सूचनाको शक्ति - The Power Of Information

        

त्रिभूवन चौक भत्काउँदै ऐतिहासिक संरचना तोडफोडमा सक्रिय

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलालको दादागिरी

बाँके । पटकपटक सभागृह निर्माणका निहुँमा आयोजित बृहत मेला महोत्सवबाट संकलित रकम पारदर्शीरूपमा सार्वजनिक नगर्दा विवादीत बनेका नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य नेतृत्वको टोली पुरातात्विक र एतिहासिक संरचना तोडफोडमा सक्रिय देखिएको छ ।

उक्त टोलीले विगत ४० वर्ष पुरानो त्रिभुवनको शालिक रहेको त्रिभुवन चोकस्थित संरचना भत्काएर दादागिरी मच्चाएको छ । अध्यक्ष बैश्यको उक्त अनैतिक कार्यप्रति सर्वसाधारणले विरोध जनाएका छन् । सोमबार राति उनकै नेतृत्व र मिलेमतोमा त्रिभुवन चोकको संरचना भत्काउँदै गर्दा भेला भएका सर्वसाधारणले संघका अध्यक्ष वैश्यविरुद्ध चर्को नाराबाजी गरेका थिए ।

वाणिज्य संघले त्रिभुवनको शालिक रहेको संरचना भत्काएर नयाँ स्तम्भ बनाउने र सौन्दर्यकरण गर्ने प्रस्ताव नेपालगन्ज उपमहानगरपालिका समक्ष राखे पनि उक्त प्रस्ताव उपमहानगरको बोर्डबाट पारित वा स्वीकृत हुन सकेको छैन् । उपमहानगरका मेयर डाक्टर धवलशम्सेर राणाले एक वर्षअघि नै संघलाई सौन्दर्यकरणका लागि अनुमति दिएको भन्दै अध्यक्ष बैश्यले डोजर लगाएर उक्त चौकको महिमा मेटाउने प्रयास गरेका छन् । उपमहानगरको बोर्डले भने यस विषयमा कुनै निर्णय नगरेको उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले बताउँछन् ।

उनले भने, ‘संघलाई त्रिभुवन चोकमा सौन्दर्यकरण गर्न अनुमति दिइएको बारे जानकारी छैन ।’ रिजालकाअनुसार ६÷७ महिना अघि संघले त्रिभुवन चोक सौन्दर्यकरणका लागि प्रस्ताव गरेको थियो । तर, नगर बोर्डले कुनै निर्णय गरेको थिएन ।’ त्रिभुवन चौकको संरचना भत्काउने काममा संघका अध्यक्ष वैश्यको निर्देशनमा वडा नं. ११ का अध्यक्ष उज्जवलसिंह राठौर र मेयर राणाको मिलेमतो रहेको स्थानीयले आरोप लगाएका छन् ।

सोमबार राती भएको उक्त चौक भत्काउने प्रयास स्थानीयले असफल पारेपछि वडाध्यक्ष राठौरले सर्वसाधारणलाई अस्लिल गालीसमेत गर्दै जे पनि गर्न सक्ने धम्की दिएको स्थानीय बताउँछन् । राप्रपाकै मेयर राणाले नेपालगन्जको इतिहास मेटाउन खोजेको भन्दै राप्रपाकै नेताहरू समेत आक्रोशित बनेका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलवार ११:०७