बाँके । बाँकेमा चालु आर्थिक वर्षको ९ महिनामा ९६ वटा सवारी दुर्घटना भएका छन् । सो अवधिमा ४८ जनाको मृत्यु भएको छ । जसमा दुई जना बालक, ११ महिला र ३४ जना पुरुष रहेका छन् । यस्तै दुई बालिका, चार बालक, ३७ महिला र ६७ पुरुष गरी ११० जना घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको तथ्यांक अनुसार सवारी दुर्घटनामा २१ जना चालकको मृत्यु र १९ जना घाइते भएका छन् भने २७ जना सर्वसाधारणको मृत्यु र ९१ जना घाइते भएका छन् । तथ्यांक अनुसार चालकको लापर्वाहीबाट सबैभन्दा धेरै सवारी दुर्घटना भएका छन् ।
जसअनुसार चालकको लापर्वाहीबाट ३४ वटा र तीव्र गतिका कारण १९ वटा दुर्घटना भएका छन् । त्यस्तै यात्रुको गल्तीका कारण सात, मादक पदार्थ सेवनबाट चार, ओभरटेक र ओभरलोडका कारण तीन/तीन, यान्त्रिक गडबडी, सडकको अवस्था र पशु चौपायाका कारण एक/एक वटा सवारी दुर्घटना भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमूख प्रहरी निरीक्षक हिरेन्द्र रोकायका अनुसार रत्न राजमार्गमा सबैभन्दा धेरै ३१ वटा, महेन्द्र राजमार्गमा १९, हुलाकी राजमार्गमा ३ र अन्य सडकमा २० वटा सवारी दुर्घटना भएका छन् । सवारी दुर्घटनामा सबैभन्दा धेरै मोटरसाइकल संलग्न रहेका छन् । ९६ दुर्घटनामा ४८ वटा मोटरसाइकल दुर्घटना भएका छन् ।
त्यस्तै शुक्रबार सधैभन्दा बढी सवारी दुर्घटना हुने गरेको तथ्यांकले जनाएको छ । चालु आवमा शुक्रबारमात्रै १९ वटा दुर्घटना भएका छन् भने शनिबार १५, आइतबार १३ सोमबार १२ वटा दुर्घटना भएका छन् । तथ्यांक अनुसार सबैभन्दा कम मंगलबार एउटा मात्रै दुर्घटना भएको छ भने बुधबार ७ वटा र बिहीबार ६ वटा सवारी दुर्घटना भएका छन् ।
प्रहरी निरीक्षक रोकायका अनुसार साँझ ६ बजेपछि सबैभन्दा धेरै ३१ वटा दुर्घटना भएका छन् । त्यस्तै दिउँसो १२ बजेदेखि साँझ ६ बजेको समयमा २६ वटा, विहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म १३ वटा र राती १ बजेदेखि विहान ६ बजेसम्म ३ वटा सवारी दुर्घटना भएका छन् ।
चालु आवमा ९१ जनालाई मापसे कारबाही, हर्न निषेधित क्षेत्रमा हर्न बजाएवापत ३३७ जना र ट्राफिक कम्यूनिकेशन एप्समाफर्त १२६ जनालाई कारबाही गरिएको छ । चालु आवमा ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक कक्षाहरु सञ्चालन गरी विद्यार्थी, सवारी चालक, सर्वसाधारण लगायत ६ हजार ३१० जनालाई सचेत गराएको प्रहरी निरीक्षक रोकायले जानकारी दिए ।
आजबाट ट्राफिक सप्ताह सुरु
सहरीकरण र सवारी चापसंगैं बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न आजदेखि ट्राफिक सप्ताह सुरु भएको छ । ‘सवारी दुर्घटना न्यूनीकरणका लागि ठाउँको ठाउँ सुधार’ भन्ने नारासहित सुरु भएको ट्राफिक सप्ताह सुरु भएको छ । एक सातासम्म विभिन्न जनचेतनामुलक ट्राफिक नियमसम्बन्धी कार्यक्रमहरु आयोजना गरी मनाइने छ ।
सप्ताहको पहिलो दिन आज बाँकेको कोहलपुरमा प्रभातफेरी निकालिएको छ । बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रमको आयोजना गरी सप्ताह मनाइने ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ । कोहलपुर चौराहाबाट सुरु भएको प्रभातफेरी सुर्खेतरोड, पीपल चौतारा, एनटिभी रोड, नयाँ सडक हुँदै पुनः चौराहमा पुगेर कोणसभामा परिणत भएको भएको थियो ।
कोणसभामा कोहलपुर नगरपालिकाका प्रमूख लुटबहादुर रावतले जिल्लाको शान्ति सुरक्षासंगै ट्राफिक ब्यवस्थापन र दुर्घटना न्यूनीकरण गर्न आवश्यक रहेको बताए । प्रदेश नं. ५ सशस्त्र प्रहरी सुरक्षा गण कोहलपुरका प्रहरी उपरीक्षक बीरबहादुर वलीले दुर्घटना न्यूनीकरणका लागि नागरिकहरुले पनि साथ दिनुपर्ने बताए ।
बाँकेका प्रहरी प्रमूख प्रहरी उपरीक्षक अरुण पौडेलले बढ्दो जनसंख्यासँगै सवारी साधनको चाप, तिव्र गति, प्रविधिको प्रयोग हुन नसक्नु, ट्राफिक चिन्ह र संकेतको पालना नहुनु, विना लाइसेन्स सवारी चलाउनु, पैदलयात्रीले जथाभावी सडक पार गर्नु लगायतका कारण सडक दुर्घटना बढेकोले यसलाई नियन्त्रण गर्न कडाईका साथ लाग्नुपर्ने बताए ।
सत्यपाटी - ।