सूचनाको शक्ति - The Power Of Information

        

आत्मसमर्पण गर्दै ‘विप्लव’का कार्यकर्ताले भने, ‘अबदेखि पार्टीको गतिविधिमा लाग्दैनौं’

बाँके । सरकारले ‘विप्लव’ नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएपछि बाँकेमा हालसम्म चार जना कार्यकर्ताले आत्मसमर्पण गरेका छन् । ‘विप्लव’ नेकपामा रहेर गतिविधि गर्दै आएका उनीहरुले जिल्ला प्रशासन कार्यालयमै पुगेर आत्मसमर्पण गरेका हुन् ।

आत्मसमर्पण गर्नेहरुमा खजुरा गाउँपालिका वडा नं. ८, रनियापुरका ६६ वर्षीय चुन्ना खाँ, सल्यान घर भई नेपालगन्ज उपमहानगरपालिका–२ बस्ने डिल्लीबहादुर डिसी, कोहलपुर बस्ने रामजी कुँवर र रुकुम चौरजहारीका गगन खडकाले जिल्ला प्रशासन कार्यालय बाँकेमा आत्मसमर्पण गरेका छन् ।

स्वासप्रश्वासको दिर्घ रोगी भएकाले पार्टीको गतिविधिमा सक्रिय हुन नसक्ने कारण आफुले आत्मसमर्पण गरेको खाँले बताए । उनीहरुलाई कागज गारए छाडिए पनि उनीहरुको गतिविधिलाई निगरानीमा राखिने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । उनीहरुले अबदेखि पार्टीको कुनैपनि गतिबिधिमा नलाग्ने प्रतिबद्धतासहित आत्मसमर्पण गरेका हुन् ।

तीन वर्षदेखि नेकपा माओवादी बिप्लवमा रहेका खाँ पछिल्लो दुई वर्षदेखि जिल्ला सल्लाहकार थिए । ‘तीन छोरा र एक छोरी ठुला भइसकेका छन् र छुट्टै बस्छन्, आफु दमको बिरामी पनि भएकाले पार्टी छाडेको हुँ,’ खाँले भने । खाँ स्थानीय तहको चुनावमा समेत पक्राउ परेका थिए ।

सरकारद्धारा पार्टीमाथि लागेको प्रतिबन्धका कारण स्थानीय कार्यकर्तालाई समस्या हुँदा आत्मसमर्पण गरेको हुनसक्ने बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए । उनले भने, ‘पार्टीका कुनै पनि गतिविधिमा सक्रिय नहुने भन्दै आत्मसमर्पण गरेका नेता कार्यकर्तालाई कागज गरेर छाडिए पनि उनीहरुका बारेमा हामीले निगरानी राखिरहेका छौं ।’

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलवार ०७:३५