सूचनाको शक्ति - The Power Of Information

        

बाँके निकुञ्जका वन्यजन्तुलाई पानी अभाव

बाँके । पानी नभएकाले बाँके राष्ट्रिय निकुञ्जका जनावरलाई समस्या छ । बाघ बस्ने क्षेत्र विस्तार गर्न ९ बर्षअघि बनाइएको राष्ट्रिय निकुञ्जमा बाघको संख्या २१ नाघिसकेको छ । निकुञ्जमा जङ्गली हात्ती पनि त्यहाँ आउने गर्छन् । पानीमा पौडिन रुचाउने उनीहरूका लागि खोला, ताल, पोखरी र सिमसार भने छैनन् ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मी पौडिन मात्रै नभएर त्यहाँ पिउने पानीकै समस्या रहेको बताउँछन् । पानी नहुँदा निकुञ्जबाट जनावरहरू बाहिर निस्कने भएकाले मानवीय क्षतिसँगै जनावर मारिने गरेको रेग्मी बताउँछन् । निकुञ्जमा बाघ र हात्तीसहित चित्तल, जरायो, लगुना, बँदेल, नील गाई, चितुवा, भालु लगायतका जनावर छन् ।

पौडी नखेल्ने जनावरलाई पनि पिउने पानी पर्याप्त चाहिन्छ । तर, ५५० वर्गकिलोमिटरको निकुञ्जमा २६ वटा कृत्रिम पानीका पोखरी निर्माण भएका छन् । जहाँ हिउँदमा पानी हुँदैन । निकुञ्जका अनुसार, १० वर्गकिलोमिटर क्षेत्रमा एउटा पानीको स्रोत आवश्यक पर्ने हुँदा निकुञ्जमा कम्तीमा ५५ पोखरी चाहिन्छ । जसमा बाह्रै महीना पानी हुनुपर्छ ।

निकुञ्ज भएर बग्ने सिक्टा सिंचाइको नहर वन्यजन्तुले पानी पिउन सक्ने प्रकारको छैन । जसका कारण पानी पिउन नहर पसेका चित्तल डुबेर मर्ने गरेको निकुञ्जले जनाएको छ । प्रमुख संरक्षण अधिकृत रेग्मी जनावरले पानी पिउन सक्ने संरचना नहरमा बनाउन निकुञ्जले सिंचाइ आयोजनासँग मिलेर अध्ययन गरिरहेको बताउँछन् ।

पानी खोज्न गाउँ पुगेका कैयौं चित्तल मानिसको आक्रमणले घाइते भएको पनि उहाँको भनाइ छ । राप्ती नदीको केही भाग निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ भने निकुञ्जको सीमामा बबई नदी छ । बबईमा निर्माण भइरहेको भेरी डाइभर्सनबाट निकुञ्जमा पानी ल्याउने सम्भावना छ । निकुञ्जभित्र खहरे खोलाहरू मात्र रहेकाले पानीको अरू स्रोत देखिंदैन ।

निकुञ्जका अनुसार करिब ६० प्रतिशत भूभाग भावर र चुरे क्षेत्रमा पर्दछ । वर्षायाममा बाहेक अन्य सिजनमा पनि पानीको अभाव हुने गरेको निकुञ्जले जनाएको छ । निकुञ्जका अनुसार भावर क्षेत्रमा पानी सोस्ने र चुरे क्षेत्रमा मुहान भेटिए पनि जनावरको उपस्थिति नहुने भएकाले समस्या छ । अधिकांश वन्यजन्तुको बासस्थान भावर क्षेत्रमा रहेको निकुञ्जले जनाएको छ ।

निकुञ्जमा खानेपानीको भरपर्दो स्रोत नहुँदा सुख्खायाम सुरु भएसँगै वन्यजन्तुका लागि पानीको समस्या चुलिँदै जाने गर्छ । निकुञ्जले वन्यजन्तुको खानेपानी सुविधाका निर्माण गरेका तीन वटा पोखरी सुकेका छन् भने अन्य पोखरीमा पानीको मात्रा घट्दै जान थालेको छ । वन्यजन्तुको मृत्यु हुने कारणमा पानीको अभाव पनि रहेको निकुञ्जका कर्मचारीहरुको भनाई छ ।

प्रमुख संरक्षण अधिकृत रेग्मीले भने, ‘प्राकृतिकरुपमा रहेका पानीका मुहानको पानीभण्डारण गरी पोखरी निर्माण गरिएको हो । तर पानीको पर्याप्त स्रोत नहुँदा तीनवटा पोखरी सुकिसकेका छन् । अन्यमा पनि पानीको सतह घट्दै गएको छ । पानीका लागि राजमार्ग क्षेत्र छिचोलेर वन्यजन्तुहरू राप्ती नदीमा जाँदा दुर्घटनामा परी मर्ने गरेका छन् ।’

निकुञ्ज क्षेत्रमा ७५ किलोमिटर राजमार्ग रहेको र पानी पिउन राजमार्ग हुँदै राप्ती नदीमा पुग्ने वन्यजन्तुहरुको सडक दुर्घटनामा परेर मृत्यु हुने गरेको छ । निकुञ्जका अनुसार गत बर्ष ७२ वटा वन्यजन्तुको मृत्यु भएको थियो भने यस बर्ष ३६ को मृत्यु भएको छ । पानीकै समस्याले वन्यजन्तुहरु मध्यवर्ती क्षेत्रमा पस्ने र स्थानीयको अन्नबालीमा क्षति पुर्याउन थालेका छन् ।

वर्षामा उर्लने खहरे खोलाहरूमा हिउँदमा पानी हुँदैन । सिमसार संरक्षण गर्ने तथा वर्षाको आकाशे र खहरे खोलाको पानी जोगाउने उपायतर्फ निकुञ्जले सोच्नुपर्ने देखिन्छ । कृतिम पोखरी निर्माण गरेर पानी जम्मा गर्ने प्रयास सुरु गरिएको भए पनि त्यो पर्याप्त छैन । त्यसैले, पोखरी बनाउन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग नै अघि सर्नुपर्ने देखिन्छ ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार १३:०७