
बाँके । तराईमा गर्मी बढिसकेको छ । यतिवेला नेपालगन्जको तापक्रम ३५ डिग्री सेल्सियससम्म पुगेको छ । तर पनि गर्मीको प्रवाह नगरी खेलाडी आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएका छन् ।
नेपालगन्ज मुलुककै गर्मीको ठाउँको रुपमा चिनिन्छ । गर्मीमा खेलाडीले प्रतियोगितामा खेल्न नसक्ने कि भन्ने आयोजकलाई डर रहेको थियो । तर गर्मीलाई कुनै वास्ता नै नगरी खेलाडी प्रतियोगितामा सहभागी भएको प्रदेश खेलकुद विकास समिति प्रदेश नं. ५ का अध्यक्ष भीम ओलीले बताए ।
गर्मीले गर्दा खेलाडीहरु प्रतियोगितामा सहभागी हुन सक्दैनन् कि भन्ने चुनौति सकिएको अध्यक्ष वलीले बताए । उनले भने, ‘गर्मीलाई वास्ता नै नगरेर खेलाडीहरु खेल मैदानमा उत्रिएका छन् । गर्मीका कारण कुनै पनि खेलाडी अनुपस्थित हुनुभएको छैन ।’
सातौँमा बाँकेबाट प्रतिष्पर्धा गर्दै एथलेटिक्समा स्वर्ण पदक विजेता विश्वरुपा बुढाका अनुसार खेलाडीहरुमा गर्मीको कुनै प्रवाह देखिएको छैन । उनले भनिन्, ‘गर्मीकै कारण खेलाडीले खेल खेल्न नसक्ने कि हुन भन्ने डर थियो । प्रतियोगितामा खेलाडीको उपस्थितिले त्यो आशंकालाई हटाइदियो ।’
प्रतियोगिता ३३ बर्षमा पहिलो पटक निरन्तरता भएकोले खेलाडी उत्साही भएकोले गर्मीलाई खेलाडीले कुनै प्रवाह नगरेको उनले जानकारी गराए । खेलाडीलाई अहिले गर्मीसँग कुनै सरोकार नभएको उनको भनाई छ ।

‘हामीले गर्मीले असर गर्ने गरी कुनै खेल खेलाएका छैनौं । केही खेल गर्मीमा भए पनि त्यसको प्रवाह खेलाडीमा परेको छैन,’ उनले भने, ‘खेलाडी दुई/दुई बर्षमा हुने प्रतियोगिताको निरन्तरता र नयाँ भौतिक संरचनामा खेलेको हुनाले गर्मीप्रति खेलाडीको कुनै सरोकार छैन ।’
उनका अनुसार राष्टिय खेलकुद परिषद्ले गर्मीलाई मध्यनजर गरी दिउसो खेलाउने खेल विहान र साँझ खेलाइएको छ । गर्मी नै हुने भएपछि मैदानमा खेलाइने खेल राती बक्सिङ्ग र भलिवल राती खेलाइएको समितिका अध्यक्ष ओलीले बताए ।
प्रतियोगितामा आफ्नो प्रतिभा देखाउन पाउनु नै खेलाडीका लागि ठूलो अवसर रहेकाले पनि खोलाडीहरु गर्मीको प्रवाह नगरेरै मैदानमा उत्रिएका छन् । यो नै खेलाडीहरुको लागि ठूलो सफलता भएको बुढाको भनाई छ । उनले भने, ‘गर्मी नै भए पनि प्रतिभा देखाउन पाइने भएपछि खेलाडीहरु अनुस्थित हुनुभएको छैन ।’
‘खेलाडीका लागि प्रतियोगिता हुनु ठूलो कुरा हो, घाम, पानी, चिसो जस्तोसुकै मौसममा पनि खेल्नु सक्नुपर्छ,’ एथ्लेटिक्सका प्रशिक्षक चन्द्रबहादुर गुरुङले भने, ‘गर्मीमा पनि खेलाडीहरुमा उत्साह देखिएको छ । यो नै खेलाडीका लागि अर्को सफलता हो ।’ प्रतियोगिताले नै खेलाडीको भविष्य निर्धारण गर्ने गर्मीले कुनै असर नगरेको उनले बताए ।
प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेपछि झनै खेलाडी उत्साहित भएका छन् । यसअघि २०५५ सालमा प्रतियोगिता नेपालगन्जमा भएको थियो । एकाध घटनाबाहेक प्रतियोगिताका सबै राम्रोसँग सञ्चालन भएका छन् । नेपालगन्जमा ३५ मध्ये १७ वटा प्रतियोगिता सञ्चालन भइरहेका छन् ।
सत्यपाटी - ।