बाँके । पश्चिम तराईमा गर्मी सुरु भइसकेको छ । यहीबेला राष्ट्रिय खेलकुद परिषद्ले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्दैछ । प्रतियोगिता नजिकिँदै गर्दा यहाँको गर्मीले पनि आफ्नो ताप क्रमश बढाइरहेको छ ।
प्रतियोगिता सुरु हुन एकसाता बाँकी छ । गर्मी सुरु भइसके पछि प्रतियोगिता आयोजना गरिएको छ । तराईमा दिनप्रतिदिन गर्मी बढिरहेको छ । राखेपले त्यही गर्मीमा प्रतियोगिता किन आयोजना गर्दैछ भन्ने चर्चा सुरु भएको छ । विशेषगरी बाँके, बर्दिया र दाङ्गका जिल्लामा गर्मी अलि ज्यादा नै हुन्छ ।
‘गर्मीले गर्दा खेलाडीहरू प्रतियोगितामा सहभागी हुन चासो देखाउँदैनन् । गर्मीले अभ्यास गर्न कठिनाइ हुने त भइहाल्यो, त्यो भन्दा पनि खेल स्थलमा हुने अत्याधिक गर्मीको बेला राष्ट्रिय प्रतियोगिता गरिएको छ । यसले खेलाडीलाई निकै चुनौति छ,’ सातौँमा बाँकेबाट प्रतिष्पर्धा गर्दै एथलेटिक्समा स्वर्ण पदक विजेता विश्वरुपा बुढाले भनिन् ।
प्रतियोगितामा आफ्नो प्रतिभा देखाउन पाउनु नै खेलाडीका लागि ठूलो अवसर रहेकाले गर्मीसँग जुधेरै भए पनि खेलमा सफलता हाँसिल गर्नुपर्ने बुढाको भनाई छ । उनले भने, ‘गर्मी नै भए पनि आठौँमा प्रतिभा देखाउन पाइने भयो, साह्रै खुसी लागेको छ ।’ बैशाख ५ गते उद्घाटन हुने भए पनि चैत २७ गतेदेखि नै प्रतियोगिताका खेलहरु सुरु हुनेछन् ।
‘खेलाडीका लागि प्रतियोगिता हुनु ठूलो कुरा हो, घाम, पानी, चिसो जस्तोसुकै मौसममा पनि खेल्नु सक्नुपर्छ,’ एथलेटिक्सका प्रशिक्षक चन्द्रबहादुर गुरुङले भने, ‘गर्मीमा केही चुनौतिहरु आउन सक्छन्, तर गर्मीले असर नै गर्छ भन्ने होइन । आयोजकले पनि त्यसको व्यवस्थापन गरिरहेको हुन्छ ।’ प्रतियोगिताले नै खेलाडीको भविष्य निर्धारण गर्ने भएकाले मौसम अनुसार खेल प्रभावित नहुने उनले बताए ।
नेपाली खेलकुदको कुम्भ मेला मानिने राष्ट्रिय खेलकुदलाई सफल बनाउन आफूहरु केन्द्रीत रहेको खेलकुद विकास समिति प्रदेश ५ का अध्यक्ष भीम वलीले बताए । ‘सबै तयारी करिब सकिएका छन् । छुटपुट केही बाँकी होलान् । बाँकी कामहरु पनि उद्घाटनअघि सम्पन्न हुनेछन्,’ प्रदेश ५ का अध्यक्ष वलीले भने, ‘हामीले यहाँ भएको स्रोत साधनलाई अत्यधिक परिचालन गरेर आठौंलाई भव्य र सभ्य बनाउने अभियानमा छौं ।’
प्रतियोगितामा २ हजार ८२५ पुरुष र २ हजार ३८६ महिला गरी ५ हजार २११ खेलाडीबीच रोमाञ्चक प्रतिस्पर्धा हुनेछ । ६४० प्रशिक्षक र ४६१ टिम ब्यबस्थापकलाई भ्याइनभ्याई भएको छ । ९२२ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायक र ४७१ स्थानीय निर्णायक छनौट भइसकेका छन् । राष्ट्रिय खेलकुद परिषद (राखेप)का अनुसार खेलाडीले ३७२ स्वर्ण, ३७२ रजत र ५६३ काश्यका लागि प्रतिस्पर्धा गर्ने छन् ।
व्यक्तिगत विधामा स्वर्ण विजेताले १५ हजार र सामुहिकतर्फको विजेताले ७ हजार पाउने छन् भने राष्ट्रिय कीर्तिमान भङ्ग गर्नेले २५ हजार पाउने छन् । प्रतियोगितामा ७ प्रदेश, तीन विभागीय टिम त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब र एक एनआरएनए टिमका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको नेपालगन्ज रंगशालामा बैशाख ५ गते उद्घाटन र बैशाख ११ गते समापन हुनेछ ।
प्रतियोगिताअन्तरगत कुल ३५ खेलमध्ये बाँकेमा पुरुष फुटबल, बक्सिङ, भलिबल, टेबलटेनिस, उसु, जुडो, ह्याडबल, कराँते, हक्की, सुटिङ, जिम्न्याष्टिक, साइकिलिङ, आर्चरी, फेन्सिङ, पौडी, ट्रायथलन र पुरुष क्रिकेटका खेल हुनेछन् । त्यस्तै दाङमा महिला फुटबल, एथ्लेटिक्स, कराँते, ब्याटमिन्टन, बास्केटबल, आइटिएफ तेक्वान्दो र महिला क्रिकेटका खेल हुनेछन् ।
यस्तै रुपन्देहीमा शारीरिक सुगठन, सफ्ट टेनिस, लङ टेनिस, तेक्वान्दोका खेल आयोजना गरिनेछ । बर्दियामा कबड्डी, बुद्धिचाल, खोखो, सेपाकताक्रोका खेल हुनेछन् भने ललितपुरमा स्क्वास, कास्कीमा प्याराग्लाइडिङ, कपिलवस्तुमा कुस्ती र काठमाडौँमा गल्फ प्रतियोगिता गरिने राखेपले जनाएको छ । प्रदेश नं ५ मा प्रतियोगिता आयोजना हुने भए पनि प्याराग्लाइडिङ र गल्फका लागि पूर्वाधार नभएकाले कास्की र काठमाडौँमा गर्न लागिएको हो ।
खेलाडीलाई नेपालगन्जीया सेकुवाको स्वाद
नेपालगन्जको पहिचान र बिशेषता आफ्नै खालको छ । पश्चिम नेपालको सबैभन्दा ठूलो र दुई सय वर्ष पुरानो सहर हो नेपालगन्ज । सामाजिक, धार्मिक सद्भावको सह पनि हो नेपालगन्ज । नेपालगन्ज बागेश्वरी मन्दिर, नेपालकै एकमात्र जुंगे महादेवको मूर्ति, गूरुद्वारा, जामा मस्जिद, बौद्ध गुम्बा भएको सहर हो ।
नेपालगन्ज नेपालमै नहुने मौसम बोकेको सहर हो । गर्मीमा अधिक गर्मी र जाडोमा अधिक जाडोको सहरका रुपमा चिनिन्छ नेपालगन्ज । यत्तीले मात्र नेपालगन्जको पहिचान र बिशेषता पूरा हुँदैन । नेपालगन्जको अर्को बिशेषता परिकारको पनि हो । नेपालगन्जलाई स्मरणीय बनाउने यहाँ आधा दर्जन परिकार छन् ।
नेपालगन्जको रावडी, लस्सी, मुवारकको विरयानी, घरबारी टोलको समोसा, चौलिकाको हलुवा–परोठा, पान, पानी पुरी, मट्का दहिका साथै नेपालगन्जको अर्को परिचित परिका हो ‘सेकुवा’ । त्यसैले त नेपालगन्ज आउनेहरु सेकुवाको स्वाद नलिनेहरु विरलै हुन्छन् । यसले नेपालगन्जको पहिचान झल्काउँछ ।
नेपालगन्जको अतिव्यस्त धम्वोझी चोक कर्नरमा हाम्रो मःम रेष्टुरेन्ट छ । हाम्रो मःम सेकुवा घरमा २६ बर्षदेखिका कर्मचारी अझैँ सेकुवा पोल्छन् । विपी चोकको गण्डकी रेष्टुरेन्टले करिव २५ वर्षदेखि सेकुवा विक्री गर्दै आएको छ । नेपालगन्जका यी सेकुवा घरमा सर्वसाधारण मात्र नभई उच्च तहका व्यक्ति पनि पुग्ने गरेको सञ्चालक सरस्वती मल्ल बताउँछिन् ।
सरस्वती भन्छिन्, ‘देशभरका खेलाडीको जमघट हुँदैछ भनेर सेकुवाको लागि चाहिने आवश्यक सामान पहिले नै जोहो गरेका छौँ । आठौँका पाहुना हाम्रा पनि पाहुना हुन् । हामीले पनि सेकुवासँगै न्यानो स्वागत सत्कार दिने तयारीमा छौँ ।’ सेकुवा नेपालगन्जको खास विशेषता बनिसकेको छ ।
नेपालगन्जका धम्वोझी र विपी चोक सेकुवाका लागि प्रसिद्ध स्थान हुन् । यहाँ करिव दुई दर्जनको हाराहारीमा सेकुवा घर छन् । सेकुवा व्यवसायी डिलाराम पौडेल आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आउने पाहुनालाई नेपालगन्जीया सेकुवाको स्वाद चखाउन आतुर भएको बताउँछन् । नेपालगन्जमा प्रतिसिल १५० रुपैयाँमा खसिको सेकुवा पाइन्छ ।
सिंगारिँदै नेपालगन्ज
आठौँ राष्ट्रिय खेलकुदलाई लक्षित गरेर नेपालगन्ज उपमहानगरपालिकाले नेपालगन्जलाई सिंगारिँदै छ । नेपालगन्ज उपमहानगरपालिकाले आठौँ राष्ट्रिय खेलकुदलाई गौरवको महोत्सवको रुपमा लिएर शहरलाई झकिझकाउ बनाउन सुरु गरेको छ । स्रोत तथा साधन परिचालन व्यवस्थापन उपसमितिले पनि बजारलाई सिंगार्न सुरु गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवलशमशेर राणाले नेपालगन्जलाई केन्द्र बनाएर हुने आठौंमा बाहिरबाट आउने पाहुनालाई यहाँको पहिचान झल्काउने, स्वागत र सत्कार गरिने बताए । यहाँ क्रियाशिल अन्य संघ संस्थाहरुले पनि नगरका विभिन्न भागमा स्वागतद्वार राख्ने तयारी गरिरहेका छन् । विभिन्न संघ संस्थाहरुसँग पनि समन्वय भइरहेको प्रदेश खेलकुद विकास समितिका अध्यक्ष वलीले बताए ।
उनले नेपालगन्जमा २० देखि ३० वटा स्वागतद्वार राख्ने तयारी भएको जानकारी दिए । यसमा नेपालगन्ज उपमहानरपालिकाले पाँच वटा स्वागतद्वार आफै बनाउनेछ । स्थानीय तहले खजुरा र कोहलपुरमा पनि स्वागतद्वारहरु राख्ने तयारी गरिसकेका छन् । आ–आफ्ना ठाउँको पहिचान झल्काउन स्थानीय तहहरु लागेका छन् । नेपालगन्जमा खेलाडीहरुलाई हिँडडुल गर्न सहज भनेर चोकचोकमा मार्क (चिन्ह) लगाउन पनि सुरु गरिएको आयोजकले जनाएको छ ।
सत्यपाटी - ।