
शरद शर्मा/काशीराम शर्मा । बाँके । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्य समारोहबीच आज औपचारिक उद्घाटन हुँदैछ । प्रतियोगिता विभिन्न खेलहरु गत चैत्र २७ गतेदेखि नै जारी रहेपनि औपचारिक उद्घाटन आज साँझ ६ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् । २०३८ सालदेखि शुरु भएको प्रतियोगिताको आठौ संस्करणको रुपमा नेपालगंजमा हुन थालेको हो ।
नेपालगंजमा दोस्रो पटक हुन थालेको प्रतियोगिताले नेपालगंज उल्लासमय बनाएको छ । यसअघि नेपालगंजमा २०५५ सालमा चौथो राष्ट्रिय खेलकुद भएको थियो । ‘आठौ राष्ट्रिय खेलकुद, हाम्रै प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’ भन्ने मूल नाराका साथ नेपालगंजस्थित महेन्द्र रंगशालामा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले प्रतियोगिताको उद्घाटन गर्नुहुने छ ।
राष्ट्रपति भण्डारीले उद्घाटन गरेको प्रतियोगिताको समापन प्रधानमन्त्री केपी शर्माओलीले यहि वैशाख ११ गते नेपालगंजमा गर्नुहुने छ । प्रतियोगिताको उद्घाटन गर्न राष्ट्रपति भण्डारी दिउँसो नेपालगंज आइपुग्ने हुने छ । उद्घाटन समारोहमा सहभागि हुन युवा तथा खेलकुद मन्त्री जगतवहादुर विश्वकर्मा, शहरी विकास मन्त्री मो.इस्तायक राई, प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेले नेपालगंज आइपुगेका छन् ।
आठौं प्रतियोगिता उद्घाटनको पूर्व सन्ध्यामा रहेको उल्लेख गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव केशवकुमार विष्टले बृहत प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए । ‘हामी प्रतियोगितालाई ऐतिहासिक बनाउनका लागि सवै तयारी पुरा गरिसकेका छौं,’ उनले भने, ‘प्रतियोगिता केहीदिन अघिदेखि शुरु भएपनि आज राष्ट्रपति भण्डारीबाट भव्य समारोहबीच उद्घाटन गर्नेछौं । आठौं खेलकुद पूर्वाधारका हिसाबले अहिलेसम्मकै ऐतिहासिक हुनेछ ।’
उद्घाटन समारोहमा विभिन्न भाषा, कला संस्कृति, भेषभुषामा खेलाडी सहभागि हुनेछन् । राखेपले प्रत्येक दुई–दुई बर्षमा आयोजना गर्ने प्रतियोगितालाई पहिलो पटक निर्धारित समयमा नै सम्पन्न गर्न थालेको छ । उनले भने, ‘३७ वर्षको बृहत खेलकुदको इतिहासमा सुरुका तीन संस्करणबाहेक बृहत राष्ट्रिय खेलकुद ३३ बर्षपछि निर्धारित अवधिमै हुन लागेको छ । यो परिस्थितिको अन्त्य गर्ने मान्यताका साथ हामीले सातौंको समापनपछि आठौंको तयारीमा गम्भीरतापूर्वक जुटेका थियौ ।’
उनका अनुसार प्रतियोगिताको लागि भौतिक संरचनाको काम सकिएको छ । प्रतियोगिताका लागि भिआइपी प्याराफिटको निर्माण अन्तिम चरणमा पुगेको छ । नेपालमा नै पहिलो पटक प्रतियोगिताका लागि अत्याधुनिक प्याराफिट निर्माण गरिएको छ । उद्घाटन समारोहमा सहभागि हुन खेलाडी नेपालगंज आउने क्रम जारी रहेको छ । प्रतियोगिता नेपालगन्जसहित वर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र केही प्रतियोगिता काठमाडौ, ललितपुर र पोखरामा भइरहेका छन् ।
विभिन्न ठाउँमा प्रतियोगिता भएपनि उद्घाटन समारोहमा सहभागि हुन सवै खेलाडी, प्रशिक्षक, खेलपदाधिकारी नेपालगंज आएका छन् । ३५ खेल समावेश रहेको प्रतियोगितामा २ हजार ८२५ पुरुष तथा २ हजार ३८६ महिला खेलाडी सहभागी छन् । प्रदेश नं. ५ का प्रदेश खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले ऐतिहासिक शहर नेपालगंजलाई अहिले प्रतियोगिताले उत्सवमय बनाएको बताए ।
‘पहिलेभन्दा यो प्रतियोगिता ऐतिहासिक हुँदैछ । प्रतियोगिता ऐतिहासिक भएकोले मुलुकको ध्यान नै केन्द्रीत भएको छ,’ उनले भने, ‘आफ्नै घर आगनमा हुँदा यहाँका स्थानीयमा खुशीयाली छाएको छ ।’ उनले प्रतियोगिताले सङ्घीय संरचना अनुसार मुलुकलाई पहिलो पटक एकै ठाउँमा उभ्याउने समेत बताए । ‘संघीय संरचनामा मुलुक गइसकेपछि यतिधेरै सवै जिल्लाका मानिसहरुको सहभागिता रहेका थिएन,’ उनले भने, ‘प्रतियोगितामा सवै जिल्लाबाट अतिथि, खेलाडी आउने भएकोले मुलुक संघीय संरचनामा भएपनि धेरै मानिस एकै ठाउँमा हुने छन् ।’
प्रतियोगिताले गर्दा अहिले नेपालगंज दुलहीजस्तै सिगारिएको छ । प्रतियोगितामा सहभागि हुन आउने विशिष्ट अतिथि, खेलाडी, प्रशिक्षकलाई स्वागत गर्नका लागि सय भन्दा बढी गेट निर्माण छन् । नेपालगंज विमानस्थलदेखि प्रतियोगितास्थल महेन्द्र रंगशालासम्ममा विभिन्न व्यानर, गेट रहेका निर्माण गरिएका छन् । बजारको मुख्य चोक पुष्पलाल चौक, धम्बोजी चौक, विपी चौक र त्रिभुवन चौक गेट र व्यानरले सजिएका छन् ।
प्रतियोगितालाई सफल बनाउन यहाँका सरकारी निकाय, स्थानीय तह,स्थानीय राजनीतिक दल, गैरसरकारी संस्था लागिपरेका छन् । आठौं राष्ट्रिय खेलकुदमा खेलाडी, प्रशिक्षक, व्यवस्थापक, प्राविधिक गरी करिब दश हजार जनाको प्रत्यक्ष सहभागिता रहने छ । पूर्व मेचीदेखि पश्चिम महाकाली, हिमालदेखि तराइसम्मका खेलाडीहरु सात प्रदेश, तीन विभागीय र एक गैरआवासीय नेपाली संघ (एनआरएन) गरी ११ टिमबाट एकैपटक एकै थलोमा जमघट हुने एक महत्वपूर्ण मञ्च भएको राखेप सदस्य सचिव बिष्ट बताए ।
यसैगरी पहिलो पटक प्रतियोगितामा सातदेशका खेलाडीसमेत सहभागि भएका छन् । अष्ट्रेलिया, अमेरिका, मकाउ, दुवई, हङ्कङ, क्यानडा र मलेसिलाका २५ जना खेलाडी सहभागि हुँदैछन् । बिभिन्न जातजाति र धर्मप्रति आस्था राख्ने नेपालीलाई भावना साटासाट गर्ने, आपसी भाइचारा र मित्रता प्रगाढ बनाउने अवसरको रुपमा बृहत खेलकुद भएको सदस्य सचिव बिष्टको भनाई छ । उनले भने, ‘खेलकुदले जात, धर्म, भाषा र सांस्कृतिक विभेद गर्दैन । तसर्थ यो देश र समाज जोड्ने सशक्त माध्यम हो । अन्तर्राष्ट्रिय मञ्चमा देश चिनाउने विधा हो ।’
शरद शर्मा/काशीराम शर्मा - ।