सूचनाको शक्ति - The Power Of Information

        

नेकपा बाँकेमा खारिएको नेतृत्व, अध्यक्षमा खरेल र सचिवमा कोइराला चुनिए

बाँके । लामो समयको प्रतिक्षापछि नेकपाको सचिवालय बैठकले बाँकेसहित देशभरका जिल्ला कमिटीको नेतृत्व टुंगो लगाउँदा बाँकेको अध्यक्षमा इन्द्रप्रसाद खरेल (आईपी) र सचिवमा अशोक कोइरालालाई चुनेको छ । प्रदेश सभा सांसदसमेत रहेका खरेल तत्कालिन माओवादी केन्द्रका अध्यक्ष हुन् भने कोइराला तत्कालिन नेकपा एमालेका अध्यक्ष हुन् ।

कम्युनिष्ट पार्टीमा खरेलका ४२ बर्ष

नेकपा बाँकेको अध्यक्ष भएका आईपी खरेल बाँकेबासीका लागि चिनाइरहनु पर्ने नाम होइन । ईमान्दार र त्यागी नेताको पहिचान बनाएका खरेल बाँकेबासीमाझ परिचित छन् । बाँके निर्वाचन क्षेत्र नम्बर ३ प्रदेशसभा १ बाट खरेल विजयी भएका हुन् । २०१८ साल जेठ २१ गते काभ्रेमा जन्मेका आईपी खरेलको परिवार सर्लाही, बारा, चितवन हुँदै २०३५ सालमा बाँकेको खजुरा गाउँपालिकाको सीतापुरमा आइपुगेको हो ।

खरेल १५ बर्षको उमेरमा २०३३ सालमा तत्कालिन नेकपा चौममा आवद्ध भएका थिए । त्यसयताका ४२ बर्ष खरेल राजनीतिक मोर्चामा निरन्तर सक्रिय रहँदै आएका छन् । २०३७ सालमा प्रवासमा हिमाञ्चल राज्यस्तरीय संयोजन समितिको सचिवको जिम्मेवारी सम्हालेका खरेल ४३ सालमा स्वदेश फर्केपछि तत्कालिन मशालको जिल्ला कमिटी सदस्य भए । २०४७ सालमा पार्टी एकतापछि सुप ब्युरो सदस्यको रुपमा बैतडी र दार्चुला सचिव भए खरेल ।

खरेल माओवादीले सञ्चालन गरेको जनयुद्धका पक्षमा सुरुमा सक्रियतापूर्वक लागे । उनी नेकपा माओवादीको बाँके बर्दियाका संस्थापक सेक्रेटरी हुन् । जनयुद्धको सुरुवातमा उनी ०५१ मा माओवादीको बाँके–बर्दिया सेक्रेटरी थिए । खरेलसहितले २०५५ सालमा माओवादीबाट बिद्रो गरी देशभक्त कम्युनिष्ट लिग बनाए । २०५७ मा एकता केन्द्रसँग एकता भएपछि उनी जनमोर्चाको बाँके जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य भए । दोश्रो जनआन्दोलनमा खरेलले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

एकता केन्द्र माओवादीमा एकीकरण भएपछि बनेको एनेकपा माओवादी बाँकेका सहसइन्चार्ज भएका खरेल पुन पार्टीमा विद्रोह भएपछि मोहन बैद्य नेतृत्वको माओवादी हुँदै पुनः रामबहादुर थापा बादलको नेतृत्वमा माओवादीमा एकीकरण भएपछि पोलिटब्युरो सदस्य र बाँके संयोजकको रुपमा कार्यरत रहेका थिए । २०३३ सालमा कमयुनिष्ट पार्टीमा आवद्ध खरेल ४२ बर्षदेखि निरन्तर कम्युनिष्ट आन्दोलनमा क्रियाशिल रहदै आएका छन । सादगीपुर्ण जीवनयापनका कारण खरेल बाँकेको राजनीतिमा सम्मानित समेत मानिदै आएका छन् ।

विद्यार्थीकालदेखि निरन्तर राजनीतिमा कोइराला

अशोक कोइराला विद्यार्थी राजनीतिबाट राजनीतिमा प्रवेश गरेको बाँकेको चिरपरिचित अनुहार हो । २०३६ सालको विद्यार्थी आन्दोलनमा होमिएका अशोक २०३८ सालमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा स्वतन्त्र विद्यार्थी युनियनमा निर्वाचित भए । २०४२ सालमा मब. क्याम्पस नेपालगन्जमा स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा निर्वाचित भएका उनी अनेरास्ववियु केन्द्रिय सदस्य भएर २ कार्यकाल पुरा गरे । कोइराला २०४६ सालको आन्दोलनमा सक्रियतापूर्वक होमिएका थिए ।

साविक एमालेमा लामो समयदेखि जिल्ला कमिटीमा संगठित कोइराला जनकार्यका लागि परिचित अनुहार हो । कोइरालाले २०६४ सालमा निर्वाचनमा पार्टीको पराजयपछि कठिन अवस्थामा जिल्ला नेतृत्व सम्हाल्ने पाएका थिए । २०७१ सालमा नेपालगञ्जमा भएको जिल्ला अधिवेशनमा कोइराला अध्यक्षमा विजयी भएका थिए । प्रष्ट वक्ता र व्यवस्थापकिय क्षमतामा निपूर्ण कोइराला नेकपालाई आगामी दिनहरुमा बाँकेमा स्थापित गराउनका लागि जिम्मेवारीपूर्वक आफु दत्तचित्त भएर लागिपर्ने बताउँछन् ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार १६:३२