बाँके । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता उद्घाटन र समापन हुने नेपालगन्ज रंगशालामा निर्माण भइरहेको भिआइपी प्याराफिट निर्माणको काम अन्तिम चरणमा पुगेको छ । उद्घाटन मिति नजिकिँदै गर्दा भिआइपी प्याराफिट निर्माणको काम जसरी पनि सक्नैपर्ने आयोजकलाई दवाब छ ।
बैशाख ५ गते उद्घाटन हुने प्रतियोगितामा उद्घाटनका लागि आउने अतिविशिष्ट, विशिष्ट पाहुनाका लागि भिआइपी प्याराफिटको निर्माण कार्य सक्ने गरी काम भइरहेको प्रदेश ५ खेलकुद विकास समितिका अध्यक्ष भीम वलीले जानकारी दिए ।
अध्यक्ष वलीले भने, ‘८० प्रतिशत काम सकिसकेको छ, तीन/चार दिनभित्र बाँकी काम सकिन्छ । भिआइपी प्याराफिटसँगै रंगशाला व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । उद्घाटन अघिनै रंगशालाका सबै काम पुरा हुन्छन् ।’
अध्यक्ष वलीका अनुसार बर्मुडा दुबोसहित तयार पारिएको रंगशालाको मैदानमा लगाइएको बरमुडा दुवो पनि हुर्किसकेको छ भने फुटबल खेलका लागि मैदानमा सम्याउने काम पनि सकिएको छ । रंगशालाभित्र निर्माण भइरहेका अन्य भौतिक पूर्वाधारका सबै काम पनि अन्तिम चरणमा पुगेका छन् ।
यस्तै रंगशाला हाताभित्र ठूलो आकारको पौडी पोखरी निर्माणको काम पनि तीव्ररुपमा भइरहेको छ । १६४ फिट लम्बाई, ८२ फिट चौडाई र १२ फिट गहिराई भएको पोखरीको निर्माण हुन लागेको हो । व्यावसायिकरुपमा पनि सञ्चालन गर्ने लक्ष्यका साथ निर्माण भइरहेको पौडी पोखरीमै आठौंको प्रतियोगिता सञ्चालन गर्नेगरी काम भइरहेको अध्यक्ष वलीले बताए ।
अध्यक्ष ओलीले भने, ‘रंगशालाभित्र हरियाली बनाउन विभिन्न स्थानमा रुख, विरुवा रोप्ने काम भइसकेको छ । रंगशालाभित्र र बाहिर सरसफाईको काम पनि भइरहेको छ ।’ बैशाख ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बैशाख ११ गते प्रधानमन्त्री के पी शर्मा ओलीले समापन गर्ने कार्यक्रम तय भएको छ ।
सत्यपाटी - ।