सूचनाको शक्ति - The Power Of Information

        

आठौं खेलकुदको समापन उपराष्ट्रपतिले गर्दै, बाँकेबासीले गरे प्रधानमन्त्रीको आलोचना

बाँके । प्रदेश पाँचका विभिन्न जिल्लामा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५/०७६ को आज औपचारिक समापन गरिदैछ । प्रतियोगिताको समापन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने भएका छन् । बैशाख ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको आठौं राष्ट्रिय खेलकुदको समापन उपराष्ट्रपतिले गर्नुहुने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।

यसअघि ५ नम्बर प्रदेश खेलकुद विकास समितिले सार्वजनिक गरेको कार्ययोजना अनुसार प्रतियोगिताको समापन कार्यक्रम प्रधानमन्त्री केपी शर्मा वलीले गर्ने तय भएको थियो । अन्तिम समयमा प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण आउन नसक्ने भएपछि उपराष्ट्रपतिबाट प्रतियोगिता समापन गर्ने तय भएको प्रदेश खेलकुद विकास समिति प्रदेश ५ का अध्यक्ष भीम वलीले जानकारी दिए । ‘प्रधानमन्त्री ज्यूको कार्यव्यस्तताका कारण समापन कार्यक्रम उपराष्ट्रपतिबाट गरिदैछ,’ प्रदेश अध्यक्ष वलीले भने ।

लोकतन्त्र दिवसका अवसरमा काठमाडौंमा आयोजना हुने कार्यक्रमपश्चात उपराष्ट्रपति भोली दिउँसो १ बजे श्री एयरलाइन्सको विमानमार्फत नेपालगन्ज आइपुग्नु हुने राष्ट्रिय खेलकुद परिषद (राखेप)ले जनाएको छ । राखेपका अनुसार यतिवेला अन्तिम खेलहरु भइरहेका छन्, समापन कार्यक्रमलाई लक्षित गर्दै सबै तयारीहरु पुरा भइसकेको छ । प्रतियोगिताको समापन ११ गते दिउँसो ३ बजे गर्ने तयारी छ ।

बाँकेबासीले गरे प्रधानमन्त्रीको आलोचना

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहमा प्रधानमन्त्री वली नआउने खबर पाएसगैं बाँकेबासीले उनको आलोचना गरेका छन् । नेपालगन्जमा खुलेको होटल सोल्टी वेस्टेण्ड प्रिमियरको उद्घाटनका लागि प्रधानमन्त्रीलाई फुर्सद हुने तर, मुलुककै खेलकुदको महाकुम्भको समापनमा आउन नसक्नुले उनको प्राथमिकतामा खेलकुद नरहेको भन्दै बाँकेबासीले आलोचना गरेका हुन् ।

बाँकेबासीले प्रधानमन्त्रीको नेपालगन्जमा स्वागतसँगै जिल्लाका समस्याहरु उनीसमक्ष राख्ने तयारी भइरहेका बेला पन्छिन खोजेको भन्दै खेलकुद र खेलाडीहरुलाई महत्व नदिएको भन्दै आलोचना गरेका छन् । गतसाता भेरी बबई ड्राइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ उद्घाटनका लागि नेपालगन्ज हुँदै सुर्खेत पुगेका प्रधानमन्त्रीले सोही क्रममा नेपालगन्जस्थित पूर्वराजा ज्ञानेन्द्र शाहको सोल्टी होटलको औपचारिक उद्घाटन गरेका थिए ।

‘प्रधानमन्त्रीले खेलकुदको समापन समारोहमा उपस्थिती जनाइदिनुपर्ने हो । आयोजकले राष्ट्रपतिको समय व्यवस्थापन गराउन सक्ने तर, प्रधानमन्त्रीको समय व्यवस्थापन हुननसक्ने यो कस्तो विडम्बना हो । खेलकुद र खेलाडीलाई लत्याएर प्रधानमन्त्रीले आफ्नो लोकप्रियता गुमाउनुभयो,’ नेकपा बाँकेका एक नेताले भने, ‘पूर्वराजाको होटल उद्घाटनमा आउन मिल्ने तर, खेलकुदको कार्यक्रममा आउन नमिल्ने कस्तो खालको राजनीति हो यो बुझ्नै अप्ठेरो ।’

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार ०६:२२