बाँके । भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ उदघाटनका लागि मंगलबार नेपालगन्ज हुँदै सुर्खेत पुगेका प्रधानमन्त्री केपी शर्मा ओली मौसम खराबीका कारण श्री एयरलाइन्सको विमान चल्न नसकेपछि नेपाली सेनाको ब्यारेकमा बास बसेका छन् ।
सुर्खेतको भेरीगंगा नगरपालिकामा भेरी बबईको सुरुङ ‘ब्रेक थ्रु’ गरिसकेपछि प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो सिक्टा सिँचाई आयोजनाको हवाई निरीक्षण गरेका थिए । प्रधानमन्त्री ओलीसहितको टोली नेपालगन्ज विमानस्थलबाट हेलिकोप्टर चढेर सुर्खेत पुगेको थियो । सुर्खेतबाट नेपालगन्ज फर्किइसकेपछि प्रधानमन्त्री ओलीले उपमहानगरपालिकाभित्र खोलिएको होटल सोल्टीको उदघाटन गरे ।
प्रधानमन्त्री ओली मंगलबार नै काठमाडौं फर्किने कार्यक्रम थियो । तर, काठमाडौंबाट नेपालगन्जतर्फ उडेको विमान मौसमको खराबीका कारण नेपालगन्जमा बस्न नसकी आकाशबाटै काठमाडौं फर्कियो । विमान नआएपछि प्रधानमन्त्री नेपालगन्जस्थित सेनाको ब्यारेकमा बास बसेका थिए ।
नेपाली कांग्रेस ‘घण्टाकर्ण’ जस्तो भयो
प्रधानमन्त्री ओलीले बाँकेमा नेकपाका अगुवा कार्यकर्ताहरुलाई सम्वोधन गरेका छन् । यसक्रममा प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई ‘घण्टाकर्ण’ जस्तै भएको आरोप समेत लगाए । उनले कांग्रेसलाई यसअघि ‘नन्दीभृंगी’को उपमा दिएका थिए ।
कांग्रेसका नेताले प्रधानमन्त्रीको भाषण आउँदा टीभी बन्द गर्छु भनेको सन्दर्भ कोट्याउँदै प्रधानमन्त्री ओलीले प्रतिपक्षी दलको खरो आलोचना गरे । कांग्रेसले अरुका कुरा नसुनियोस् भनेर कानमा ठुल्ठुला घण्ट झुन्ड्याएर हिँडेको प्रधानमन्त्री ओलीले बताए । आफ्ना कार्यकर्तालाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी एकता प्रक्रिया अब चाँडै टुंगो लाग्ने आश्वासन समेत दिए ।
सत्यपाटी - ।