सूचनाको शक्ति - The Power Of Information

        

स्वस्तिकाको हत्या कि आत्महत्या, नेपालगन्जमा गरियो प्रदर्शन

बाँके । नेपालगन्ज उपमहानगरपालिका १० भृकुटीनगरकी १९ बर्षीय स्वस्तिका लिम्बुको हत्यारालाई कारवाहीको माग गर्दै आज नेपालगन्जमा प्रदर्शन गरिएको छ । करीब ६ महिनाअघि प्रेमविवाह गरेकी स्वस्तिकाको मृत्यु रहस्यमय भएको भन्दै परिवारले हत्यारामाथि कारवाहीको माग गर्दै माइती पक्षले नेपालगन्जमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले धम्बोझी चोकदेखि खजुरा रोडस्थित जिल्ला प्रहरी कार्यालयसम्म प्रदर्शन गरेका हुन् । प्रदर्शनमा करीब पाँच सय जनाको सहभागिता थियो । लिम्वु आइतवार घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । मुकेश भन्ने आयुष बुढाक्षेत्रीसँग प्रेमविवाह गरेकी लिम्बुको श्रीमानले नै हत्या गरेको माइती पक्षको आरोप छ ।

लिम्बुको शरीरमा कुटपिटको नीलडाम देखिएको दाबी गर्दै माइती पक्षले उनको श्रीमानमाथि कारबाही गर्न प्रहरीसमक्ष आग्रह गरेको छ । हत्या हो वा आत्महत्या भन्ने अनुसन्धान भइरहेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले बताए । मृतक स्वस्तिकाका माइती पक्षले मुकेशविरुद्ध किटानी जाहेरी दिएको र दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलवार १६:०७