सूचनाको शक्ति - The Power Of Information

        

सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गर्न अभिभावकको ‘सोर्सफोर्स’

बाँके । ‘विद्यार्थी भर्नाको चाप निकै धेरै छ, हामी भर्ना गर्न सक्ने अवस्थामा छैनौं । अभिभावकहरु सोर्सफोर्स लगाएर भर्ना गर्न आइरहनुभएको छ,’ नेपालगन्ज उपमहानगरपालिका–१ स्थित धम्बोझी माध्यमिक विद्यालयका प्रधानाध्यापक बामदेव सुवेदीले आफ्नो बाध्यता सुनाउँदै भने ।

‘सामुदायिक विद्यालयमा भर्ना लिँदैन भनेर अभिभावकलाई फर्काउन पनि निकै समस्या छ,’ प्रअ सुवेदी भन्छन्, ‘भर्ना लिँदा कक्षाकोठा अभावसँगै शिक्षकको समस्या उस्तै छ ।’ शैक्षिक वातावरण राम्रो भएको र विगतमा राम्रो नतिजा ल्याएका कारण विद्यार्थीको चाप उच्च छ ।

गत शैक्षिक सत्रमा २१ सय बढी विद्यार्थी रहेकोमा हाल यो संख्या २२ पुग्ने अनुमान गरिएको छ । प्रअ सुवेदी भन्छन्, ‘यो भन्दा धेरै भर्ना लिँदा कक्षाकोठा नै छैनन्, भर्ना लिएर मात्रै के गर्नु ?’ पूर्वाधार अभावमा विद्यार्थीले नपाएपछि निराश भएर फर्कनुपर्ने अवस्था छ ।

निजी तथा आवासीय विद्यालय छोडेर भर्ना हुन विद्यार्थी आउन थालेपछि धम्बोझी माविलाई विद्यार्थीको चाप थेग्न निकै मुस्किल परेको छ । प्रअ सुवेदीले विद्यालयमा राम्रो वातावरण भएकाले विद्यार्थी संख्या धेरै बढेको बताए । विद्यालयमा भर्ना मात्र होइन विद्यार्थी टिकाउको अवस्था पनि उत्तिकै राम्रो छ ।

बालबालिकाका अभिभावकलाई प्रतिबद्धता जनाउन लगाएर मात्रै भर्ना लिने गरेकाले नियमितरूपमा विद्यार्थी विद्यालय आउने गरेको उनले बताए । ‘नियमितरूपमा विद्यालय आउने बनाउने दायित्व विद्यालयको पनि हो,’ उनले भने, ‘विद्यालयले राम्रो वातावरण दिन सक्यो भने विद्यार्थीलाई विद्यालयमा टिकाउन सकिन्छ ।’

सिकाइ उपलब्धी राम्रो भएपछि बाँकेका सामुदायिक विद्यालय अभिभावक र विद्यार्थीको रोजाइमा परेका छन् । कोहलपुरस्थित त्रिभुवन माविमा पनि विद्यार्थीको उस्तै चाप छ । विद्यार्थी आकर्षित गर्न र निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइरहेको छ ।

अंग्रेजी र नेपाली माध्यममा पढाइको वातावरण बनेपछि विद्यार्थी संख्या धेरै बढेको प्रधानाध्यापक देवकी थापाले बताइन् । उनलाई भनिन्, ‘निजीमा भन्दा सामुदायिक विद्यालयप्रति बढी विश्वास देखियो । यहाँ पढाउनका लागि अभिभावकहरुले भर्नाका लागि आग्रह गरिरहनुभएको छ । हामी भर्ना गर्न सक्ने अवस्थामा छैनौं ।’

सरकारले लगानी गरेका सामुदायिक विद्यालयको पढाईप्रति शंका गर्नुपर्ने कुनै कारण नरहेको अभिभावकहरु बताउँछन् । अभिभावक पदमबहादुर शाही भन्छन्, ‘अंग्रेजीमा राम्रो गरुन भनेर निजीमा पढाउने हो, अहिले सरकारी विद्यालयमै अंग्रेजी माध्यममा पढाई भइरहेको छ । किन निजीमा पढाउनु ?’

सरकारी जागिर गर्ने बुवाआमाले आफ्ना छोराछोरीलाई निजी विद्यालयमा महंगो शुल्क तिरेर पढाइरहेका बेला धेरै अभिभावकहरुको रोजाईँमा सामुदायिक विद्यालय पर्ने गरेका छन् । सामुदायिक विद्यालयमा सरकारले लगानी बढाएसँगै पढाइको गुणस्तर सुधार हुँदा सामुदायिक विद्यालयप्रति अभिभावकको आकर्षण बढ्दै गएको हो ।

निजीको तुलनामा सामुदायिक विद्यालयको गुणस्तर बढेको धम्बोझी माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर चन्दको भनाई छ । उनी भन्छन्, ‘अङ्ग्रेजी पढ्नैपर्ने बाध्यताले अभिभावकले जबरजस्ती निजी विद्यालयमा छोराछोरीलाई पठाउने गर्नुभएको छ, सरकारी विद्यालयले गुणस्तर बढाउन थालेपछि अब त्यो बाध्यता रहेन ।’

विद्यालयमा राम्रो वातावरणमा शिक्षा दिन संख्या बढाउनुभन्दा गुणस्तरमा ध्यान दिर्नुपर्ने अध्यक्ष चन्द बताउँछन् । सरकारले दिने सेवा सुविधा र विद्यालयको लगावका कारण विद्यार्थीको चाप बढेको उनको भनाई छ । गुणस्तर शिक्षा प्रदान गरेकै कारण सामुदायिक विद्यालय विद्यार्थी र अभिभावकको रोजाइमा परेको उनले बताए ।

खजुरास्थित ज्ञानोदय माविमा पनि विद्यार्थीको उत्तिकै घुइँचो लागेको छ । भर्ना हुन चाहने विद्यार्थीको घुइँचो लागेपछि प्रवेश परीक्षा लिएर मात्र विद्यार्थी भर्ना गरिएको विद्यालयका प्रधानाध्यापक ऋषिराम सापकोटाले बताए । उनले भने, ‘प्रवेश परीक्षा नलिएरै भर्ना गर्दा हामी विद्यार्थी थेग्न सक्दैनौं ।’

खजुराको जनता मावि, बैजापुरको सरस्वती मावि, महादेवपुरीको शिवशक्ति मावि र फत्तेपुरको सिद्धेश्वर माविको उत्कृष्ट नतिजाका कारण विद्यार्थीको आकर्षण धेरै छ । कौशिला नगरस्थित कृष्ण माविमा पनि विद्यार्थीको संख्या बढ्दो छ । विद्यार्थीको चाप धेरै हुन थालेपछि प्रवेश परीक्षा लिनुपर्ने सामुदायिक विद्यालयहरुलाई बाध्यता छ ।

कुनै बेला निकै जर्जर अवस्थामा रहेका सामुदायिक विद्यालयमा पछिल्लो समयमा उत्कृष्ट बन्दै गएको अभिभावक डिल्लीराज पोखरेलले बताए । उनले भने, ‘विद्यार्थीहरु निजी विद्यालयतिर जान थालेपछि खाली हुन थालेका सामुदायिक विद्यालयले समयमै कुशल ब्यवस्थापन, कडा प्रशासन भन्ने नीति अपनाएकै कारण समफल भएका छन् ।’

अभिभावक पोखरेलका अनुसार शिक्षकहरुको कडा परिश्रमले गर्दा पनि निजी विद्यालयभन्दा सामुदायिक विद्यालय उत्कृष्ट बन्दै गएका छन् । उहाँले चाहेमा राम्रो गर्न सकिन्छ भन्ने उदाहरण अहिले सामुदायिक विद्यालयले प्रस्तुत गरेको जनाए । ‘सामुदायिकमा पढाउने विधिसँगै अन्य क्रियाकलापले बालबालिकामा राम्रो प्रभाव पारेको छ,’ उनले भने ।

शिक्षक र विद्यार्थी नियमित समयमा आउने, शिक्षकले पुरै समय पढाउने, कक्षा छोडेर नजाने, हरेक विद्यार्थीको पढाईमा ध्यान राखिने लगायतका कुराहरुमा कडाई गर्दा विद्यालयमा सुधार भएको प्रअ सुवेदीले बताउँदै भने, ‘यसका लागि सबै शिक्षक र विद्यालय ब्यवस्थापन समितिको भरपुर सहयोग रहेको छ ।’

निजी छोडेर सामुदायिकमा

विद्यालयको भौतिक र शैक्षिक वातावरण राम्रो भएपछि सामुदायिक विद्यालय अभिभावक र विद्यार्थीको रोजाइमा पर्ने गरेका छन् । निजी विद्यालयले दिने शिक्षा चित्त नबुझेपछि नेपालगन्ज उपमहानगरपालिका–१८, कारकाँदोका छायादत्त शर्माले धम्बोझी माविमा भर्ना गरे ।

निजीभन्दा सामुदायिक धम्बोझी माविको शिक्षा व्यावहारिक र समय सुहाउँदो भएकाले छोरीलाई धम्बोझी माविमा भर्ना गरेको उनले बताए । ‘सामुदायिक विद्यालयमा मौलिकता हुन्छ, उत्कृष्ट लेखन शैली र अभिव्यक्ति शैली राम्रो हुन्छ,’ उनले भने, ‘बोर्डिङ स्कुलको घोकन्ते विद्याले उच्च शिक्षामा टेवा पुर्याउन नसकेको देखिन्छ ।’

शर्मा एक प्रतिनिधि पात्र मात्रै हुन् । सामुदायिक विद्यालयका शिक्षकहरु ‘केही गरौं’ भन्ने भावनाबाट अभिप्रेरित भएकै कारण गुणस्तरमा सुधार हुँदै गएको धम्बोझी माविका विव्यस अध्यक्ष चन्दको भनाई छ । धेरै अभिभावकले निजीबाट आफ्ना बालबालिका सामुदायिकमा भर्ना गरेका छन् ।

कतिपयले भने माथिल्लो तहमा छात्रवृत्ति पाउने लोभमा निजीबाट सामुदायिकमा भर्ना गरेका छन् । ‘दक्ष, तालीमप्राप्त र पर्याप्त शिक्षक भएका कारण नै सामुदायिक विद्यालयको शैक्षिक वातावरण सुध्रिएकोमा द्विविधा छैन,’ धम्बोझी माविका सहायक प्रअ पूर्णबहादुर शाहीले भने ।

प्रअले विद्यालय सञ्चालन हुने पूरै अवधि विद्यालयमै बसेर अनुगमन गर्ने, शिक्षकहरुलाई नियमित अनुगमन गर्ने, पुरस्कृत गर्नेदेखि राम्रो भौतिक पूर्वाधार र विद्यालयमा आर्थिक पारदर्शिता कायम भएका कारण शिक्षकहरुमा राम्रो गर्नुपर्छ भन्ने भावना जागृत भएको सहायक प्रअ शाहीले बताए ।

भर्ना गर्न दबाब दिँदै अभिभावक

धम्बोझी माविसँगै खजुराको जनता मावि, बैजापुरको सरस्वती मावि, महादेवपुरीको शिवशक्ति मावि, फत्तेपुरको सिद्धेश्वर मावि र कौशिलाको कृष्ण माविमा विद्यार्थी भर्नाका लागि अभिभावकले दबाब दिने गरेका छन् । विद्यार्थी भर्नाका लागि विभिन्न उपाय लगाएर विद्यालयलाई प्रभाव पार्ने प्रयास गर्दै दवाव दिने गरेका छन् ।

‘छोराछोरी भर्नाका लागि आउने अभिभावक रुने, आग्रह, अनुरोध गरेर पनि भर्ना गराउन नसकेपछि झगडा गर्ने र धम्कीसमेत दिन पछि पर्दैनन्,’ विद्यालयका प्रअ सुवेदीले भने, ‘अभिभावकले विभिन्न किसिमका प्रभावमा पार्ने प्रयास गरे पनि राजनीतिक दलका नेता र कार्यकर्ताबाट कुनै पनि दबाब आएको छैन ।’

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार १६:०३