले पनि जहाँ पायो त्यहीँबाट बाटो काट्ने भएकाले पनि यसको वास्ता हुन छाडेको हो ।’

त्यसो त सहरीकरण र सवारी चापसंगैं बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न शनिबारदेखि ट्राफिक सप्ताह पनि सञ्चालन भइरहेको छ । ‘सवारी दुर्घटना न्यूनीकरणका लागि ठाउँको ठाउँ सुधार’ भन्ने नारासहित सञ्चालन गरिएको ट्राफिक सप्ताहमा ट्राफिक ब्यवस्थापन र दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राखिएको प्रहरी निरीक्षक रोकायले बताए ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतवार १०:५८