सूचनाको शक्ति - The Power Of Information

        

नरैनापुरमा सांसद अथकले भने, ‘बालबालिकालाई विद्यालय भर्ना गराउनुस्’

बाँके । २०६८ को जनगणना अनुसार नरैनापुर गाउँपालिकाको साक्षरता दर ३२ प्रतिशत रहेको छ । दुई हजार विद्यालय जाने उमेरका बालबालिका अहिले पनि विद्यालय बाहिर रहेका छन् भने झण्डै ७ हजार बढी नागरिक राम्रोसंँग पढ्न र लेख्न जान्दैनन् ।

गाउँपालिकाले यस बर्षमात्रै २४ सय जनालाई साक्षर बनाएको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए । विकट गाउँ रहेकाले पढाईको गुणस्तर नराम्रो, शिक्षकको उपस्थिति कमजोर, छोराछोरीलाई विद्यालय पठाउन अभिभावकले आनाकानी गर्दा नरैनापुर शिक्षामा धेरै पछाडी छ ।

बाटो, विजुली, स्वास्थ्य र शिक्षामा कमजोर रहेकाले नरैनापुरलाई बाँकेको ‘कर्णाली’ भनेर चिनिन्छ । जिल्लाका अन्य सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढेर भर्ना रोक्नुपर्ने अवस्था रहेका बेला नरैनापुरमा भने विद्यार्थी भर्नाका लागि घरदैलो गर्नुपर्ने बाध्यता आएको छ । जस अन्तरगत नरैनापुरका सबै वडामा घरदैलो गरिएको छ ।

नरैनापुरमा बालबालिकालाई विद्यालय प्रवेश गराउन सांसदसहितको टोली घरदैलो सम्पन्न गरेको छ । गाउँपालिकाले वडा नं. १ कट्कुइँयाबाट सुरु गरेको घरदैलो कार्यक्रम ६ वटै वडामा सम्पन्न गरेको छ । शिक्षामा पछाडि रहेको नरैनापुरको वडा नं. ५ मटेहियामा संघीय सांसद महेश्वर गहतराज आफै घरदैलोमा सहभागी भए ।

विद्यालय उमेर समूहका बालबालिकालाई विद्यालय प्रवेश गराउन सांसदसहितको टोलीले घरघरमा गएर अनुरोध गर्दै सांसद गहतराज अथकले भने, ‘शिक्षामा पछाडि परेको नरैनापुरलाई अघि बढाउन र भर्ना अभियानमा उर्जा थप्न म आफैं उपस्थित भएको हुँ । मैले बालबालिकालाई विद्यालय भर्ना गर्न अभिभावकहरुसँग आग्रह गरेको छु ।’

गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साहले भौतिक विकासले मात्र समाजको विकास पूरा नहुने बताउँदै पारिवारिक र सामाजिक विकासका लागि शिक्षा जरुरी रहेकाले गाउँपालिकाले पूर्णरुपमा लागिपरेको बताउँदै भने, ‘जनप्रतिनिधि, शिक्षक, विद्यार्थी तथा सरोकारवाला संघसंस्था भर्ना अभियानमा संँगै छौं । भर्नादर शतप्रतिशत बनाउन हामीहरु लागिपरेका छौं ।’

‘हाम्रो शहर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥याउ’ भन्ने नाराका साथ अभियान सुरु गरेको बताउँदै अध्यक्ष शाहले सामुदायिक विद्यालयमा आकर्षण बृद्धि गर्नुका साथै गुणस्तरीय शिक्षाका लागि प्रयत्न गरेको जानकारी दिए । विद्यालय जाने उमेर समूहका बालबालिकालाई नछुटाएर भर्ना गर्न गाउँपालिकाले सबै रणनीतिहरु तय गरेको उनको भनाई छ ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार १६:२३