सूचनाको शक्ति - The Power Of Information

        

आठौं राष्ट्रिय खेलकुद : बजेट सार्वजनिक गर्न माग गर्दै प्रशासन पुगे नागरिक अगुवा

बाँके । नेपालगन्जमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी भइरहेका बेला पूर्वाधार निर्माणका लागि छट्याइएको बजेट र निर्माण कार्यको प्रगतिबारे सत्य तथ्य जानकारी दिनुपर्ने माग गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत सोमबार युवा तथा खेलकुद मन्त्रालयलाई ज्ञापनपत्र बुझाउँदै यहाँका वकिल, प्राध्यापक, पूर्वखेलाडी, अधिकारकर्मी लगायतले यस्तो माग गरेको कानून व्यवसायी बलबहादुर चन्दले बताए । आसन्न प्रतियोगिता सम्पन्न गर्नमा आफुहरुको पूर्ण प्रतिवद्धता रहेको बताउँदै बजेट तथा निर्माण कार्यको प्रगतिका बारेमा जिल्लाबासीलाई जानकारी दिने आयोजकको जिम्मेवारी हुँदा हुदै पनि अहिलेसम्म जानकारी नगराएको उनीहरुको गुनासो छ ।

उक्त ज्ञापनपत्रमा आठौं राष्ट्रिय खेलकुदको लागि निर्माणाधिन साइटमा सबै विवरणहरु खुलाई रंगिन फोटो, बजेट, काम सम्पन्न अवधिसमेत समावेश हुने सूचना बोर्ड तत्काल राख्नुपर्ने, प्रतियोगिता सम्पन्न हुनुपुर्व सम्पूर्ण भौतिक पुर्वाधारहरुको निर्माण हुनुपर्ने, प्रतियोगिताका लागि सम्पुर्ण गुणस्तरयुक्त संरचना वातावरणमैत्री, लैंगिकमैत्री, अपांगमैत्री संरचना निर्माण गर्नुपर्ने, नेपालगन्ज रंगशाला कर्वडहल परिसरमा अवस्थित हनुमानजीको मन्दिरको प्राणप्रतिष्ठा गरी पुजापाठको ब्यवस्थापन गर्नुपर्ने माग गरिएको छ ।

यस्तै प्रतियोगितामा दर्शक, खेलाडी, खेलप्रेमी लगायत अन्य अतिथी आम नागरिकहरुको ब्यवस्थापन, उचित सुरक्षा पार्किङको ब्यवस्थापन गर्नुपर्ने, नेपालगन्ज रंगशालामा दिर्घकालिन खेलकुद कार्ययोजना बनाउनुपर्ने, दर्शक अतिथि तथा खेलाडीलाई पुग्ने पर्याप्त शौचालय निर्माण हुनुपर्ने र खेलाडी तथा दर्शकको आपतकालिन सुरक्षा ब्यवस्थाको प्लानबारे जानकारी हुनुपर्ने माग उनीहरुले राखेका छन् ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार १७:२८