
काठमाडौं । नयाँ वर्षको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीलाई शुभकामना दिएका छन् । शुभकामना दिने क्रममा प्रधानमन्त्री ओलीले पुरानो वर्षलाई बिदाई र नयाँ वर्षको स्वागत गरिरहँदा समयलाई हेक्का राख्न सुझाए ।
‘हाम्रा सामु अनगिन्ती कामहरु छन् । मैले नेतृत्व गरेको सरकारको यसै कार्यकालमा हामीले हाम्रो मुलुकलाई ‘अतिकम विकसित मुलुक’को टिठलाग्दो हैसियतबाट उकास्नै पर्छ । जे गर्नुछ, हामीले यही एक दशकभित्र सम्पन्न गरिसक्नु पर्छुु’, उनले भने, ‘आउँदो १०र११ वर्षपछि आजको युवा जनसंख्या बुढ्यौलीतिर ढल्कनेछ र हाम्रो विकासको जनसाङ्खिक लाभ सकिनेछ । हामीसित समयको सीमा छ, गर्नुपर्ने काम भने असिमित छन् ।’
उनले समयको गति समाउन आफू पनि तीब्र गतिको दौडमा सामेल भइरहेको बताए । प्रत्येक परिश्रमी नेपालीझैं आफूलाई हरेक दिन सामान्यतः बिहान ६ बजेदेखि राति १२ बजेसम्म सक्रिय राखेको प्रधानमन्त्रीको भनाइ थियो । उनले गएको एक वर्षमा आफू ३१४ वटा औपचारिक कार्यक्रममा सहभागि भएको जानकारी दिए । सम्बोधनको लामो समय गएको एक वर्षलाई स्मरण गरेका प्रधानमन्त्री ओलीले सरकारका तर्फबाट समृद्धिको यात्रामा राम्रा कामको संकेत मिलेको बताउँदै आगामी दिनमा आधार तयार भएका विभिन्न योजनाहरुले पूर्णता पाउने ठोकुवा गरे ।
भ्रष्टाचार र बेथितिका सवालमा आफू सँधै विरुद्धमा रहिआएको बताउँदै उनले जुनसुकै मूल्य चुकाएर भएपनि भ्रष्टाचारलाई उन्मुलन गरिछाड्ने प्रतिबद्धता जनाए । ‘भ्रष्टाचारविरुद्धको लडाइँ चुनौतीपूर्ण छ । तर, जुनसुकै मूल्य चुकाएर भएपनि भ्रष्टाचारलाई उन्मुलन गरिछाड्ने अभियानमा प्रतिबद्ध छुुु,’ उनले भने, ‘यस अभियानमा सघाउने सबै पक्ष, अभियन्ता तथा जागरुक जनतालाई आभार प्रकट गर्दछु । यस अभियानलाई थप उपलब्धीमुलक बनाउन लागिपर्ने संकल्पसमेत जाहेर गर्दछु ।’ उनले गएको वर्ष चुनौतीलाई चिर्दै, आशा र उत्साहका साथ बिदा भएको औंल्याउँदै गएको वर्षले सरकारमा आत्मविश्वास थप सुदृढ बनाएको जिकिर गरे ।
साझा राष्ट्रिय आकांक्षा र सम्पन्न गर्नुपर्ने असंख्य कार्यसूचीसहित नयाँ वर्ष स्वागत गरिरहेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘प्राकृतिक नियममा चलेर आउने वसन्तका लागि हामीले एक वर्ष प्रतिक्षा गर्नुपर्छ । तर, सामाजिक विकासका नियम भने जटिल हुन्छन् । प्रकृतिमा जस्तै मानव समाजमा वसन्त आफै आउँदैन, यसलाई हासिल गर्नुपर्छ । मानव समाजमा वसन्त आगमन विभिन्न शक्ति र प्रवृत्तिद्वारा प्रभावित हुन्छ । तर, नेपाली समाजमा पनि दीगो शान्तिको, सामाजिक न्यायसहितको समृद्धिको, लोकतन्त्र सहितको विकासको र सुखसहितको खुसीको वसन्त आउने कुरामा हामी ढुक्क छौं ।’
सम्बोधनको पूर्णपाठ :
सत्यपाटी - ।