बाँके । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तरगत भोलीदेखि हुने भनिएको स्वीमिङ खेल अन्यौलमा परेको छ । नेपालगन्ज रंगशाला परिसरमा निर्माणाधीन स्वीमिङ पुल तयार नभएकाले पौडी खेल कहाँ हुने हो आजसम्म टुंगो लागेको छैन ।
स्वीमिङ पुलको प्याराफिट निर्माण चलिरहेको छ । वरिपरि फोहोरै फोहोर छ । निर्माणाधीन स्वीमिङ पुलमा कुनै पनि हालतमा प्रतियोगिता सञ्चालन गर्न नसकिने नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्य बताउँछन् । उनले अर्को स्वीमिङ पुलको खोजी भइरहेको जानकारी दिए ।
‘रंगशालामा अब सम्भावना छैन, यहाँ त हुँदैहुँदैन । यस्तो अवस्थामा कसरी स्वीमिङ गराउने ?’ प्रतियोगिताका लागि अन्यत्र ठाउँ तय होला ‘आठौंमा पौडी खेल हुन्छ, तर यो बन्दै गरेको स्वीमिङ पुलमा हुँदैन,’ उनले भने, ‘यहाँ सम्भावना नै छैन, २५ मिटरको स्वीमिङ पुल जहाँ छ त्यहाँ हुन्छ ।’
उनकाअनुसार प्रतियोगिता नेपालगन्जमै हुने तर ठाउँमात्रै परिवर्तन हुनेछ । निर्माणको जिम्मा लिएको निकाय र प्रतियोगिता आयोजकको ढिलासुस्ती र लापरवाहीले पूर्वाधार समयमै नबनेको उनको भनाई छ । ९ बर्षअघि शिलान्यास भएको पौडी पोखरी तत्कालिन राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव युवराज लामाका पालामा निर्माण कार्य सुरु गरिएको थियो ।
बाँके जिल्ला पौडी संघ अध्यक्ष गोवद्र्धन सिह सम्झनाले राखेपको लाहपर्वाहीका कारण समयमै पोखरी निर्माणको काम नसकिएको बताए । उनले भने, ‘जब प्रतियोगिता नजिकिन्छ अनि हतारमा काम गर्ने नेपालीको चलन नै भैसक्यो । राखेपकै लाहपर्वाहीका कारण समयमै पौडी पोखरी बन्न नसकेको हो ।’
प्रतियोगिताका लागि पौडी पोखरी निर्माण सम्पन्न गर्न लाहपर्वाही गरी प्रतियोगिता निजी होटलमा गर्ने तयारी गरिएको भन्दै नागरिकहरुले राखेपको आलोचना गरेका छन् । ‘नौं वर्षसम्म के हेरेर बसेका थिए, खेल पदाधिकारीहरु ?’ नेपालगन्ज–१९ का श्याम गिरीले आक्रोश व्यक्त गरे ।
आठौं होइन पहिले नै तयार हुनुपर्ने पोखरी निर्माणमा लाहपर्वाही गर्नेलाई कारबाही हुनुपर्ने उनको माग छ । उनले भने, ‘एक वर्षअघि पोखरी खनेको हो । तर एक वर्षसम्म पोखरीमा भ्यागुताले खेले । अहिले नीजि पोखरीमा प्रतियोगिता गराउनुपर्ने अवस्था आयो ।’
हालसम्म पौखरी निर्माणमा १५ करोड रकम खर्च भैसकेको छ । प्रदेश खेलकुद विकास समिति प्रदेश ५ का अध्यक्ष भीम ओलीले सुरुवाती चरणका खेलहरु होटल सिग्नेट इन कृष्णाको पौडी पोखरीमा गरिने बताए ।
उनले भने, ‘यहाँ हामीले भोलीदेखि पानी भर्न सुरु गर्छौ, सुरुवाती तरणका केही खेलहरुका लागि कृष्णाको पौडी पोखरी आजै बुक गरेका छौं ।’ नेपालगन्ज उपमहानगरपालिकाको व्यवस्थापनमा खानेपानी संस्थानले पौडी पोखरीको प्राविधिक जिम्मा लिएको अध्यक्ष वलीले बताए ।
सत्यपाटी - ।