सूचनाको शक्ति - The Power Of Information

        

दाङ्गमा नौ जनाले बुझाए हतियार

घोराही । पारिवारिक र व्यक्तिगतरुपमा असुरक्षित महशुस भएको भन्दै दाङमा ९ जनाले लाइसेन्स प्राप्त हतियार प्रहरीमा बुझाएका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङले अबैध हातहतियारहरु ३५ दिनभित्र बुझाउन सार्वजनिक सूचना जारी गरेको समयमा असुरक्षित भएको भन्दै ९ जनाले लाईसेन्स प्राप्त हतियार प्रहरीमा बुझाएका हुन् ।

तुलसीपुर उपमहानगरपालिका १३ फुलबारी क्षेत्रका ९ जना व्यक्तिहरुले बैधानिक हतियार बुझाएको दाङका प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए । विप्लव समुहको नेकपाको गतिबिधिलाई मध्यनजर गर्दै सरकारले अबैध हतियारहरु प्रहरीमा बुझाउन ३५ दिने सूचना जारी गरेको थियो ।

विप्लव समुहलाई सरकारले प्रतिबन्ध लगाएसँगै आफ्नै हतियारका कारणले असुरक्षित भएको महशुस भएको भन्दै ९ जनाले भरुवा बन्दुक बुझाएको एसपी पाण्डेको भनाई छ । ३५ दिनमा अन्य ४ थान अबैध हतियार संकलन भएको प्रहरीको भनाई छ ।

शान्तिनगर गाउँपालिका वडा नम्बर २ का विभिन्न गाउँबाट ४ नाल हतियार संकलन भएको एसपी पाण्डेले जानकारी दिए । अपेक्षा गरिए अनुसार हातहतियारहरु संकलन नभएको र अब फेला परे कानुन बमोजिम कार्वाही हुने उनको भनाई छ ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार ११:४७