सूचनाको शक्ति - The Power Of Information

        

आठौँ राष्ट्रिय खेलकुद : भव्य समारोहबीच राष्ट्रपतिले आज औपचारिक उद्घाटन गर्दै

बाँके । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्य समारोहबीच आज औपचारिक उद्घाटन हुँदैछ । प्रतियोगिता विभिन्न खेलहरु गत चैत्र २७ गतेदेखि नै जारी रहेपनि औपचारिक उद्घाटन आज साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछन् ।

आठौं प्रतियोगिता उद्घाटनको पूर्व सन्ध्यामा रहेको उल्लेख गर्दै राखेप सदस्य सचिव केशव कुमार विष्टले बृहत प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए । प्रतियोगिता अवधिभर कुनै पनि बन्द, हड्तालका कार्यक्रम नगर्न आग्रह गरेका छन् ।

उनले भने, ‘आठौंको अवधिभर बन्द र हड्तालका कुनै पनि कार्यक्रम नगर्न हामीले सबैलाई अपिल गरेका छौं । बन्द, हड्तालका पूर्वनिर्धारित कार्यक्रम भए फिर्ता लिई आम खेलाडीको भावनालाई कदर गर्न अपिल गरेका छौं ।’

‘खेलाडीका लागि राष्ट्रिय टिममा छनोट हुने एउटा अवसर पनि हो,’ राखेपले भनेको छ, ‘नेपालमै यसै बर्ष हुने दक्षिण एशियाली खेलकुद (साग)को छनोट प्रतियोगिताका रुपमा रहेको हुँदा हजारौं खेलाडीको खेल्न पाउने अधिकारलाई कहींकतैबाट अवरोध नगरिदिन सबै पक्षसँग हार्दिक अपिल गर्दछौं ।’

पूर्व मेचीदेखि पश्चिम महाकाली, हिमालदेखि तराइसम्मका खेलाडीहरु सात प्रदेश, तीन विभागीय र एक एनआरएनए गरी ११ टिमबाट एकैपटक एकै थलोमा जमघट हुने एक महत्वपूर्ण मञ्च भएको राखेप सदस्य सचिव बिष्ट बताए ।

उनले भने, ‘३७ वर्षको बृहत खेलकुदको इतिहासमा सुरुका तीन संस्करणबाहेक बृहत राष्ट्रिय खेलकुद ३३ बर्षपछि निर्धारित अवधिमै हुन लागेको छ । यो परिस्थितिको अन्त्य गर्ने मान्यताका साथ हामीले सातौंको समापनपछि आठौंको तयारीमा गम्भीरतापूर्वक जुटेका थियौ ।’

बिभिन्न जातजाति र धर्मप्रति आस्था राख्ने नेपालीलाई भावना साटासाट गर्ने, आपसी भाइचारा र मित्रता प्रगाढ बनाउने सूवर्ण अवसर बृहत खेलकुद भएको सदस्य सचिव बिष्टको भनाई छ । उनले भने, ‘खेलकुदले जात, धर्म, भाषा र सांस्कृतिक विभेद गर्दैन । तसर्थ यो देश र समाज जोड्ने सशक्त माध्यम हो । अन्तर्राष्ट्रिय मञ्चमा देश चिनाउने विधा हो ।’

३५ खेल समावेश रहेको आठौंमा २ हजार ८२५ पुरुष तथा २ हजार ३८६ महिला खेलाडी सहभागी छन् । आठौं राष्ट्रिय खेलकुदमा खेलाडी, प्रशिक्षक, व्यवस्थापक, प्राविधिक गरी करिब दश हजार जनाको प्रत्यक्ष सहभागिता रहेको राखेपले जनाएको छ । आठौं खेलकुद पूर्वाधारका हिसाबले अहिलेसम्मकै ऐतिहासिक भएको राखेपले जनाएको छ ।

५० मिटर लम्बाइको पौडी पोखरीमा सम्बन्धित प्रदेशमै प्रतियोगिता हुनु, उपत्यका बाहिर सिन्थेटिक ट्रयाकमा एथलेटिक्स हुनु, नेपालमै अत्याधुनिक प्यारापिट निर्माण गरिनु, प्रायजसो हरेक खेलको आफ्नै पूर्वाधारमा प्रतियोगिता हुनु, बाध्यतावश विदेशिएका खेलाडीलाई प्रतिभा देखाउने अवसर दिन पहिलोपटक एनआरएनए टिमलाई सहभागी गराउनु प्रतियोगिताको महत्वपूर्ण पक्ष भएको राखेपले बताएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार ०६:०७