सूचनाको शक्ति - The Power Of Information

        

स्वस्तिकाको हत्या कि आत्महत्या, माइती पक्ष भन्छ, ‘मृत्युमा श्रीमानको संलग्नता’

बाँके । नेपालगन्ज उपमहानगरपालिका–१० भृकुटीनगरकी १९ बर्षीय स्वस्तिका लिम्बुको मृत्युपछि उनको हत्या भएको हो या आत्महत्या भन्ने तर्क वितर्क सुरु भएको छ । विवाह भएको ६ महिनामै स्वस्तिकाको मृत्यु भएपछि माइती पक्षले हत्या भएको दावी गरिरहेका छन् । माइती पक्षले श्रीमानविरुद्ध किटानी जाहेरीसमेत दिएका छन् ।

श्रीमानले नै हत्या गरेको भन्दै कारवाहीको माग गरिरहेका माइती पक्षले नेपालगन्जमा प्रदर्शन गरेसँगै जिल्ला प्रहरी कार्यालय बाँकेमा आज तनाव भएको छ । नयाँ वर्षकै दिन आइतवार दिउँसो करिब ३ बजे स्वस्तिका पंखामा झुण्डिएको अवस्थामा भेटिएको घरवालाहरुको भनाई छ । तर, प्रहरी पुग्दा भने स्वस्तिकाको शव खाटमा पाइएको थियो ।

राँझामा रहेका माइती पक्षले स्वस्तिकाको हत्या भएको भन्दै कारवाहीको माग गर्दै जिल्ला प्रहरीमा आएर प्रदर्शन गरिरहेका छन् । करिव दुईसय बढीको संख्यामा आएका उनीहरुले धम्बोझी चोकदेखि खजुरा रोडस्थित जिल्ला प्रहरी कार्यालयसम्म प्रदर्शन गरेका हुन् । गत कार्तिक ५ गते भृकुटीनगरकै २० बर्षीय मुकेश बुढाक्षेत्री (आशिष)सँग प्रेम विवाह गरेकी लिम्बुको मृत्युलाई माइती पक्षले हत्या भनेको छ । तर, घरपक्षले भने आत्महत्या ।

माइती पक्षले श्रीमानले नै स्वस्तिकाको हत्या गरेको दावी गरेको छ । श्रीमानले पटकपटक स्वस्तिकालाई कुटपिट गर्ने गरेको माइती पक्षको भनाइ छ । ‘नयाँ बर्षको दिन विहान छोरीले माइत आउँछु भनेको र मध्यान्ह श्रीमानले आउन नदिएपछि छोरीले आउन पाउदिन भनेर फोन गरेकी थिइन्,’ आमाले भनिन्, ‘त्यसपछि छोरीको मोवाइल अफ भएको छ । छोरीले आत्महत्या गरेकी होइनन्, हत्या गरिएको हो ।’

लिम्बुको शरीरमा कुटपिटको नीलडाम देखिएको दाबी गर्दै माइती पक्षले उनको श्रीमानमाथि कारबाही गर्न प्रहरीसमक्ष आग्रह गरेको छ । पीडितहरुले प्रहरी प्रशासनले दोषीलाई उम्काउन खोजेको आरोप पनि लगाएका छन् । तर बाँकेका एसपी अरुण पौडेलले आशिषलाई पक्राउ गरी अनुसन्धान सुरु गरिसकेको जानकारी दिए । हत्या हो वा आत्महत्या भन्ने अनुसन्धान भइरहेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले बताए ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलवार १६:५७