सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा ध्वनी प्रदुषण : एसपीलाई गुहार्दै सिडिओ !

बाँके । रातीमा आनन्दसँग सुत्न नपाएको झोकमा बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल आक्रोशित बनेका छन् । नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र हुने ध्वनी प्रदूषणका कारण आफू रातीमा आनन्दसँग सुत्न पनि नपाएको भन्दै प्रजिअ भुजेल आक्रोशित बनेका हुन् ।

‘आफैलाई चोट नलागी दुखाई महशुस हुँदैन’ भने झै जब प्रजिअ भुजेल नै सुत्न पाएनन् तब ध्वनी प्रदूषण नियन्त्रण गर्नुपर्छ भन्ने कुरामा उनको ध्यान गयो । मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालयमै उनले मठ, मन्दिर र मस्जिद्बाट आएको ध्वनी प्रदूषणले आफू रातीमा सुत्न नपाएको गनासो गरेका छन् ।

उपमहानगरपालिका क्षेत्रमा विगत देखि नै यसरी ध्वनी प्रदूषण हुँदै आएको थियो । नगरबासीले यसअघि पनि पटक पटक स्थानीय प्रशासनलाई यसको रोकथामका लागि आग्रह गरेका थिए । यसै बिषयमा अदालतमा मुद्दा परेर अदालतले समेत ध्वनी प्रदूषण रोक्न आदेश गरेको थियो ।

तर, अदालतको आदेश समेत पालना गराउँन नसकेका बाँकेका प्रमुख जिल्ला अधिकारी भुजेल जब आफू नै ध्वनी प्रदूषणबाट प्रताडित भए अनिमात्र उनले आक्रोशित व्यक्त गर्दै बाँकेका प्रहरी प्रमुखलाई रोकथामका लागि निर्देशन दिए ।

‘आफू नमरी स्वर्ग देखिदैन’ भनेजस्तै बाँकेका प्रजिअ भुजेलले सुत्न नपाएको झोकमा ध्वनी प्रदूषण रोक्न एसपी अरूण पौडेललाई निर्देशन दिएपछि अब उपमहानगरमा विहान बेलुका र राती हुने ध्वनी प्रदूषण कम हुने आशा गरिएको इन्सेक प्रदेश पाँचका संयोजक भोला महत बताउँछन् ।

प्रजिअ भुजेललाई भेट्ने जिल्ला प्रशासन कार्यालय पुगेको अधिकारकर्मीहरूको टोलीलाई रोबहरमा राखि बाँकेका प्रहरी प्रमुख पौडेललाई प्रजिअ भुजेलले यस्तो निर्देशन दिएका हुन् । सहरभित्र विहान र बेलुका हुने गरेको ध्वनी प्रदूषणले आफूलगायत आम नागरिक प्रताडित भएको गुनासो गर्दै प्रजिअ भुजेलले तत्काल यस्तो प्रदुषण नियन्त्रण गर्न एसपी पौडेललाई निर्देशन दिएका हुन् ।

प्रजिअ भुजेलले मन्दिर, मस्जिद लगायतका स्थानबाट आएको ध्वनी प्रदूषणले आफू रातभरी सुत्न नपाएको गुनासो गरेका छन् । दिनभरी अफिसको कामले थाकिएको हुन्छ राती आनन्दसँग सुत्ने वातावरण मिलाईदिनुहोस् एसपी पौडेललाई प्रजिअ भुजेलले भने ‘एसपीसाप के हेरेर बस्नु भएको छ । केही त गर्नुस् ।’

धार्मिक, साँस्कृतिक कार्यको नाममा ठूलो स्वरमा बाजा बजाउनु विकृतिको रूप भएकाले सानो स्वरमा बाजा बजाउनु पर्ने हो तर नियामक निकायकै बेवास्ताका कारण समस्या भोग्नुपरेको स्थानीय बताउँछन् ।

ध्वनी प्रदूषण गर्ने व्यक्ति या समूहलाई प्रचलित कानुन बमोजिम कैद वा जरिवाना वा दुबै हुन सक्ने प्रावधान छ । मुलुकी अपराधसंहिता (ऐन) ०७४ को दफा ११२ को उपदफा २ बमोजिम अधिकार प्राप्त अधिकारीको इजाजतविना यान्त्रिक साधनबाट ध्वनि प्रदूषण गर्नै नपाइने नियम रहेको भए पनि हालसम्म कसैलाई कारबाही गरिएको छैन । न त ध्वनि प्रदूषण नै रोकिएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार १६:२३