सूचनाको शक्ति - The Power Of Information

        

शहरभित्रै पैदलयात्रु असुरक्षित !

बाँके । बजारका सडकमा भीडभाड हुन्छ । सडक जति गाडीले कि त सडक व्यापारीले ओगटेका छन् । मान्छे हिँड्ने बाटो नै छैन । पैदलयात्रु हिँड्ने ठाउँसम्म नहुँदा सडकमा हिँडडुल गर्न डर लाग्ने अवस्था छ । पैदल हिँड्दा असुरक्षित महसुस हुन्छ । कुन बेला के हुने हो पत्तै छैन ।

मुख्य बजार क्षेत्रमै पैदलयात्रु हिँड्ने सडक छैन । साघुरा र अस्तव्यस्त सडकको बाँकी बचेको भागमा पार्किङ र सडक व्यापारीले ओेगेटेका छन् । नेपालगन्ज–कोहलपुर सडक चारलेनको भइसक्यो । भित्री सडक पनि फराकिला भइसके । सवारी साधनको उस्तै वृद्धि भइरहेको छ । जिल्लामा कति सवारी गुड्छन् भन्ने आँकलन गर्न मुस्किल छ ।

त्यसमा पनि जिल्लाका मुख्य बजार क्षेत्रहरुमा साना सवारीको चाप अत्यधिकरुपमा बढिरहेको छ । ट्राफिक प्रहरी कार्यालयको तथ्यांकले दिनहुँ हुने साना सवारी दुर्घटनाको संख्या धेरै भएको देखाउँछ । त्यसमा पनि दिनहु हुने दुर्घटनामा सर्वसाधारण र पैदलयात्रुको संख्या धेरै छ । जिल्लाका तीन ठूला बजार क्षेत्रमा सवारीको चाप उच्च हुँदै गएको छ ।

नेपालगन्ज, कोहलपुर र खजुरा बजार दिनहुँ व्यस्त बन्दै गएका छन् । मनपरी सडक व्यापार र अव्यस्थित पार्किङले सडकका आधा हिस्सा ओगेटेका छन् । बढ्दो सवारी साधनको चापले सडकमा यात्रा गर्न मुस्किल मात्रै बनेको छैन, जोखिमपूर्ण बन्दै गएको छ । यी सबैको मारमा सर्वसाधारण र पैदलयात्रु बढी छन् ।

पैदलयात्रु दुर्घटनाका हिसाबले उत्तिकै असुरिक्षत रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमूख प्रहरी निरीक्षक हिरेन्द्र रोकाय बताउँछन् । उनका अनुसार जिल्लामा भएका दुर्घटनालाई केलाउँदा के देखिन्छ भने सडकमा सवारी साधन गुडाउने चालक र सर्वसाधारण मात्रै हैन, पैदलयात्रु पनि उत्तिकै असुरक्षित छन् ।

‘सवारी साधनको सख्ंया बढिरहेको अवस्था छ । सडकको स्तरोन्नति नहुनु, बढ्दो बजारीकरण, सवारी साधनको चाप र अव्यस्थित बजार र पार्किङ अर्काे कारण हो,’ प्रहरी निरीक्षक रोकायले भने, ‘बजार ठूलो हुँदैछ तर सडकको अवस्था उस्तै छ । साघुरा र जीर्ण छन् । चालक र सडक प्रयोगकर्ताको लापरवाही पनि दुर्घटनाका प्रमुख कारक हुन् ।’

ट्राफिक प्रमुख प्रहरी निरीक्षक रोकाय भन्छन्, ‘चालक र पैदलयात्रु दुबै दोषी देखिन्छन् । तीब्र गतिमा गाडी गुडाउने चालक र जथाभावी सडकमा हिड्ने र बाटो काट्ने पैदलयात्रु । दुर्घटनाको जोखिमलाई ध्यानमा नराखी सवारी नियम उल्लंघन गरी सडक प्रयोग गर्ने चालक र पैदलयात्रु दुबै दोषी छन् ।’

त्यस्तै बढ्दो बजारीकरण र बढ्दो सवारी साधनको चाप अनुसार बजार व्यवस्थापन नहुनु दुर्घटनाको अर्काे कारण भएको उनी बताउँछन् । चालु आवमा बाँकेमा मात्रै ६० वटा सडक दुर्घटना भएका छन् । जसमा ३७ जनाको मृत्यु भयो भने ४२ जना गम्भीर घाइते र ५० जना सामान्य घाइते भए । यी मध्ये अधिकांश पैदलयात्रु धेरै छन् ।

प्रतिक्षालयविहीन चारलेन सडक

यात्रु चोकचोकमा उभिएर नगर बस चढ्छन् । हिँड्दा थकाई लागेमा बस्ने ठाउँ छैन । हिँड्दा हिँड्दै दुई जना साथी भेट भइहालेमा एकछिन प्रतिक्षालयमा बसेर गफ गरौं न भन्ने त झन् टाढाको कुरा भइहाल्यो । यात्रुको चाप पनि बढ्दो छ तर यात्रु प्रतिक्षालय भने छैनन् ।

नेपालगन्जको सुर्खेतरोड र सदरलाइनमा यतिबेला यात्रु प्रतिक्षालय अति आवश्यक भइसकेको छ । सुर्खेतरोडमा नगर बस कुर्नेदेखि अस्पतालको अगाडि केहीबेर सवारी साधन खोज्ने बिरामीलाई बस्न पनि प्रतिक्षालय चाहिएको छ । नेपालगन्ज उपमहानगरपालिकाले व्यवस्थित पार्किङदेखि आकाशे पुलको योजना अघि सारेको छ ।

त्योसँगै ठाउँठाउँमा यात्रु प्रतिक्षालय राख्न जरुरी छ । नगर बस जहाँ पायो त्यही रोक्ने र यात्रु चढाउने गर्छन् । त्यसले दुर्घटनाको खतरा बढाएको छ । ठाउँ–ठाउँमा यात्रु प्रतिक्षालय बनाएर त्यहि ठाउँमा बस बिसौनीको व्यवस्था गर्दा दुर्घटनाको जोखिम कम हुनसक्छ ।

कहाँकहाँ प्रतिक्षालय राख्दा उचित हुन्छ भनेर हेरिरहेको बताउँदै नेपालगन्ज उपमहानगरपालिकाका सूचना अधिकारी शरद पौडेल भन्छन्, ‘सुर्खेतरोड र सदरलाइनको ठाउँठाउँमा ट्राफिक बुथ राख्ने कार्य अन्तिम चरणमा पुगेको छ । बुथमा बत्ती जडानको काम मात्रै बाँकी छ ।’

११ वटा ट्राफिक बुथ राख्ने कार्य अन्तिम चरणमा पुगेको बताउँदै सूचना अधिकारी पौडेलले २० वटा यात्रु प्रतिक्षालय राख्ने तयारी भइरहेको बताए । राँझा चोकदेखि ट्राफिक चोक र सदरलाइनको चारबाहिनीदेखि त्रिभुवन चोकसम्म सम्भावित ठाउँ हेर्ने काम भएको भइरहेको उनको भनाइ छ । नगरपालिकाले ‘पीपीपी मोडल’मा यी कामहरु गर्दैछ ।

यो मोडेलमा जाँदा निजी क्षेत्रले समेत अपनत्व लिन सक्छन् । नेपालगन्जमा अव्यवस्थित बसोबाससँगै जनसंख्या वृद्धि उच्च भएसँगै व्यवस्थित बजारका लागि पार्किङदेखि प्रतिक्षालयको समेत आवश्यकता महशुस भएको छ । आवश्यकता अनुसार नयाँ नयाँ संरचना बनाउने काम भइरहेको सूचना अधिकारी पौडेलले बताए ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलवार १२:२४