सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्री ओलीले उद्घाटन गर्दै पूर्वराजा ज्ञानेन्द्रको होटल सोल्टी वेस्टेण्ड

बाँके । पूर्वराजा ज्ञानेन्द्र शाहको लगानीमा नेपालगन्जमा सञ्चालनमा आएको होटल सोल्टी वेस्टेण्ड प्रिमियरको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ बैशाख ३ गते मंगलबार उद्घाटन गर्ने भनि होटल सोल्टीको व्यवस्थापनले निमन्त्रणा कार्डसमेत वितरण गरेको छ ।

काठमाडौंमा होटल सोल्टी क्राउनप्लाजा सञ्चालन गरिरहेको सोल्टी होटल लिमिटेडकै लगानीमा नेपालगन्जमा उक्त होटल सञ्चालनमा आएको हो । ‘सोल्टी वेस्टेन्ड प्रिमियर’ को नामबाट सञ्चालित उक्त होटलको स्वामित्व सोल्टी इन्टरप्राइजेज र एनई ग्रुपको संयुक्त कम्पनी सिबक्रिम होटल एण्ड रिसोर्ट प्रालिमा रहेको छ । २०२२ मा तत्कालिन युवराज हिमालय शाहले सोल्टी होटल स्थापना गरेका थिए ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका भुजई गाँउमा सन् २०१४ देखि निर्माण सुरु भएको उक्त होटलको नेपाली कम्पनी हिमालयन बिल्डर्सले भौतिक निर्माणको काम गरेको थियो । सोल्टी होटल लिमिटेडमा पूर्वराजा ज्ञानेन्द्रको लगानी रहेको छ । उक्त होटलले अहिले ५० कोठामात्र बिक्रीमा राखेको होटलका प्रबन्ध निर्देशक इन्द्र खड्का बताउँछन् । ८४ कोठा भएकोमा स्वीट रूमलाई घटाउँदा ८१ व्यवसायिक कोठा रहेका छन् ।

वातावरणीय अनुकुल हुनेगरी निर्माण गरिएको र क्लासिक डिजाइनको साजसज्जासहित नेपाली ब्राण्ड र सोल्टीको आफ्नै व्यवस्थापनमा सञ्चालन हुने प्रालीका अध्यक्ष दिनेशबहादुर विष्ट बताउँछन् । खड्काका अनुसार होटलका कोठामा एसीको ठाउँमा रेडियण्ड प्रविधि प्रयोग गरिएको छ । जसमा सिलिङमा मसिना पाइप टासिएको हुन्छ जुन एउटा प्रणालीमा आबद्ध हुन्छ । जाडो महिनामा उक्त पाइपको सञ्जालबाट तातो पानी प्रवाह हुन्छ भने गर्मीमा चिसो पानी आउछ । होटल सञ्चालनको सुरूमै १५० जनाभन्दा बढीले रोजगारी पाउने खड्काले बताए ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार १५:५५