बाँके । गाउँहरु शहरोन्मूख भइरहेका छन् । बजार क्षेत्रहरु तीव्ररुपमा वृद्धि भइरहेका छन् । टोलहरु गाउँ बनेका छन्, गाउँहरु शहर बनेका छन् । तर यातायात, सडक, खानेपानी लगायतका क्षेत्रमा सो अनुसार वृद्धि भएको छैन । तर संघीय संरचनामा आइसकेपछि केही परिवर्तनहरु भने देखिन थालेका छन् ।
गाउँका धुलाम्ये सडकहरु ग्राभेल बन्न थालेका छन्, शहरका ग्राभेल सडकहरु कालोपत्रे बन्न थालेका छन्, साँघुरा सडकहरु चौडा भएका छन् । यातायातका साधनहरु वृद्धिदर ह्वात्तै बढेको छ । पैदल हिँड्नेहरु साइकल चढ्न थालेका छन्, मोटरसाइकल चढ्नेहरु कारमा चढ्न थालेका छन् । जसका कारण सवारी साधनको संख्या ह्वात्तै बढेको छ ।
नेपालगन्ज, कोहलपुर, खजुरा क्षेत्रमा भइरहेको तीव्र विकास, बढ्दो जनसंख्यासँगै सवारी साधनको संख्या ह्वात्तै बढेपछि ट्राफिक व्यवस्थापनमा चुनौति देखिन थालेको छ । योसँगै सडकमा प्रदलयात्रुका लागि जेब्रा क्रसिङ्ग नहुँदा दुर्घटनाको उत्तिकै जोखिम छ । विभिन्न सडकहरुमा जेब्रा क्रसिङ नहुँदा पैदल यात्रुहरुलाई बाटो काट्न समस्या भएको छ ।
अझ नेपालगन्ज र कोहलपुर क्षेत्रमा जेब्रा क्रसिङ्ग अत्यावश्यक भइसक्यो । पूर्वपश्चिम राजमार्ग र रत्न राजमार्गको मिलनविन्दु कोहलपुर चौराहा २४ सैं घण्टा व्यस्त रहन्छ । त्यो सँगै कोहलपुर–नेपालगन्ज खण्ड पनि उत्तिकै व्यस्त रहन्छ । सडकमा तीव्र गतिमा सवारी साधनहरु हुँइकिरहेका हुन्छन् । जसका कारण दुर्घटनाको जोखिम उच्च छ ।
यिनै व्यस्त सडकमा जेब्रा क्रसिङ्ग नहुँदा दुर्घटना बढ्न थालेपछि ट्राफिक प्रहरीले पहल थालेको छ । वर्षौदेखि जेब्रा क्रसिङ तथा ब्रेकर नहुँदा दुर्घटनाको जोखिम निकै बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमूख प्रहरी निरीक्षक हिरेन्द्र रोकायले जेब्रा क्रसिङ्ग बनाउने दायित्व आफूहरुको नभए पनि दुर्घटनाको जोखिम कम गर्न पहल थालेको बताए ।
ट्राफिक प्रहरीले पैदल यात्रुहरुको सहजताका लागि कोहलपुर चौराहामा जेब्रा क्रसिङ्ग बनाएको छ भने अन्य पैदल यात्रुको चाप रहने स्थानमा पनि जेब्रा क्रसिङ्ग बनाउने जनाएको छ । ‘पहिले भएका कतिपय जेब्रा क्रसिङ्गको रंग उडेको छ । यसमा पुनः रंग लगाउने र अन्य आवश्यक स्थानहरुमा जेब्रा क्रसिङ्ग बनाउँछौं,’ प्रहरी निरीक्षक रोकाले भने ।
प्रहरी निरीक्षक रोकायले यात्रु र सवारी आवागमनका लागि सहज होस भन्ने हेतुले ट्राफिक प्रहरी आफैले जेब्रा क्रसिङ्ग व्यवस्थित गर्न लागेको बताए । सडक निर्माण गर्दा सो स्थानमा जेब्रा क्रसिङ्ग रहे पनि अहिले केही नदेखिने अवस्था रहेकोले र सवारी र पैदल यात्रुलाई समस्या भएका कारण सडक दुर्घटना कम गर्न पुनःनिर्माण गरिएको रोकायले बताए ।
सडकमा जेब्राक्रस बनाएर मात्र दुर्घटना पूर्णरुपमा नरोकिने बताउँदै प्रहरी निरीक्षक रोकायले भने, ‘सवारी साधन र पैदल यात्रु दुवैले जेब्राक्रसको ख्याल गर्नुपर्छ ।’ धेरैजसो सवारी साधन र पैदल याुत्रले जेब्राक्रसलाई ख्याल नगर्ने भएकाले सडक दुर्घटनाको जोखिम बढ्ने गरेको उनले बताए ।
‘ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि सर्वसाधारण सतर्क हुनुपर्छ । ट्राफिकले मात्र सवारी दुर्घटनाको न्यूनीकरण रोक्न सक्दैन,’ प्रहरी निरीक्षक रोकायले भन्नुभयो, ‘सवारीअनुसार ट्राफिक प्रहरी अभाव भए पनि हामीले दैनिकजसो सवारी सचेतनामूलक कार्यक्रम गरिरहेका छौं । यसले पनि सर्वसाधारणमा केही सचेतना बढेको छ ।’
अनभिज्ञ पैदलयात्रु
सवारीको गति कम गर्न र पैदल यात्रुलाई सहज बनाउन बजारका सडकहरुमा कोरिएका सेता धर्साहरुका बारेमा कतिपय सर्वसाधारणहरु भने अनभिज्ञ देखिन्छन् । अनभिज्ञता कै कारण पैदल यात्रुदेखि सवारी चालकसम्मले त्यसको ख्याल गरेको पाइँदैन । सवारीले पेल्न खोज्ने र पैदलयात्रु यत्रतत्र बाटो काट्ने गरिरहन्छन् ।
जेब्राक्रस नजिकै भए पनि जहाँ पायो त्यहीँबाट बाटो काट्ने पैदल यात्रु र जेब्राक्रस भएको ठाउँमा सवारीको गति कम नगर्ने चालकका कारण जेब्राक्रस प्रभावकारी बन्न नसकेको प्रहरी निरीक्षक रोकाय बताउँछन् । ‘सर्वसाधारणलाई जेब्राक्रकका बारेमा जानकारी नहुँदा प्रयोग गर्ने बानी छैन । जसका कारण दुर्घटना निम्तिने खतरा बढी हुन्छ ।’
पैदल जेब्राक्रसका बारेमा यात्रुलाई ज्ञान नहुँदा हतारमा जताततैबाट बाटो काटिरहेका हुन्छन् । उता, सवारी चालकहरू भने कहाँ जेब्राक्रस छ भन्ने नै हेक्का पाउँदैनन् । नेपालगन्ज–बुटवल रुटका बसका चालक प्रदीप गुरुङ्गका अनुसार अनुसार जेब्राक्रस धेरैतिर बनिरहेको हुन्छ । सबैतिर ख्याल गर्नै सकिँदैन ।
कहिलेकाहीँ मुख्य चोकको जेब्राक्रसको पनि ख्याल नहुने उनी बताउँछन् । ‘कुनै समयमा जेबक्रस टाढैबाट देखिन्छ भने प्राय समयमा जेब्राक्रस नै चिन्न नसक्ने अवस्थामा हुन्छ,’ उनी भन्छन्, ‘त्यही भएर जेब्राक्रसको बारेमा धरै चालकलाई ख्याल हुन छाडेको छ । पैदल यात्रुले पनि जहाँ पायो त्यहीँबाट बाटो काट्ने भएकाले वास्ता हुन छाडेको हो ।’
प्रदीपले भनेजस्तै पैदल यात्रुहरूमा पनि जेब्राक्रसप्रति कुनै संवेदनशीलता देखिँदैन । नजिकै जेब्राक्रस हुँदाहुँदै जहाँ पायो त्यहीँबाट बाटो काट्ने यात्रुहरु धेरै हुन्छन् । पैदल यात्रुलाई जेब्राक्रस भएको स्थानसम्म पुग्न झन्झट हुने भएकाले मनपरी बाटो काटिरहेका हुन्छन् । त्यसले पनि सडक दुर्घटनाको जोखिम बढाइरहेको ट्राफिक प्रहरीको बुझाई छ ।
सत्यपाटी - ।