सूचनाको शक्ति - The Power Of Information

        

पौडी पोखरी सुख्खा, निजीमा प्रतियोगिता

आठौं राष्ट्रिय खेलकूद

बाँके । आठौं राष्ट्रिय खेलकूद अन्तरगत आजदेखि पौडीका खेलहरु सुरु भएका छन् । तर, नेपालगन्ज रंगशाला परिसरमा निर्माण भएको पौडी पोखरी सुख्खा छ । जहाँ यसअघि पौडी प्रतियोगिता सञ्चालन गर्ने निधो गरिएको थियो । तर सम्भव नभएपछि प्रतियोगिता निजी पोखरीमा सुरु गरिएको छ ।

पौडीका खेलहरु आजबाट होटल सिग्नेट इन कृष्णाको पौडी पोखरीमा आजदेखि सुरु भएका छन् । रंगशाला परिसरमा निर्माणाधिन पोखरी सञ्चालनमा आउन नसकेपछि निजी पोखरीमा प्रतियोगिता सञ्चालन गर्नुपरेको हो । १६ लाख लिटर पानी आवश्यक पर्ने पोखरी अहिलेसम्म निर्माणकै क्रममा रहेको छ । पोखरीमा पानी भर्न सकिएको छैन ।

पोखरीको प्यारापिट स्तरोन्नतिको काम भइरहेको छ । आयोजकले भने अझै पनि प्रतियोगिताको फाइनल खेल यही पौडी पोखरीमा सञ्चालन गर्ने दावी गरिरहेको छ । तर, यही वैशाख ११ गते हुने फाइनल खेलसम्म पौडी पोखरीमा पानी भरेर प्रतियोगिता सञ्चालन सम्भव नभएको नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्य बताउँछन् ।

उनले भने, ‘यो काम फाइनलअघि सकिने सम्भावना निकै न्यून छ ।’ गएको बुधबारदेखि पानी भर्ने काम सुरु गर्ने भनिए पनि निर्माणको काम नसकिएपछि पोखरीमा हालसम्म पनि पानी भर्ने काम सुरु भएको छैन । १२ लाख लिटर क्षमता रहेको पौडी पोखरीमा हाल त्यहाँ रहेको बोरिङ्गबाट दैनिक २ लाख लिटर मात्रै पानी भर्न सम्भव छ ।

प्रदेश खेलकुद विकास समिति प्रदेश ५ का अध्यक्ष भीम ओलीले फाइनल खेल यही पोखरीमा सञ्चालन हुने दावी गर्दै भने, ‘अब दुई दिनभित्र हामी १२ लाख लिटर पानी भर्छौ । सुरुवाती चरणका खेलहरु होटल सिग्नेट इन कृष्णाको पौडी पोखरीमा आजदेखि सुरु भएका छन् । फाइनल खेल यही पौडी पोखरीमा हुन्छ ।’

नेपालगन्ज उपमहानगरपालिकाको व्यवस्थापनमा खानेपानी संस्थानले पौडी पोखरीको प्राविधिक जिम्मा लिएको उनले बताए । उनले भने, ‘पानी भर्ने काम बाँकी रहेकोले सुरुवाती चरणका खेल बाहिर गरिएका छन् । पोखरीमा आजैदेखि पानी भर्ने काम सुरु हुन्छ ।’ पोखरी निर्माणमा रु.१५ करोड खर्च भैसकेको छ ।

यता नेपाल पौडी संघका अध्यक्ष बज्राचार्यले भने अबका दुई÷तीन दिनमा १२ लाख लिटर पानी भर्न सम्भव नभएको बताए । उनका अनुसार अब यो पौडी पोखरीमा खेल सञ्चालन सम्भव नै छैन । राखेपले प्राथमिकतामा राखेको बताइरहँदा पौडी संघका पदाधिकारीहरुले भने झारा टार्ने काम भइरहेको बताउँदै आएका छन् ।

बाँके जिल्ला पौडी संघ अध्यक्ष गोवद्र्धन सिह सम्झनाले राखेपको लाहपर्वाहीका कारण समयमै पोखरी निर्माणको काम नसकिएको बताए । उनले भने, ‘जब प्रतियोगिता नजिकिन्छ अनि हतारमा काम गर्ने नेपालीको चलन नै भैसक्यो । राखेपकै लाहपर्वाहीले समयमै पौडी पोखरी बन्न नसकेको हो ।’

जसरी भए पनि प्रतियोगिता आयोजना गर्नैपर्ने अवस्था भन्दैमा विश्व पौडी संघको साधारण नियम नै पालना नगरी पौडी पोखरी तयार गरे र आयोजना गर्न नसकिने पौडी संघको भनाई छ । पौडी पोखरीमा मिटरलाई मात्र आधार मानेर कसरी अन्तर्राष्ट्रिय मापदण्डको मान्न नसकिने संघको भनाई छ ।

‘राष्ट्रिय प्रतियोगिता भए पनि विश्व पौडी संघको नियम मान्नैपर्छ, पौडी पोखरीमा अत्यावश्यक गट लाइनको व्यवस्था छैन भने पोखरीमा पानी र आवश्यक औषधि राखेपछि कम्तीमा एकसाता प्रतियोगिता आयोजना गर्न मिल्दैन, यस्तो पोखरीमा प्रतियोगिता सञ्चालन गर्न सकिँदैन,’ नेपाल पौडी संघका अध्यक्ष बज्राचार्यले भने ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतवार १२:४८