जाजरकोट । अहिलेको समय बास्तवमै प्रतिस्पर्धात्मकरुपमा दौडिरहेको छ । यस्तो तीब्र प्रतिस्पर्धात्मक समयमा कुनै पनि ब्यवसाय गर्दा राम्ररी सोचेर मात्र गर्नुपर्ने देखिन्छ । नत्र फुर्सदमा पछुताउनुबाहेक विकल्प छैन । अहिले प्रायः मानिसहरु स्वास्थ्य र शिक्षामा पैसा सजिलै कमाउन सकिन्छ भन्ने धारणा राख्छन् । तर, सोच्नु र ब्यवहारमा लागु गर्नु फरक कुरा हो ।
स्वास्थ्यमा लगानी गर्ने होड चलेको छ, हिजो आज । टोलटोलमा औषधी पसल, पोलिक्लिनिकदेखि अस्पतालसम्म खुल्दै छन् । अहिले मध्यम पुँजी भएकाहरु फार्मेसी खोल्न हौसिएका छन् । कतिले अरुले गरेको देखासिकीमा त कतिले फार्मेसी सम्बन्धी अध्ययन गरेको कारणले गर्दा यसतर्फ लागेका छन् । औषधी मानिसको स्वास्थसँग प्रत्यक्ष गाँसिएको हुन्छ ।
सानो मात्र गल्तीले ठूलो समस्या पनि आउन सक्छ । अहिले सरकारले आवश्यक परामर्श नगरी औषधी बिक्री नगर्ने पनि निति ल्याएको छ । तर, जाजरकोटको पश्चिम थलह क्षेत्रमा रहेका सतप्रतिशत खुद्रा तथा होलसेल औषधी पसलहरू सिएमए अध्ययनरत व्यक्ति र दादागिरीका भरमा चलेका छन् । कतिपयले यहाँ अरूको देखासिकीमा अनुभव बिना मापदण्ड विपरित मेडिकल चलाएका छन् ।
चिकित्सकले दिएको पर्चाको आधारमा औषधी बिक्री गर्ने हो । तर, थलह क्षेत्रका औषधी पसललाई चिकित्सकको पर्चा चाहिँदैन । सिएमए पढेको व्यक्ति आफैलाई सबै रोगको बिज्ञ चिकित्सक सम्झने यो यहाँको पुरनै चलन रहेछ । दक्ष चिकित्सक बिना यहाँका क्लिनिक आफुखुशी चलिरहेको थलहमा रहेको स्मारिका हस्पिटलका भीम महतरा बताउँछन् । उनले भने, ‘जो सिएमएको भरमा ।’
यहाँका अधिकांश औषधी पसलमा सिएमए मात्रै पढेका व्यक्ति आफै बिज्ञ चिकित्सक बनिरहेका छन् । यहाँका सतप्रतिशत मेडिकल गैरकानूनी र मापदण्डविहीन छन् । यस्ता व्यक्तिले खुद्रा पसलमा चकलेट बेचेझै गरी आफूखुशी औषधी बेचेर जनजीवन माथि खेलवाड गर्दै आएको सिएमए बबिता रावतले बताइन् । औषधी पसलहरुमा अनुमती नलिएरै विरामी जाँच गर्ने गरेको खुलासा भएको छ ।
अनाधिकृत रुपमा विरामी जाँच गरी जथाभावी औषधी प्रयोग गर्ने गरेको महतरा बताँउछन् । औषधी व्यवस्था विभागसँग अनुमति नलिएरै विक्री वितरण गर्न प्रतिवन्ध लगाएका औषधिसमेत खुलेयाम बिक्री वितरण भएका छन् । औषधी पसल सञ्चालकले अधिकार नै नपाएको सुत्केरी सेवा, गभवती सेवा, दाँत निकाल्ने सेवा, गर्भपतन सेवा, ईसिजी सेवा समेत सञ्चालन गदै आएका छन् ।
औषधी पसलमा आएका विरामीलाई जथाभावी औषधी सेवन गर्न लगाएर सरकारी स्वास्थ्य संस्थाको औषधीले समेत काम गर्न छाडेको चिकित्सकको भनाई छ । गाउँका स्वास्थ्य संस्था भन्दा औषधी पसल सञ्चालकले कडा डोजको औषधी सेवन गर्न लगाएका कारण स्वास्थ्य प्रतिको विश्वासमा कमी ल्याउन औषधी पसल सञ्चालकहरु सफल भएका छन् ।
स्थानीय स्वास्थ्य संस्थामा औषधी नपाइने हुँदा औषधी पसलमा सबै औषधी पाइने भएका कारण चर्को मुल्य असुल्दै दैनिक ठगी गरिरहेको पाइएको छ । जिल्लाको, थलह, सुवानाउलीमा मात्रै नभई सदरमुकाम खलङ्गा, लगायतका स्थानीय बजारमा रहेका अधिकांश औषधी पसलहरुको अवस्था यस्तै रहेको छ ।
चिकित्सकको सिफारिसका आधारमा औषधी पसलवाट विरामीलाई औषधी उपलव्ध गराउनु पर्ने नियम भएपनि आफै चिकित्सक वनेर दैनिक स्थानीयको स्वास्थ्यमा खेलवाड गरेको थलह बजारका गोविन्द नेपाली बताउँछन् । थलह क्षेत्रमा चारवटा औषधी पसल रहेकोमा स्मारिका हस्पिटल प्रालिले मात्रै सरकारी मापदण्ड पुरा गरी सेवा विस्तार गरेको छ । सुर्खेती मेडिकल लगायतका थलहमा रहेका अरू मेडिकलहरूले अहिले पनि सरकारी मापदण्ड पुरा गर्न सकेको छैनन् ।
अधिकाशंले पसल नविरकणसमेत गरेका छैनन् । सिएमए मात्रै पढेका व्यक्तिको भरमा सामान्य मात्रै नभई ठूला रोगको औषधी समेत उनीहरूले महँगोमा बिक्री गरिरहेको स्थानीय बताउँछन् । औषधी व्यवस्था विभागको टोलीले अनुगमनका निहुँमा अबैद्य औषधी मेडिकल सञ्चालकसँग मिलेमतो गरी फर्किएको स्थानीयले गुनासो गरेका छन् । थलहमा रहेका सुर्खेती, डेभिट, मस्टामहंकाल लगायतका केही मेडिकलमा औषधी व्यवस्था विभागका कर्मचारीकै मिलेमतोमा निशुल्क र प्रतिबन्धित औषधी बिक्री भएको स्थानीय बताउँछन् ।
सत्यपाटी - ।