सूचनाको शक्ति - The Power Of Information

        

मुगुमा के गर्दैछिन् ‘प्रधानमन्त्रीकी छोरी’ ?

बिबिसी । गतवर्ष रारा महोत्सवका बेला वैशाख २ गते प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नीले मुगुको विकट गाउँका दुई बालिकाको अभिभावकत्व ग्रहण गरेका थिए । मुगुको सदरमुकाम गमगढीबाट एक दिनको पैदलयात्रामा पुगिने विकट गाउँका ती बालिकाहरू अहिले त्यहीँको बौद्ध माध्यमिक विद्यालयमा अध्ययनरत छन् ।

ती बालिकाको शिक्षाको लागि प्रधानमन्त्रीले दुई पटक गरेर १०–१० हजार रुपैयाँ उपलब्ध गराएको सो विद्यालयका प्रधानाध्यापक दिलेन्द्रबहादुर शाहीले बताए । ‘यो क्षेत्रमा खेतीको मौसम अनि अरू बेला पनि बालबालिका विद्यालयमा नियमित आउँदैनन् । यी बालिकाहरू विद्यालय नआउँदा हामीहरूले पनि किन नआएको भनी खोजी गर्छौँ । अहिले उनीहरू नियमित हुन थालेका छन्,’ शाहीले भने । तर अबको वर्ष ती बालिकाहरूको शिक्षाको निरन्तरताका लागि के हुने भन्ने चाहिँ स्पष्ट नभएको उनले बताएका छन् ।

‘मेरी छोरीलाई सबैले प्रधानमन्त्रीकी छोरी भन्छन् । खाना, कपडा र विद्यालयका लागि मलाई धेरै दुख थियो,’ प्रधानमन्त्रीले अभिभावकत्व लिएकी बालिकाकी आमा छिजु लामाले भनिन्, ‘त्यतिबेला उहाँले मैले यी बालिकाको अभिभावकत्व ग्रहण गर्छु र मैले गर्ने सहयोग गर्छु भन्नुभयो । तर उनीहरूका लागि कहिलेसम्म अभिभावकत्व ग्रहण गर्ने भन्ने चाहिँ प्रतिबद्धता गर्नुभएको छैन ।’

प्रधानमन्त्री ओलीले अभिभावकत्व ग्रहण गरेकी ठिन्ले साँवु लामाकी आमा छिजुले आफ्नो छोरी पढ्न पाएर निकै खुसी लागेको बताइन् । अहिले प्रधानमन्त्रीले जिम्मा लिएर सजिलो भएको छ । अब दुई कक्षामा भर्ना हुने छोरीको जिम्मा फेरि पनि प्रधानमन्त्रीले लिन्छन् लिँदैनन् उनलाई थाहा छैन । तर भन्छिन्, ‘अब जति दुख गरेर भए पनि छोरीलाई पढाउँछु ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार ०७:५२