रीता लामा । घोराही । आठौ राष्ट्रिय खेलकुद अन्तरगत महिला फुटवलमा आज विहान तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिस क्लव विजयी भएको छ । दाङको बेलझुण्डी रंगशालामा भएको प्रदेश ३ सँगको निकै प्रतिस्पर्धात्मक र रोचक खेलमा शर्ट एण्ड डेथबाट पुलिसले जीत हाँसिल गरेको हो ।
पहिलो हाफमा कसैले पनि गोल गर्न नसके पनि दोस्रो हाफको २७ औं मिनेटमा प्रदेश ३ को तर्फबाट जर्सी नम्बर ७ की मनिषा थापाले गोलको सुरुवात गरेका थिए । त्यसपछि ३४ औं मिनेटमा पुलिसको तर्फबाट जर्सी नम्बर १४ की निरु थापाले जवाफी गोल फर्काउनुभयो । निर्धारित समयमा एक÷एक गोलको बराबरी भएपछि खेल ट्राइबेकरमा गएको थियो । ट्राइबेकरमा ४/४ को बराबर गोल भएपछि अन्तिम नतिजा शर्ट एण्ड डेथमा निकालिएको थियो ।
ट्राइबेकरमा पुलिसकी नीरु थापा, घिमकुमारी गुरुङ, सिर्जना खड्का र निर्मला बिकले गोल गरेका थिए । ट्राइबेकरमा जर्सी नम्बर ५ की अमृता जैशीले हानेको गोल असफल भएको थियो । त्यसपछि शर्ट एण्ड डेथमा जर्सी नम्बर ४ की रेबिका पाण्डे र १९ की रञ्जिता गुरुङले गोल गरेर पुलिसलाई विजयी बनाए । यसैगरी ट्राइबेकरमा प्रदेश ३ की सुभद्रा खड्का, सञ्जु कुवर, शुष्मा तामाङ र मनिषा थापा मगरले गोल गरेका थिए ।
प्रदेश ३ की खेलाडी रजनी श्रेष्ठले ट्राइबेकरमा गोल गर्न सकेकी थिइनन् । त्यसपछि शर्ट एण्ड डेथमा प्रदेश ३ की पार्वती घले गोल गर्न सफल भए पनि लक्ष्मी तामाङले गोल गर्न सकेकी थिइनन् । महिला फुटबलको उपाधिका लागि आज दुई विभागीय टिम त्रिभुवन आर्मी र सशस्त्र प्रहरीको एपीएफ क्लव भिड्ने भएका छन् । प्रतियोगितामा हावी देखिएका दुबै टिमको फाइनल भिडन्त कडा प्रतिस्पर्धा र रोमाञ्चक हुने अनुमान गरिएको छ ।
।